धरान: लिम्बु जातिको चाड चासोक तङनामको अवसरमा चार दिने साँस्कृतिक पर्यटन उत्सव २०७६ आजदेखि धरानमा शुरु हुदैछ ।

किरात याक्थुङ चुम्लुङकोे आयोजनामा धरान १५ स्थित चुम्लुङ हिममा बुधबारदेखि शुरु हुने उत्सव शनिबार सम्पन्न हुनेछ । उत्सवको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक संस्थाले जानकारी दिएको छ । आज बुधबार दिउँसो ३ बजे तङसिङ अनुष्ठान गरेर उत्सवको शुरुवात हुने चुम्लुङका जिल्ला अध्यक्ष तथा चासोक तङनाम मुल समारोह समितिका संयोजक मोहन हुक्पा चोङवाङले जानकारी दिए । उनका अनुसार बिहिबार बिहान ७ बजे परम्परागत चासोक पुजा हुनेछ भने ८ बजे बालबालिकाहरुलाई टिका लगाउने कार्यक्रम पनि हुनेछ । लिम्बु समुदायले केही बर्ष यता मौलिक चाड चासोक तङनामलाई दशैंको विकल्पकोरुपमा टिका लगाउने गरेर मनाउदै आएका छन् ।

यस्तै, बिहिबार नै विजयपुर दरबार क्षेत्रमा सरसफाइ तथा पुजा कार्यक्रम हुनेछ भने तीनकुनेस्थित सिरिजंगाको ३१५ औं जन्मजयन्ती तथा सालिकमा माल्र्यापण कार्यक्रम पनि हुनेछ । दिउँसो चुम्लुङ हिममा हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लोलगायत मौलिक गीतहरु प्रस्तुती हुने अध्यक्ष चोङवाङले बताए । तेस्रो दिन शुक्रबार लिम्बुजन्य थरगत, थुमगत संस्थाहरुको साँस्कृतिक यालाङ, केलाङ(च्याब्रुङ) प्रर्दशनी हुनेछ भने शनिबार राई, याक्खा, सुनुवार, तामाङ, मगर, नेवार, शेर्पा, भुजेल, उराउ, माझीलगायत विभिन्न आदिबासीहरुको साँस्कृतिक प्रर्दशनी पनि हुनेछ । उत्सव अवधिभर हरेक साँझ मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम तथा गीत, संगीतको प्रस्तुती पनि हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

chasok1

लिम्बु समुदायले अनिकालबाट बचाई अन्न,फलफुल राम्रो उब्जाउ दिएको खुशीयालीमा उत्पादनको पहिलो अंश तागेरा निङवाभुमाङलाई चढाउने गर्छन् । त्यसपछि मात्र आफु, परिवार, नातागोता र जीवजन्तुलाई खान दिने चलन छ । यसैलाई नै चासोक तङनाम भनिन्छ । यसलाई उधौली पर्व(न्वागी ) पनि भनिन्छ । लिम्बु सँस्कृति तथा मुन्धुमका जानकार डा.कमल तिगेलाका अनुसार पछिल्लो समय ७ किरातजन्य संघसंस्था तथा जातिहरुले विभिन्न नाममा उभौली र उधौली मनाउने गरेका छन् । बैशाखे पुर्णिमामा मनाउने चाडलाई उभौली र मंसिरे पुर्णिमामा मनाउने चाडलाई उधौली भनिन्छ । लिम्बु जातिले उधौलीलाई चासोक तङनाम भनेजस्तै अन्य किरातीहरुले पनि अलग नामले मनाउने गर्छन् ।

डा.तिगेलाका अनुसार लिम्बु जातिको चासोक तङनाममा तङसिङ महत्वपुर्ण अनुष्ठान हो । बर्षमा एक पटक लिम्बु जातिले आफ्नो घर, परिवारको स्वास्ती, शान्ति तथा उन्नति, प्रगतिको कामना गर्दै तङसिङ गर्ने उनले बताए । ‘गाली, श्रापहरु छ भने प्रगतिमा वाधा पुगेको हुन्छ, र त्यसलाई बिशेष अनुष्ठानमार्फत त्रिवेणीमा गएर बगाउने चलन छ । सुख शान्ति, प्रगति, स्वास्थ्य र दीर्घायुको कामनासहित यो अनुष्ठान हुन्छ,’उनले भने । यसपटक मुन्धुमलाई विश्व साँस्कृतिक सम्पदा सुचीमा सुचीकृत गर्नुपर्ने माग अनुसार तङसिङको वृत्तचित्र पनि तयार गरिने उनले बताए ।