धरान : छठ पर्वको अवसरमा धरानको सर्दु र सेउती खोला अस्ताउँदो सूर्यलाई अर्घ दिने श्रद्धालुहरूको जमघटले आज सोमवार साँझ रौनकमय बन्यो ।
नेपालको तराई क्षेत्रमा मनाइने छठ पर्व अहिले देशभरका सबै समुदायको साझा पर्वका रूपमा मनाइने गरिएको छ । धरानमा सबै जाति, समुदायका महिलाहरू व्रत बसेर छठ पूजामा यसपाली पनि सहभागी भएका छन् ।
धरान-१३ स्थित सर्दु खोलादेखि धरान-१५ पूर्वस्थित सेउती खोला घाटसम्म छठ पूजाका लागि बेहेुलीझैं सिँगारिएका छन् ।
छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि निराहार व्रत बस्ने चलन छ । भोलि मङ्गलवार बिहान पुनः घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गरिन्छ । छठमा भगवतीको पूजा आराधना गरी मनोकामना गरेमा इच्छा पूर्ण हुने धार्मिक विश्वास छ ।
सर्दु र सेउती किनारमा रङ्गिन कपडा, माटाका दियो, केरा, गाजर, उखु, सुन्तलाले सजिएको ढकियाको दृश्य सांस्कृतिक संगमस्थल बनेको छ ।
छठका व्रतालुहरू बिहान देखि नै निराहार व्रत बसेका छन् । उनीहरूले साँझ परेपछि खोलाको पानीमा पसेर अस्ताउँदै गरेको सूर्य तर्फ हात जोडेर सूर्यलाई अर्घ दिएका हुन ।
मङ्गलवार बिहान घाटमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालुहरूको व्रत सम्पन्न हुनेछ । छठ पर्वमा देखिएको समावेशी सहभागिताले धरानेहरुले एकता शान्ति र सांस्कृतिक सद्भावको सुन्दर सन्देश दिएको छ ।


































































