धरान: कुनै समय धरान–१३ को फुस्रे पुर्वको व्यापारीक केन्द्र थियो । फुस्रेमा पहाडी क्षेत्रबाट मानिसहरुले कृषिजन्य बस्तुहरु विक्रीका लागि ल्याउने र दैनिक उपभोग्य बस्तुहरु लिएर जाने थलोको रुपमा थियो । तर, पहाडी क्षेत्रमा सडक पूर्वाधारको विकास भएपछि व्यापारीक केन्द्र रहेको फुस्रे इतिहासमा सिमित बन्न पुग्यो ।

करिब २०३४ सालमा धरान–धनकुटे सडक सञ्चालनमा आएपछि फुस्रेमा चहलपहल घट्यो । फुस्रे ओझेलमा पर्यो । बुढापाकाहरु अहिले पनि फुस्रेबाट किनमेल गरेर पहाड उक्लिएको कहानी सुनाउछन् । फुस्रेको त्यही विरासत फर्काउन अहिले यस क्षेत्र(फुस्रे)लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना वडा कार्यालयले अघि सारेको छ । फुस्रेसँगै समग्र वडाको विकासको लागि आन्तिरिक पर्यटक भित्राउन वडा कार्यालय जुर्मुराएको छ । वडाले धरान–२० र १३ नम्बर वडाको संगम स्थल फुस्रेलाई ‘जैविक विविधता पार्क’ बनाउने शुरु भएको छ । सर्दुजलाधार क्षेत्र भित्र पर्ने यो ठाउँलाई प्राकृतिक रुपमा नै पार्कको रुपमा विकास गर्ने वडाको योजना छ ।

छेवैमा ओसो ध्यान केन्द्र छ । यस्तै, सप्तकोसीको भिमनगर पुल बनाउनको लागि प्रयोग गरिएको ऐतिहासिक धिर्नी (फलामको लठ्ठाबाट तार्ने गर्ने)को भग्नावशेष समेत रहेको छ । धरानको मुख्य पानीको स्रोत भएकोले सर्दुजलाधार क्षेत्रको संरक्षण गदै पुल आसपासको क्षेत्रलाई पार्कको रुपमा विकास गरेर वडाको आर्थिक स्रोत बढाउने योजना रहेको १३ नम्बर वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले बताए । ‘कुनै समय फुस्रे पूर्वाञ्चलको व्यापारीक केन्द्र थियो, तर अहिले शुन्य अवस्थामा छ’ वडाध्यक्ष काफ्लेले भने,‘अब फेरी फुस्रे पुरानो इतिहास ब्यूताउनको लागि जैविक विविधता पार्कको अवधारणा अघि सारेको छौं ।’

sardu-bridgee

आन्तरिक पर्यटकको मुख्य गन्तव्य बनाउन वडाले २ लाख रुपैयाँको लागतमा खोलामा भएका ढुङगालाई विभिन्न जनावरको आकृति दिने कार्यको शुरुवात गरेको छ । ‘सर्दुखोलाको ढुङगामा अहिले शुरुवाती चरणमा जोडी (जोडी गुजुल्टीएको)अजिंगर, हास र भ्यागुताको आकृति बनाउने काम हुदैछ,’काफ्लेले भने,‘अब चरा चुरुङगी, किरा फटेङग्रा सबै निर्माण गछौ ।’यसैगरी, आगामी बजेटमा भगवानको मुर्ति, देशका नेताको सालिक बनाउने उनले बताए । प्राकृतिक रुपमा नै चराचुरुङगी, जनावर, किराफटेङग्रा, बनस्पती, रुख विरुवा भएकाले विद्यार्थीहरुको लागि जिव तथा बनस्पती विज्ञानका विषयमा अध्ययन गर्ने विद्यार्थीको लागि अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । सर्दुजलाधार क्षेत्रमा पर्ने पक्कि पुल, ओशो आश्रम, घिर्लिङको भग्नावशेषलगायतका क्षेत्र आसपासलाई ‘जैविक विविधता पार्क’को रुपमा विकास गर्ने परिकल्पना गरिएको हो ।

