धरान : नेपालकै प्रमुख औद्योगिक हब मानिने सुनसरी–मोरङ क्षेत्रका उद्योगहरू विद्युत् आपूर्ति अवरोधका कारण उद्योगधन्दा सञ्चालनमा समस्या बढेपछि सुनसरी उद्योग वाणिज्य सङ्घले सरकारविरुद्ध कडा आपत्ति जनाएको छ।
सङ्घका अध्यक्ष गोपाल श्रेष्ठद्वारा शुक्रवार जारी विज्ञप्तिमा आर्थिक मन्दी, कच्चा पदार्थको मूल्यवृद्धि, कर प्रशासनको झमेला, ढुवानी सङ्कट र बजार सङ्कुचनका बिच विद्युत् कटौती हुनु “उद्यमीप्रति घोर अन्याय” भएको उल्लेख गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन् ।
बिज्ञप्ति सार्वजनिक गर्दै, “कच्चा पदार्थ आयातदेखि उत्पादन र बजारसम्मको आपूर्ति शृङ्खलामा जटिलता बढ्दै गएको छ। उत्पादन लागत असह्य बनेको छ र विद्युत् कटौतीले उद्योगहरूलाई ठुलो आर्थिक क्षति पुर्याएको छ।”
सङ्घले चेतावनी दिएको छ कि यस्तो अवस्था जारी रहँदा उद्योगहरू ठप्प हुने, रोजगारी गुम्ने र राष्ट्रिय अर्थतन्त्र थप सङ्कटमा पर्ने निश्चित छ। सरकारले चाँडो हस्तक्षेप नगरे अर्थतन्त्रको मेरुदण्ड नै भाँचिने जोखिम रहेको सङ्घको भनाइ छ।
सङ्घका प्रमुख मागहरू:
औद्योगिक क्षेत्रका लागि अविच्छिन्न विद्युत् आपूर्ति सुनिश्चित गर्ने,लोडसेडिङ नीति पुनरावलोकन गरी उद्योगलाई प्राथमिकतामा राख्ने,उद्योगमैत्री विद्युत् वितरण प्रणाली र सबस्टेशन विस्तार गर्ने,
सौर्य तथा जलविद्युत् जस्ता वैकल्पिक ऊर्जा परियोजनामा सहजीकरण गर्ने माग,कर संरचना सुधार र अन्तर्राष्ट्रिय आपूर्ति सहज बनाउने जस्ता माग सार्वजनिक गरेका छन् ।
सङ्घले सरकारसँग उद्योग–अनुकूल नीति, कर सुधार र ऊर्जा आपूर्तिको दिगो समाधानका लागि तुरुन्त कदम चाल्न आग्रह गरेको छ।
“राष्ट्रको आर्थिक मेरुदण्ड जोगाउन उद्योग क्षेत्रलाई प्राथमिकता दिनुहोस्, अन्यथा उद्योग बाँच्ने जिम्मेवारी सरकारले लिनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
                 
                 
                 
                 
                 
                 
         
        
















 
         
        

















































 
         
         
        