हुन त हालसम्म कुलुङ जातिलाई ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ (आजउराप्र) अन्तर्गत सचीकृत गरिएको छैन । किनभने, नेपालका अन्य आदिवासी जनजातिहरु जस्तै अलग्गै जाति हुने आधार भएर पनि कुलुङ जातिलाई राई जातिमै गाभिएको अवस्था छ ।

स्मरणीय छ, कुलुङ जाति जस्तै ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ (आजउराप्र) ले आदिवासी जनजाति हुनलाई तोकेको विभिन्न आधारहरु भएर पनि आदिवासी जनजाति सूचीमा सूचीकृत हुन नसकेका जातिहरु ३ दर्जनभन्दा बढी छन् । ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ (आजउराप्र) २०५८ को दफा दुई (क) मा ‘छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ,’ भनिएको छ । यसरी हेर्दा कुलुङ लगायत अन्य धेरै जातिहरु पहिले नै पनि आदिवासी जनजाति सूचीमा सूचीकृत भैसक्नुपर्ने थियो ।

कुलुङ जाति पनि आदिवासी जनजाति सूचीमा सूचीकृत हुनुपर्ने देखिन्छ । किनभने प्रष्ठिानको ऐन तोकेभन्दा बढी अर्थात् कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’ पनि छ । अरु जातिको भन्दा छुट्टै भेषभुषा छ । कुलुङहरुको वंश–पूर्खाहरु कहाँबाट आएको हो ? सो को इतिहास पनि छ । त्यस्तै आप्mनै मौलिक धर्म, संस्कार, संस्कृति र रहनसहन पनि छ अरुको भन्दा फरक छ । त्यसो त राई जात वा जाति नभएर विगतमा, खासगरी नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पगरी÷पदवी मात्रै हो । त्यसैले किरातीहरु बाहेकका जात वा जातिका मान्छेहरुले पनि राई पदवी वा भनौं पगरी पाएका थिए ।

जे होस्, यो लेखमा कुलुङ को हुन् ? कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ? उनीहरुको ऐतिहासिक थलो भूमि छ÷छैन ? कुलुङहरु अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो÷होइन ? कुलुङको जनसंख्या कति छ ? कुलुङ मातृभाषी कति छन् ? आदि–इत्यादि बारे नेपालका अन्य समुदाय, वर्ग, समूह, जात वा जातिका मान्छेहरुले पनि थाहा पाउन् भनी छोटकरीमा केही लेख्ने प्रयास गरिएको छ ।

नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्दा बाहुन नेपालको एउटा जाति मानिन्छ । अनि जसरी बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम आदि थरहरु हुन्छन् । त्यसरी नै कुलुङ भनेको पनि बाहुन भने जस्तै जात हो भने कुलुङको पनि बाहुनभित्र विभिन्न थरहरु छन्, त्यसरी नै कुलुङभित्र पनि थर÷उपथरहरु छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु लगायत २ सय ६० वटाभन्दा बढी कुलुङ जातिभित्र थर/उपथरहरु रहेको छ ।

कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थानहरु (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङहरु आफ्नो मातृभाषामा “मा कूलू” भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । कुलुङको बाक्लो बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जीलिङ, सिक्किम लगायतका ठाउँहरुमा छ भने नेपालको तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषा लगायत लगभग २३/२४ जिल्लामा रहेको छ ।

विसं २०६८ को जनगणना अनुसार कुलुङहरुको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ भने, कुलुङ मातृभाषी ३३ हजार १ सय ७० रहेको छ । विसं २०५८ को जनगणनामा भने कुलुङ जातिको जातिगत जनसंखया आएको थिएन । भाषागत तथ्यांक भने आएको थियो । कुलुङ जातिले आफ्नो मातृभाषालाई ‘कूलू रीङ’ भन्छन् ।
जहाँका कुलुङ भए पनि कूलपितृ आदिमा कुलुङ जातिका मोप÷नोक्छोले कुलु रिङमै रिदूम (अरुले मुन्धुम भन्छन्) फलाक्छन् ।

त्यस्तै २०५८÷०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायतको सक्रियतामा भाषाविद्हरु अमृत योन्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यन्जन वर्ण पहिचान गरिएको थियो । त्यस अन्सार कुलुङ भाषामा २१ वटा व्यन्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिवद्ध गरिदा दीर्घलाई ह«स्व मान्ने र दीर्घ जनाउदा विसर्ग (:) दिने वा : चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

कुलुङ जातिको अरु जातिको भन्दा भिन्न प्रकारको संस्कार–संस्कृतिहरु रहेक छ । जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पूर्खाले मूख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृत्युसंस्कार गर्दा मृतक (मृत आत्मा) को आत्मालाई महाकुलुङको पोम्लालुङ भन्ने ठाऊँमा पठाउनुपर्छ । कुलुङ समुदायमा चलेको विश्वास र मान्यता अनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाऊँ छ । यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको बुङ र छेस्खाम गासिमा पर्छ ।

यसरी मृत्युपछि आफन्तलाई पठाइने कुलुङहरुको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ हालको सोलुखुम्बु जिल्लाको गुदेल गाविसमा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्र स्थल मान्ने गर्छन् । विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रुपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरु २ पटक विवाह गर्दछन् । पहिलो विहेसम्म चेलीको मृत्यू भइहालेमा माइतीले नै काजक्रिया गर्नुपर्छ । दोश्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ ।

कुलुङ जातिको आफ्नै जातीय पहिरन, गरगहना र मौलिक बाजागाजाहरु पनि छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने, स्थान र समय अनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । र, यसरी नुहाएपछि चोखो भएको मानिन्छ । मृत्यु संस्कारमा भने अकालमा मरेकाहरुलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्यूलाई कुलुङहरु “हिल्सी” भन्छन् । स्वाभाविक रुपमा मृत्यु भएकाहरुलाई भने घु¥यान वा घर नजिकैको बारीमा गाडिन्छ ।

कुलुङ जातिको चाडपर्वहरुमध्ये चाक्चाकुर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम÷साइपोको आदि प्रमुख हुन् भने साह्रै अनिकाल प¥यो, दुःख, बिमार भयो भने मात्रै ‘देदाम’ गर्ने प्रचलन छ । तर यो साह्रै खर्चिलो हुन्छ । जोडी सुंगुर, असंख्य कुखुरा, दी र हाङ्मुवा (जाँड रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरवारले हानेर मार्नुपर्छ । तोस गर्दा ‘योंङ्कुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दी’ ले सुक्तुलू (चुल्हो) पुजिन्छ । यो पूजा ठाउँ अनुसार फापर, जौ र कोदोको जाँडले गरिन्छ ।

ninamkirat123@gmail.com

(प्रस्तुत लेख लेखकका निजी विचार हुन् । स.)