हरितालिका तीज:
तीज पर्वमा विवाहित महिलाहरु पतिको दिर्घ जीवन, पति-पत्नी बीचको सुमधुर सम्बन्ध होस् भन्ने कामना गर्दछन् भने अविवाहित महिलाहरु पनि असल पति पाउने कामना गदै महादेवको पूजा आरधाना गर्दछन् । यसपर्वमा पतिको मात्र होईन, छोराछोरी, आमा बुवा र सम्पूर्ण परिवार अनि मानव जगतकैे शुद्धि र शान्तीको कामना गर्ने गरेको बताउँछन्,अग्रज महिला दिदी बहिनीहरु ।
पौराणिक कथालाई आधार मान्दा पार्वतीले आफुले महादेव पति पाउन घर समेत त्याग गरेर निराहार व्रत बसेपछि सफल भएकी थिईन । आजभोली तीज पर्वलाई महिला अधिकारकर्मीहरुले महिला स्वतन्त्रता, मूक्ति र अधिकारको दृष्टीकोणले लिने गरेका छन् । यही आधुनिक र पौराणिकताको आधारमा तीज पर्व मनाउने गरिन्छ । यो पर्व सबै परिधि र सीमा भन्दा माथि उठेर सम्पूर्ण दिदीबहिनीहरु सँगसँगै मनाउने क्रम बढ्दो छ । कसैले यो हाम्रो संस्कृति होइ भन्दैछन् भने कतिले राम्रोलाई हाम्रो मान्नु पर्छ भन्दै मनाउदैछन् । यस पर्वमा सहिष्णुता र सद्भावको राम्रो उदाहरण प्रस्तुत गरेको देखिन्छ दिदीबहिनीहरुले । त्यस्तै हिन्दु महिलाहरुको महान चाड तीज सम्पूर्ण नेपालीहरुले सद्भाव छदै सामूहिक रुपमा मनाउदै आएका छन् ।
बर्षभरि चुलाचौका घर व्यवहारमा कुजिएर बसेका महिलाहरु यस पर्वमा सम्पूर्ण व्यस्तताहरु त्यागेर स्वतन्त्र र उन्मूक्त भएर नाच गान अनि रमाईलो गर्दछन । यस पर्वमा महिलाले आफ्नो पति र परिवारप्रतिको सर्मपणभाव प्रष्ट पारेको छ । यस किसिमको त्याग र वलिदानको वदलामा महिलाले पनि श्रीमान् र परिवारबाट पनि माया स्नेह र सम्मान् पाउछन् ।
कुनै समय हिन्दु महिलाहरूद्वारा मनाइने तीज अन्य धर्म र जातजातिहरुले मनाउने पर्व थियो । आजभोली महिला अधिकार र स्वतन्त्रताको खोजी गरिने पर्वको रुपमा सवैले मनाउन थालेका छन् । विभिन्न संघ संस्था र समूह अनि राजनितिक दलका भातृ संघ संगठनहरुले पनि तिज उत्सव भव्यताको साथ मनाउने गरेका छन् । टोल टोलमा पनि दिदीवहिनीहरुको सक्रियतामा चोक चोकमा पाल टागेर सामूहिक रुपमा तिज उत्सवको आयोजना गरिन्छ । कतिपयलाई वास्तविक तीज पर्वको संस्कार र संस्कृतिको बारेमा थाहा नै हुदैन । कतिले तिजलाई एउटा साँस्कृतिक पर्वको रुपमा लिन्छन् भने कतिले यसमा देखा परेका विकृतिको आलोचना गरिहेका छन् ।
तीजको साँस्कृतिक पक्ष
तीज पर्व भाद्र शुक्ल द्वीतिया देखि ऋषी पञ्चमी सम्म ४ दिनसम्म मनाईने यस पर्वलाई हरितालिका तीज पनि भनिन्छ । हिन्दु धर्मग्रन्ध अनुसार पार्वतीको कन्यादान विष्णुसँग हुने भन्ने कुरा पार्वतीलाई मन नपरेपछि भगवान शिव पति पाउँ भनि कठोर तपस्या गरिन् । तर एक वर्षसम्म पनि आफुले गरेको तपस्याको फल नपाउँदा उनले पानीसम्म पनि नपिई निराहार व्रत वसिन्, तब शिवजी प्रकट भई चिताएको कुुरा पुगोस भनि आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह भयो । त्यो दिन भाद्र शुक्ल तृतियाको दिन थियो । त्यसदिन देखि नै तीज मनाउने प्रचलन सुरु भयो । भगवान महादेवको पूजा आरधाना गर्ने, वर्त लिने, निरआहर वस्ने, पतिको दिर्घायू र सुस्वास्थ्यको कामना गर्ने, चेलि र माईतिको मिलन हुने, मिठो खाने राम्रो लाउने, नाचगान रमाईलो गर्ने आदि तिज पर्वको साँस्कृतिक पक्ष हो ।
तीजको सामाजिक पक्ष
माईती घर छोडेर पराई घरमा भोग्नु परेको दुःख, पिडा, वेदना र मनको वह माईतिमा आफ्ना बुवा आमा, दाजुभाई दिदीवहिनीहरुलाई विभिन्न गीतको भाकामा पोख्ने गर्दछन् यो तिज पर्वमा । यसरी वर्ष भरी आफुले भोग्नुपरेको समस्यालाई भुलेर दिदीबहिनीहरु एकै ठाँउमा भेला भई रमाईलो गर्ने गर्दछन् । यस तीज पर्वमा माईतिले चेलीहरुलाई घरमा बोलाएर सम्मानका साथ खुवाउने र उपहार दिने गर्दछन् । जस्ले चेली माईतीको सम्बन्धलाई पनि सुमधुर बनाउन ठूलो सहयोग पु¥याउदछ । यस पर्वमा माइती टाढा हुने र धेरै दिन देखि भेटघाट नहुनेहरुले पनि भेट्ने अवशर पाउछन् ।
