इटहरी : सुनसरी मोरङ औद्योगिक कोरिडोर अन्तरगत रिलायन्स स्पिनिङ मिल्समा सरकारले विद्युत् आपूर्ति बन्द भएपछि चार हजारले रोजगारी गुमाएका छन् । उद्योग बन्द भएपछि श्रम कार्यालयबाट स्वीकृति पाएका ३८ सय र अन्य अनौपचारिक कामदारको रोजीरोटी प्रभावित बनेको हो ।
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेको भन्दै लाइन काटेको छ । यसअघि हालका ऊर्जा मन्त्री कुलमान घिसिङ विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा दुई पटक लाइन कटेको थियो ।
नेपाल विद्युत् प्राधिकरणलाई फाइदामा देखाउन बाँकी बक्यौता समेत जोडेका घिसिङले मन्त्री पद सम्हाले सँगै प्रबन्ध निर्देशक परिवर्तन गरेका हुन् । आफ्नै पुरानो अभ्यास दोहोर्याउँदै उनले उद्योगको लाइन काट्न निर्देशन दिएका छन् । रिलायन्सका महाप्रबन्धक महेश पोखरेलका अनुसार विना सूचना उद्योगको लाइन काटेर बारम्बार दुख दिने काम भइरहेको छ ।
लाइन काटेपछि सम्पूर्ण उत्पादन ठप्प भएको छ । नेपालमा मात्र नभएर भारत, युरोप मुलुक, अमेरिका लगायत देशमा वार्षिक ११ अर्ब बराबरको धागो निर्यात गर्दै आएको रिलायन्सले मङ्गलवार देखि कर्मचारीलाई काममा नआउन सूचित गरेको छ । रिलायन्सले दैनिक १३०–१५० टनसम्म धागो उत्पादन गर्दै आएको छ ।
कामदारले भने यसअघि नै प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उद्योगको लाइन काटेर बेरोजगार हुनुपर्ने अवस्था आए सडकका आउने चेतावनी सहितको पत्र सिडिओ मार्फत प्रधानमन्त्री सम्म पुर्याइएको हो । उद्योग बन्दपछि सडक आन्दोलनको तयारीबारे कामदारहरू छलफलमा जुटेका छन् ।
प्राधिकरणका अनुसार लायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । मिल्सले भने नेपाल सरकारले गठन गरेको उच्च स्तरीय लाल आयोगको प्रतिवेदन अनुसार भुक्तानी दिन तयार रहेको जनाएको छ । यही बिचमा प्राधिकरणले धरौटीको विकल्प दिएपछि रिलायन्सले पनि पाँच प्रतिशत रकम बुझाइसकेको छ ।




























































