१०९ औ अन्तर्राष्टिय श्रमिक महिला दिवस विश्व भरि विभिन्न कार्यक्रको आयोजना गरि मनाई रहेको छ । संयुक्त राज्य अमेरिकाका सोसलिष्ट पार्टीका नेतृ क्लारा जेटकिनले महिलाहरुको न्युर्योकमा भएको कपडा उद्योगमा भएको महिला आन्दोलनलाई स्मरण गर्दै १९०९मा महिला दिवस मनाएका थिए । १९१० मा कोपनहेगनमा पहिलो पटक विश्व महिला सम्मेलनमा वर्षमा एक पटक महिला दिवस मनाउने प्रस्ताव क्लारा जेटकिनले लगे र सम्मेलनले प्रस्ताव पास गरि ८ मार्चका दिनलाई अन्र्तराष्ट्यि श्रमिक महिला दिवसको रुपमा स्थापित भयो । महिलाहरुलाई समान कामको समान ज्याला, महिलाहरुलाई मताअधिकार स्थापित गर्न र महिलाहरुको समान अधिकार दिनु यसको मुलभुत उद्देश्यहरु थिए । त्यसैले ८ मार्चलाई विश्वभर नै महिलाहरुले भव्यरुपमा मनाउने गर्छन् ।

महिला सञ्जाल धरानको गठन

धरानमा पनि विभिन्न संघसंस्थाहरुले महिलाका मुद्दा, महिला सशक्तिकण र सवालगत अभियानहरु चलाइरहेका थियौ । तर, ती अभियानहरु संस्थागत हुन सकिरहेको थिएन । समाजिक संस्थाहरुले आ–आफ्नै तवरबाट अभियान, कार्यक्रमहरु गरिरेको थियो । ८ मार्चलाई पनि हामी छिन्नभिन्न भई मनाउदै आएका थियौ । जसकारण महिलाको सवाल, मुद्दा र सशक्तिकणको पाटो जसरी सशक्त हुनुपर्ने हो, हुन सकिरहेको थिएन । हामी आफैलाई पनि कमजोर भएको महसुस हुन्थ्यो ।

यसैकुरालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाका तत्कालीन समाजिक विकास अधिकृत सुनिल नेपाल र धरानका समाजिक अभियन्ताहरुगंगा बराल, शुभद्रा प्याकुरेल, सबिता राईको सल्लाह भयो । ८ मार्चलाई भव्यताका साथ मनाउने र संयुक्त आवाज बनाउने उद्देश्यले २०६६ सालमा महिला सञ्जाल गठन भयो । धरानमा रहेका विभिन्न महिला नेतृत्व भएका संघसंसस्थाहरु एकै छातामा आवद्ध भयौ, र पहिलो कार्यक्रम ८ मार्च त्यसबर्ष गर्यौ । जुन विगतको भन्दा भव्य भयो, प्रभावकारी भयो ।

पहिलो बर्ष विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फेलाई बोलायौ । त्यसपछि, क्रमशः सपना मल्ल, पुष्प भुषाल, रामकुमारी झाक्री, धर्मशिला चापागाई जस्ता नेतृ, कानुनका विज्ञहरुलाई निम्त्याएर कार्यक्रम गर्यो भने गत बर्ष निर्वाचन पछि संघीय संरचना अनुसार बनेको प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा ८ मार्च कार्यक्रम भव्यरुपमा गरेका थियौ । सञ्जालको संस्थापक अध्यक्ष गंगा वराल दिदी हुनुहुन्छ । त्यसपछि, मिना पुलामी, शिला बज्रचार्य र अहिले सविता राईको नेतृत्व छ । यसरी ८ मार्चले धरानका महिला सामाजिक अभियन्ताहरुलाई, महिला हकअधिकारमा निरन्तर आवाज उठाइरहेका अधिकारकर्मीहरुलाई एकतावद्ध गर्न अहम भुमिका खेलेको छ ।

महिला सजालमा हाल ३७ वटा सामाजिक संघसंस्थाहरु आवद्ध रहेका छन । सञ्जालमा राजनीतिक आग्रह, पुर्वाग्रह छैन । यहाँ सबै राजनीतिक आस्था, विचार बोकका महिलाहरु छन् । तर, सञ्जालभित्र राजनीति कसैबाट पनि हुदैन, गर्न दिनु पनि हुन्न । सञ्जाल महिलाको मुद्दाहरुमा मात्र केन्द्रीत छ । महिलाको अधिकार, सशक्तिकरणको साथै लंगिक हिंसाविरुद्ध क्रियासिल भएर आवाज उठाउदै आएको छ । महिला संजालले संस्थागत क्षमता विकास र व्यक्तित्व विकासमा पनि ध्यान दिइरहेको छ । सञ्जाल गठन पछि नै महिलाको मुद्दालाई हामीले सशक्तरुपा उठाउन सकेका छौ । अन्यायमा परेका, पीडित महिलाहरुलाई न्याय दिलाउन सदैव आवाज उठाइरहेका छौ । संस्थाहरुको क्षमता विकास भएको छ । महिला सञ्जालको छुट्टै पहिचान बनेको छ, र समुदायस्तरमा महिलाहरुको सशक्तिकरण, जागरण पनि भइरहेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान हामीले समुदायस्तरमा पुर्याएका थियौ ।

अझै समान कामको समान ज्याला मुद्दा

समान कामको समान ज्यालाको मुद्दा लिएर शुरु भएको अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस १०९ औं वर्षमा पुगेको छ, तर अझै पनि हामीले समान कामको समान ज्याला चाहियो भन्दै नारा लगाइरहनुपरेको छ । महिलाका मुद्दालाई सामाजिक कुरा भनेर पन्छाउने गरिन्छ । नेपालमा नयाँ संघीय राज्य संरचनाअनुसार ७५३ स्थानीय तहमा सरकार बनेको छ । तहहरुले धमाधम पूर्वधार विकासलाई प्राथमिकता दिएको छ । तर मानविय विकासलाई ओझेल पारिएको हो कि भन्ने हामी समाजिक अभियन्ताको चिन्ताको विषय भएको छ । मानवीय विकासको अवधारणा पनि पुर्वाधार विकाससँगै लान नसके दीगो विकास सम्भव छैन । समाजमा लैगिक हिंसा, समाजिक कलह, लैगिक असमानताले विकासमा झन् ठुलो खाल्डो बनाउनसक्छ ।

धरान उपमहानगरपालिकासहित सबै नगर, गाउँपालिकालाई महिला मैत्री बनाउन आवश्यक छ । ८ मार्चको सन्दर्भमा मात्र होइन, समान कामको समान ज्याला लागु गर्ने ठोस नीति, योजना बनाएर कार्यान्वयन गरिनुपर्छ । हुन त धरान उपमहानगरले कार्यविधि बनाउने तयारी गर्दैछ, यो स्वागतयोग्य कुरा हो । यसमा महिला सञ्जाल सहकार्य गर्ने छ । लैगिक हिंसा कम गर्न सरोकारवाला निकायहरुसँग हातेमालो गर्नेनै छ । आफुमा आवद्ध संघसंस्थाहरुको संस्थागत क्षमता विकास गर्न, समुदायस्तरमा ती संस्थाहरुलाई समाजिक चेतना, जागरण फैलाउन र महिलाहरुलाई सशक्तिकरण गराउन महिला सञ्जाल सदैव समन्वय र सहकार्य गर्दै अगाडि बढिरहनेछ ।

(लेखिका महिला सञ्जाल धरान उपमहानगरपालिकाकी अध्यक्ष हुनुहुन्छ)