दर खाने र वर्त वस्ने पर्व तीज
यस पर्वलाई दर खाने दिनको रुपमा पनि लिने गरिन्छ । दर खाने भन्नाले दह्रो गरेर खाने अथवा टन्न पेटभरि खाने भन्ने बुझिन्छ । दरमा विभिन्न परिकारहरु मिठाई, खिर, ढक्कन, पुरी, सेलरोटी, फलफुल जस्ता मिठो मिठो परिकारहरु पर्दछन् । पहिलो दिन टन्न दर खाने नाच्ने गाउने, रमाईलो गर्ने गर्दछन् । दोस्रो दिन व्रत बस्ने दिन हो । केही महिलाहरु पानी सम्मपनि नखाई व्रत वस्दछन् भने केही दिदी वहिनीहरु फलफुलसम्म खाने गर्दछन् । त्यसदिन रातो सारी, हरियो चुरा, छड्के तिलहरी, गहरगहना र मेकअपले सजिसजाउ, झकिझकाउ भएर शिव मन्दिरमा गई पुजा आराधना गर्ने, नाच्ने गाउने अनि रात्रीमा एक सय आठ दिप प्रज्वलन गर्ने गर्दछन् । तेस्रो दिन गणेश चतुर्थी पर्दछ । विहान सवेरै उठेर नुहाई धुवाई सुद्ध भएर गणेश, शिव पार्वतीको पुजा गरिन्छ । पुजापछि मात्र व्रतालुहरुले ठोस आहार सेवन गर्दछन् । चौथो दिनलाई ऋषि पञ्चमी भनिन्छ, यसदिन सप्तऋषीहरु सहित ऋषिपत्नी अरुन्धतीको पुजा गरिन्छ ।
तीजमा देखा परेका विकृतिहरु:
तीज पर्व आजभोली केही भड्किलो, खर्चिलो र उत्ताउलो बन्दै गएको पो होकी ? धरैको प्रतिकृया आईरहेको छ । उत्ताउलो फेशन, महंगो लुँगा अनि आधुनिक गहना प्रर्दशन गर्ने काममा प्रतिस्पर्धा प्रतियोगिता नै हुने गरेको छ । तिजमा गाइने मौलिक लोक भाकाको ठाँउमा पश्चिमी शैलि र ढर्राका नाच गानमा बढी रमाउने गरेको छ । चेलीको दुःख पिडाको गीत को ठाँउमा विदेशी र उत्ताउलो गीतहरुले ठाँउ लिन थालेको छ । तीजको वर्त चाही नवस्ने तर दरको नाममा मासु अनि रक्सी सहितको पार्टी भोजको आयोजना गर्ने गरेको पनि पाईन्छ । तर पतिको दिर्घायूको निम्ती पानी सम्म नखाई वर्त वस्नु चाही स्वास्थ्यको दृष्टीकोणले राम्रो नहुने बताउछन् चिकित्सकहरु ।
केहीले त नाफा समेत कमाउने उद्देश्य समेत राखेर रु ५०० देखि २००० सम्म दर्ता शुल्क वा टिकट विक्री गरेर कार्यक्रमको आयोजना गरिरहेका छन् । अनुहार देखाउन प्रतिव्यक्ति पैसा उठाएर म्यूजिक भिडियो बनाउने र टिभि च्यानलहरुमा कार्यक्रम प्रसारण गर्ने कामले पनि व्यापकता पाएको छ । तिज आउनु महिना दिन देखि नै तिज उत्सव मनाउने कार्यले हुनेखाने र मध्यम परिवारको महिलाहरु पनि ठूलो समस्यामा परेको देखिन्छ । साथीभाईको कुरा मान्नै पर्ने, आफ्नो ईज्जत पनि राख्नै पर्ने, समाजमा सकेको देखाउनै पर्ने, त्यसमा पनि एक दिन होईन, दुई दिन होईन, कति दिन भ्याउने । गरिव निमूखा महिलालाई त्यति छुन सकेको छैन । त्यही टाँठा बाँठा हुनेखानेले मात्र मनाउने पर्व पो हुने हो की तिज पर्व जस्तो बनेको देखिन्छ ।
कला र सम्यताको पर्व हो तीज पर्व :
तीजमा गाउने विभिन्न रमाईलो लोक भाकाका गीतहरु जान्ने नजान्ने सवैले प्रस्तुत गर्ने गर्दछन् । यसले एकातिर नेपाली कला र संस्कृतिलाई बढवा दिएको छ भने अर्को तिर दिदीबहिनीहरुमा लुकेर रहेको मैलिक कला र प्रतिभालाई पनि उजागर गर्न सहयोग पु¥याएको देखिन्छ । तीजको मौलिक सांस्कृतिकलाई पनि समेट्दै समय सामक्ष यसमा भएका राम्रो पक्षलाई अंगाल्दै खराव पक्षलाई सुधार गर्दै जानु बुद्धिमानी हुन्छ । यस पर्वलाई महिलाहरुले स्वतन्त्रता र एकताको पर्वमा विकास गर्न सके महिला अधिरकार र विकासको ठूलो योगदान पुग्न सक्छ ।
(लेखक, कौशिकी क्याम्पस धरानका प्राचार्य तथा समाजशास्त्र र शिक्षाशास्त्रका अध्यापक हुनुहुन्छ ।)