धरान : लकडाउन घोषणा संगै धेरैजसाे छापा संचार माध्यमहरु बन्द भएका छन् । विद्युतिय संचार माध्यम भने सुचारु छन् ।

यसमा पनि विद्युतिय संचार माध्यममा अनलाईन मिडियाहरु घरैमा बसेर समाचार अपलोड हुन्छन् भने रेडियो र टेलिभिजनमा भने कार्यालयमै पुगेर काम गर्नुपर्ने अवस्था छ । विषेशगरी रेडियोमा काम गर्ने पत्रकारलाई लकडाउन निकै सकस भएको छ । गएको चैत्र ११ गते देखि नेपालमा कोरोना भाईरस नफैलियोस भनेर देशैभर लकडाउन घोषणा गरिए पछि अहिले रेडियोकर्मीहरुलाई ठुलो सकस सृजना  भएको छ ।

रेडियोमा मनोरन्जन कार्यक्रम प्रायः बन्द छन् भने समाचार निरन्तर प्रशारण भईरहेका छन् । विषेशगरी रेडियोमा पनि समाचार विभागमा काम गर्ने पत्रकारहरुलाई लकडाउनको बेलामा कार्यालय पुग्न निकै समस्या हुने गरेको छ । रेडियो स्टेसन नजिकै बस्ने रेडियोकर्मीहरुलाई रेडियोमा पुग्न सहज भए पनि टाढाबाट रेडियो जानेहरुलाई निकै सकस हुने गरेको छ ।

घरबाट पहेलो ज्याकेट संगै जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिएको संचारकर्मीको पास घाटीमा भिरेर हिड्नु रेडियोकर्मीको रहर होईन बाध्यता बनेको छ । बाटोमा डिउटीमा खटिएका सुरक्षाकर्मीहरुको सोधी खोजीसंगै कतै मलाई पो महामारी रोग संक्रमण होला की ? भन्ने त्रास हुने गरेको वि एफएम विराटनगरका समाचार प्रमुख नेत्रपी अधिकारी बताउँछन् । उनी रेडियोको नजिकै बस्छन् र पनि विहान मुख्य बाटो छलेर भित्रिबाटोबाट रेडियोमा पुग्छन् । रेडियोको छतमा लगाएको लुगा खोलेर सुकाएर मात्रै कार्यकक्षमा प्रबेश गर्छन् भने घर पुग्दा पनि यसै गर्ने गरेको उनी बताउछन् । त्यो संगै बाटोमा हिड्दा कोही मानिससंग भेटे टाढैबाट बोल्ने र पहिले जस्तो बसेर गफगाफ गर्न छाडेको बताउदै उनी भन्छन् “कोही नयाँ मान्छे भेटियो भने डरै लाग्छ ।’’

यसैगरी सप्तकोशी एफएम इटहरीका समाचार प्रमुख लिलाराज भट्टराई पनि यस्तो विषम् परिस्थितिमा कार्यकक्ष पुग्न निकै सकस हुने बताउछन् । अहिले सप्तकोशी एफएममा केही समाचारका बुलेटिनहरु कटौती गरिएको छ । दिनमा एक जनाले विहान देखि बेलुका सम्मै डिउटी गर्ने र उसलाई दुई दिन विदा दिने गरीएको छ । अरु मनोरञ्जनका कार्यक्रम भने गीतै बजाएर पुर्ति गरिएको छ । उनी पनि कोरोनाको जोखिम संगै लकडाउनमा रेडियोमा समाचार भन्नुपरेको बताउछन् । तर भट्टराईलाई भने रेडियो सम्म पुग्न सहज छ । उनी हरेक दिन रेडियो पुग्ने र इटहरी उपमहानगरपालिका पुग्ने र रिपोर्टिङ गर्ने उनको लकडाउनको दैनिकी बनेको छ ।

यसैगरी यता बिजयपुर एफएम धरानका समाचार शाखाका पारस राई भने आफु सुरक्षित रहेर कार्यस्थल पुग्ने गरेको बताउछन् । त्यस्तै अर्का सांगेन राई यतिबेला विजयपुर एफएममा समाचार बुलेटिन केही घटाएर भए पनि जनतालाई सुसुचित गर्नका लागि समाचार भन्न कार्यालय पुग्ने गरेको बताउछन् । उनी भन्छन् “लकडाउन सरकारले सर्वसाधारणलाई घर बाहिर ननिस्कन भन्दै घोषणा गरेको हो । तर हामी रेडियोकर्मी घर बाहिर ननिस्किए कसले सुचना दिन्छ ? भन्दै राईले भने सुरक्षित रहेर डिउटी पुरा गर्ने हाम्रो जिम्मेवारी हो ।’’

यस्तै झापा विर्तामोडबाट संचालन भईरहेको कञ्चनजंघा एफएममा पनि केही समाचार बुलेटिनहरु लकडाउनले गर्दा कटौती गरिएको कञ्चनजंघा एफएमका समाचार प्रमुख केशब भट्टराईले बताए । कञ्चनजंघा एफएममा अहिले कोरोना विषेश कार्यक्रम संचालन भईरहेको बताउदै केही साथीहरु रेडियो सम्म आउन सकस भएको बताउँछन् । तर आफु रेडियो नजिकै बस्ने भएकोले त्यस्तो खासै महामारीको त्रास आफुमा नहुने बताए । भट्टराईले भने “बाहिर हिँड्दा सुरक्षा सावधानी अपनाउनुपर्छ ।’’

एक नम्वर प्रदेशमा सामुदायिक रेडियो ३० र कर्मसियल रेडियो ८४ वटा गरी जम्मा १ सय १४ वटा रहेका छन् । केही रेडियोहरु लकडाउन संगै बन्द भएका छन् भने अरु बाँकीले मुलुुकको विषम् परिस्थितिमा पनि सर्वसाधरण जनतालाई सुसुचित गरिरहेका छन् ।

मुलुकको विषम् परिस्थितिमा पनि रेडियो संचालन गर्न ठुलो चुनौती भएको कर्मसियल रेडियोहरुको छाता संगठन ब्रोकाष्टिङ एसोसिएसन नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेले बताए । उनका अनुसार यस्तो परिस्थितिमा पनि रेडियो संचालन गर्ने रेडियोहरुका लागि सरकारलाई विषेश प्याकेज माग गरेको पनि बताए ।

अरु संचारको तुलनामा रेडियो निकै प्रभावकारी संचारमाध्यम भएको बताउदै अध्यक्ष न्यौपानेले भने “समुदायलाई यो महामारीको जोखिमबाट सुसुचित गर्न महत्वपुर्ण भुमिका रेडियोले खेलेको छ ।’’ लकडाउनमा घरमा बस्नेहरुलाई रेडियोले सुसुचित गर्ने गरेको दावी गर्दै अध्यक्ष चन्द्र न्यौपानेले रेडियो संचालन गर्न ठुलो जनशक्ति चाहिने र धेरै खर्च लाग्ने भएकाले प्रदेश सरकारले रेडियोहरुका बारेमा केही प्याकेज घोषणा गर्ने कुरा भएको र मुख्यमन्त्री सेरधन राईले यो विषम् परिस्थितिमा रेडियोबाट सुचना प्रवाह गरेर सरकारलाई सहयोग गर्नुस भन्नुभएको न्यौपानेले बताए ।

लकडाउनका बेला जोखिम मोलेरै भए पनि रेडियोकर्र्मीहरु आ आफनो क्षेत्रमा खटेर काम गरिरहेका छन् । यसबारेमा राज्यको पनि चासो बढनुपर्ने रेडियोकर्मीहरुको भनाई छ ।