धरान : बदलिएको परिस्थितिमा नेपाली काँग्रेसले पार्टीको समग्र विषयमा समय सापेक्ष परिवर्तन गरेर नयाँ ढङ्गमा अघि बढ्नु पर्नेमा अगुवा कार्यकर्ताहरूले जोड दिएका छन् ।

काँग्रेसमा उठिरहेको महाधिवेशन र रूपान्तरणको बहसका बारेमा सुनसरी-१ क्षेत्रीय समितिद्वारा आज सोमवार आयोजित छलफलमा अगुवा कार्यकर्ताहरूले बदलिएको परिस्थिति अनुसार परिवर्तन जरुरी भएको जोड दिएका हुन।

उनीहरूले नेता र कार्यकर्तामै पनि रूपान्तरण देखिनु पर्ने बताउँदै पार्टीको विधान, संरचना, नीति, कार्यक्रम र मूल्य मान्यतामा परिवर्तन गरिनु पर्नेमा जोड दिएका छन् ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार छलफलमा रूपान्तरणका लागि मङ्सिर मसान्तभित्रै नियमित १५ औँ महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशन गरेर वर्तमान परिस्थितिलाई सम्बाेधन गर्नुपर्नेमा जोड दिइएको छ । पार्टीको हरेक तहमा युवा पुस्ताको सहभागितालाई सुनिश्चित गर्न विधानमै आरक्षणको व्यवस्था गर्नुपर्ने जोड दिइएको छ ।

छलफल कार्यक्रम सभापति तामाङको अध्यक्षतामा भएको थियो । केन्द्रीय सदस्य पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा छलफलमा सहभागी थिए । उनले छलफलका विचार, राय र सुझावहरू सान्दर्भिक भएको बताए ।

जेनजीको प्रदर्शन र त्यसपछिको उत्पन्न असहज परिस्थितिमा पार्टीले निर्वाह गर्दै गरेको राजनीतिक भूमिकाबारे अवगत गराउँदै मुलुकलाई संवैधानिक बाटोमा ल्याउन निर्वाचनको विकल्प नभएको उनले स्पष्ट गरे ।

छलफलले मतदाता नामावली अद्यावधिक गर्न तथा गराउन, कार्यकर्ताहरूको मनोबल बढाउन तथा सङ्गठनलाई गतिशील बनाउन र तोडफोड भएको पार्टी कार्यालय पुननिर्माणका साथै वडा तह देखी पार्टीलाई चलायमान बनाउने निर्णय गरेको छ ।

छलफलमा काँग्रेस कोसी प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सदस्य किशोर राई, प्रदेशसभा (क) सभापति अनिल श्रेष्ठ, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, प्रदेशसभा (ख) सभापति मुरारीप्रसाद भट्टराई लगायत सहभागी थिए ।