पथरी : तिन वर्ष अघि सम्म पथरीशनिश्चरे ३ का ठाकुर अधिकारीलाई १ विगाहा खेती गर्न दुई हप्ता भन्दा बढी समय लाग्थ्यो । घरमा पालेको गोरुले १५ दिनसम्म जोत्ने र दैनिकी धान रोप्ने मेलो बनाउन उनको ध्याउन्न हुन्थ्यो । दैनिक गोरुले खेत रोप्दा समय धेरै लाग्थ्यो भने रोपाइ गर्न पनि धेरै दिन लाग्थ्यो ।
तर अहिले समय फेरिएको छ । खेतीपातीमा प्रविधिको विकाश सँगै उनको दिनचर्या पनि फेरिएको छ । गोरु पाल्ने झन्झट हराएको छ भने त्यसको स्थान ट्याक्टरले लिएको छ । अधिकारीले भने ‘प्रविधिले किसानलाई सजिलो बनाएको छ । ’
गोरु पाल्ने किसानले दैनिकी थोरै रोपाइ बनाए पनि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या बढेको छ । ट्याक्टरको प्रयोगपछि धेरै खेती रोपाइँको लागी खेती तयारी हुन थालेको छ । धेरै खेती एकै दिन रोप्न समस्या हुन थालेपछि पथरीशनिश्चरे ३ का महिलाले समूह बनाएर रोपाइ गर्न थालेका हुन् । ४ वर्ष अघि देखी उनीहरू यसरी समूह बनाएर रोपाई गर्दै आएका छन् ।
धान रोप्न ट्याक्टर प्रयोग सँगै स्थानीय महिलाहरूले घण्टे रोजगारी अभियान थालेका हुन् । समूह समूह बनाएर उनीहरूले धान रोपाइ गर्न थालेका हुन् । पथरीशनिश्चरे ३ मा मात्रै यस्ता ५ वटा समूह रहेका छन् । धान रोप्ने,काट्ने काम समूहले गर्दै आएको छ ।
पहिला पहिला अर्मपर्ममा रोपिने असारे खेती अर्मपर्म पनि गर्न छोडेपछि काम गर्ने मान्छेको अभाव हुन थालेको थियो । यसरी रोपाहार अभाव भयसँगै खेतीपाती गर्ने कार्य नै प्रभावित वनेपछि स्थानीय महिलाहरूले घन्टे अभियान थालेका हुन् ।
‘पहिला पहिला अर्मपर्ममा १२ घण्टा सम्म काम गर्नु पर्थ्यो अहिले दैनिक २ घण्टा मात्र काम गर्ने गरेका छौ’ स्थानीय महिला चन्द्रा खतिवडाले भनिन ‘काम गर्न पनि सहज भएको छ भने दैनिक आम्दानी पनि हुन थालेको छ’।
समूहमा आबद्धहरूले रोपाई गरेको प्रति घण्टा १सय ५० प्रति जन लिने गरेका छन् । एउटा समूहमा १२ देखि २५ जना सम्म आबद्ध रहेका छन् । एक दिनमा ४ घण्टा मात्र रोपाइँमा श्रम गर्दै आएका समूहका महिलाहरूले यो अभियान थालेपछि काम गर्न सहज भएको प्रतिक्रिया दिएका छन् ।
असार र साउनमा समूह लगाएर रोपाइ गर्नेको चलन बसेको छ हाम्रो समूहको यो महिना भरि अग्रिम नै कामको टुङ्गो लागेको छ खतिवडाको प्रतिक्रिया थियो । गाउँमा समूहले काम गर्न थालेपछि स्थानीयवासीले पनि रोपहार खोज्ने समस्या टरेको छ । पथरीशनिश्चरेका यी महिलाहरूलाई एक संस्थाले यसरी समूह बनाएर खेती गर्न तरिका सिकाएको हो । सोही संस्थाले समूह वाट आएको पैसा बचत गर्न पनि सिकाएको थियो ।
समूहमा आबद्ध महिलाहरू स्थानीय बचत संस्थामा समेत आबद्ध वनेका छन् । सामूहिक रूपमा सुरु गरिएको यो कार्यले स्थानीय क्षेत्रमा रोपाइ गर्ने वेलामा हुने कृषि श्रमिकको अभाव टारेको छ भने किसानलाई लामो समय लगाएर रोपाई गर्नु पर्ने बाध्यता पनि हटेको छ ।
ट्याक्टर प्रयोग गरेर नयाँ कृषि पद्धति अपनाएका किसानले एकै दिनमा धान रोप्ने मेलो बनाउने किसानलाई यसरी समुहिक रूपमा गरिने रोपाइँले थप टेवा पुर्याएको छ । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख नुनुलाल उरावका अनुसार मोरङमा असार १५ गते सम्ममा २८ प्रतिशत रोपाई भएको छ । मोरङमा ७५० विगाहा 'धानजोन' क्षेत्र रहेको छ ।