धरान–४, १३ र २० नम्बर वडामा पर्ने सर्दुजलाधर क्षेत्रको सिमाङकन गरेर संरक्षण गदै आरक्षणको रुपमा विकास गर्ने उनको कथन थियो । धरानको मुख्य चोक भानुचोकबाट करिब डेढ किलोमिटरमा फुस्रे पुग्न सकिन्छ भने फुस्रे चोकबाट करिब ३ सय मिटरमा पार्क पुग्न सकिन्छ । मानिसहरुको लागि बनभोज खाने शनिबारको विदा मनाउने थलोको रुपमा परिचित छ । बर्खाको समयमा पौडी खेल्नेको भिड लाग्ने गरेको स्थानीय बताउछन् ।

ढुंगामा आकृति कोर्दै कलाकार

sardu-ma-kalakar

सर्दुखोलाको पक्की पुल मुनी रहेको ढुङगामा विभिन्न जनावरको आकृति कोर्ने कार्य भइरहेको छ । धरानका आर्ट अफ भिलेजका मुर्तिकार तथा चित्रकारद्वाय जिवन पौडेल र धिरज राईले ढुङगामा अजिंगरको आकृति उतारिरहेका छन् ।

वडाको प्रारम्भिक चरणको योजना अनुसार ३ वटा जनावरको आकृति दिने काम भएको मुर्तिकार जिवन पौडेलले बताए । ‘जैविक संरक्षण क्षेत्रमा हामीले अहिले जोडि अंजिगर बनाउने काम हुदैछ’उनले भने,‘यसपछि हास र भ्यागुता बनाउछौं’ । यस क्षेत्रलाई वडाले जैविक विविधता पार्कको रुपमा विकास गर्ने लक्ष्य राखेकोले यहाँ भएको ढुङगालाई विभन्न जनावरको आकृति निकाल्दा जिवन्त रहने उनले बताए । ढुङगा हजारौ वर्षको आयु हुने हुँदा यसको कला कृति जिवन्त हुने कलाकार पौडेलले बताए । ढुङगामा कलात्मक विभिन्न जनावर बनाउदा मानिसहरुले हेरेर भएपनि धेरै कुरा बुझ्ने र पर्यटकहरुको लागि रोचक लाग्ने बताए । ‘मानिसहरुले चित्रमा हेरेको हुन्छ, त्यसले केही कुरा बुझ्छ प्रत्यक्ष मुर्ति हेर्दा धेरै कुरा बुझ्ने हुन्छ,’उनले भने,‘मानिसलाई मुर्ति हेरपछि अहो कसरी बनायो होला भन्ने लाग्छ धेरै रोचक हुन्छ ।’

sardu

अरु मुर्तिकला भन्दा ढुङगा फरक विद्या भएकोले यसमा काम गर्न चुनौती रहेको कलाकारहरु बताउँछन् । करिब डेढ महिनामा काम सम्पन्न गर्ने लक्ष्य कलाकारहरुको छ । ढुङगा अलिक फरक विद्या भएकोले यसमा धेरै जोखिम पनि हुन्छ । धेरै कटिङ गर्नुपर्ने हुन्छ । छिनो, ग्रिन्डिङ गर्नुपर्ने हुदा यो चुनौतीपुर्ण काम हो । खोलामा रहेको ढुङगालाई विभिन्न आकृति बनाएर यस ठाउँको सौन्दर्य थप्नुका साथै आन्तरिक पर्यटक समेत हेर्न आउने गरेको स्थानीय दिलिप चाम्लिङले बताए । ‘खोलाको ढुङगाको न्वारन गर्ने काम हुदैछ, यसले यस ठाउँको सुनदरता थपिदै छ,’उनले भने,‘यसले आन्तरिक पर्यटक भित्राउन ठुलो सहयोग पुग्ने छ’ । उनले राई समुदायको अस्तित्व ‘चिण्डो) को प्रतिमा बनाउनको लागि वडाअध्यक्ष काफ्लेसँग अनुरोध गरेका थिए । ‘विष्णुपादुका र फुस्रेमा राई समुदायको लागि चिण्डो पनि बनाइदिनु होला,’उनले भने ।