इटहरी : नेपाली काँग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईँले मङ्सिर मसान्त भित्रै महाधिवेशन गर्नुपर्ने बताएका छन् । मङ्सिरमा नियमित महाधिवेशन हुन नसके ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरे अनुसार विशेष महाधिवेशन हुनुपर्ने उनले बताएका हुन् ।
देशभरका ६ वटा महानगर सभापतिहरूले महाधिवेशनको कार्य तालिका नै पेस गरेपछि चापागाईँले पार्टी नेतृत्वलाई चेतावनी दिएका हुन् । महाधिवेशनले मात्र कार्यकर्तामा ऊर्जा भर्ने बताएका उनले आफूहरू नियमित महाधिवेशनकै माध्यमबाट काँग्रेसलाई बलियो बनाउनुपर्ने पक्षमा रहेको प्रस्ट पारे ।
‘अहिले देखिएका पुराना अनुहारहरू, जसले वर्षौँदेखि काँग्रेसको विभिन्न पदमा रहेर काम गरिरहनु भएको छ । उहाँहरूकै नेतृत्वमा काँग्रेसको सङ्गठनले जागरूक हुँदैन । जबसम्म काँग्रेसमा नेतृत्व परिवर्तन हुँदैन र नयाँ नेतृत्वले सङ्गठनको कमान्ड लिँदैन, तबसम्म काँग्रेसमा ऊर्जा भरिँदैन,’ उनले भने ।
विशेष महाधिवेशनको लागि हस्ताक्षर गर्ने प्रतिनिधिलाई धन्यवाद दिँदै चापागाईँले नियमित महाधिवेशन मार्फत पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताए । मङ्सिरमै नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनलाई रोक्न नसकिने उनको प्रतिक्रिया छ । निर्वाचनमा टिकट वितरणमा हालीमुहाली गर्ने र सत्ताको खेलमा हाबी हुने मनसायले महाधिवेशनको विरुद्धमा केही नेताहरू लागिपरेको चापागाईँको बुझाइ छ ।


































































