नाम्जे (धनकुटा) : आफ्नो मातृभाषा लोप हुँदै गएकोप्रति धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ नाम्जेका ६२ बर्षीय धनकुटा नाम्जेका बीर बहादुर मगरले चिन्तित छन् । आफूले बाल्यकालमा विद्यालय नगएको र अहिले आफ्ना छोरा नातिले विद्यालय गएसँगै आफ्नो मातृभाषा बिर्सिएकोमा उनी दुःखी छन् । ‘अहिलेका केटाकेटीहरु स्कूल पढ्छन्, हामीले पढ्न जानेनौ,’उनले भने, ‘पुख्यौलीदेखि नै बोल्दै आएको मगर भाषा छोरा नातिले बिर्सिए, दुःख लाग्छ ।’
उनले आफुहरु पहिलेदखि नै कृषि पेशामा आत्मनिर्भर बनेको र पुख्यौली भाषाको जर्गेना गर्दै आएको बताए । उनले यहाँका मगर जातीहरुले आफ्नो पुख्यौली भाषा छोरानातिलाई हस्तान्तरण गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरे । ‘यो ठाउँमा कृषि क्षेत्रमा भने कहिलेकाही मूल्य हेरफेर हुँदा समस्या हुन्छ, नभए खासै समस्या हुने थिएन,’ उनले भने, ‘तर, पछिल्लो समय हाम्रो पालादेखि हाम्रो मगर भाषा लोप भएकोमा हामी दुःखी छौ ।’
साँगुरीगढी ६ कै कमल प्रसाद मगर पनि आफ्नो मातृभाषा लोप हुँदै गएको सुनाउँछन् । उनले भने,‘हाम्रो भाषा लोप हुँदै गएको छ, हामीले आफ्नो बाजे वराजुले बोल्दै आएको भाषा छोरा नातिमा हस्तान्तरण गर्न सकेनौ ।’ आफ्नो मातृभाषा लोप हुँदै गएकोप्रति उनी आफू मात्रै नभएर सबै गम्भीर हुनुपर्ने भएको बताए । गाउँ सहरी क्षेत्रजस्तै विकसित हुँदै गएको तथा आफ्नो ठाउँमा परिवर्तन भएसँगै मातृभाषा पनि लोप हुँदै गएको सुनाए । आफूले मात्रै नभएर आफ्ना छोरा नातिले पनि मातृभाषाको जर्गेना गर्नुपर्ने उनी बताउँछन् । गाउँबासीहरु भेला भएर नवपुस्तालाई मातृभाषाको बारेका ज्ञान सिकाउन आवश्यक रहेको उनको भनाई छ ।
मगर जातिको बाहुल्यता रहेको यो ठाउँका मानिसहरु क्रमशः विदेश पलायन हुने तथा सहरी क्षेत्रमा बसोबास गर्ने क्रम बढेपछि मगर भाषा पनि लोप हुने चिन्ता बढेको हो । नाम्जेकै तिलक मगरले पनि आफ्नो मातृभाषा लोप हुँदै गएकोमा दुःखी छन् । गाउँ पनि सहरीकरण हुँदै गएकाले मातृभाषा लोप हुँदै गएको उनले सुनाए । पर्यटकीय क्षेत्रका रुपमा विकसित बन्दै गएको यो नाम्जेमा मगर जातिको मौलिक नाच हुर्रा प्रचलित छ । तर, आफ्नो मातृ भाषा विर्सदै गएको उनी सुनाउछन् । ‘यो ठाउँ पर्यटकीय क्षेत्रको रुपमा परिचित बन्यो, तर भाषा भने लोप हुँदै गएको छ,’उनी भन्छन् । पर्यटकहरुले विशेष गरेर नाच मनपराउने र भाषा नबुझ्ने भएकाले पनि आफ्नो मातृभाषा लोप हुने उनी बताउँछन् ।
मगर जातिको बाहुल्यता रहेको यो ठाउँमा अमेरिकी समाचार संस्था सिएनएनले २०६८ सालमा विश्वका पुग्नै पर्ने ग्रामिण गन्तव्यहरुको सुचिमा सुचीकृत गरेपछि विश्वको ध्यान खिच्न सफल भयो । त्यसपछि, नाम्जेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन बढेको छ भने यहाँ होम स्टे पनि सञ्चालनमा रहेको छ ।