इटहरी : इँटा भट्टाको आसपासको क्षेत्रमा पानीको सतह घट्न थालेको पाइएको छ । केही महिना अगाडी इटहरी–१६, हर्दिया टोलकै मुक्ति भण्डारीको केही महिनायता ‘अटोमेटिक ट्युबवेल’ सुकेको छ । डेढ सय फिट गहिराइबाट आएको पानी सुकेपछि उनलाई पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा तनाव भएको छ ।
भण्डारीको अनुसार पानी नआउने सिङ्गो बस्तीकै समस्या हो । इट्टा उद्योग आसपासका क्षेत्रमा खानेपानीको कल सुक्न थालेको स्थानीयले बताए । बन्द भएको जयश्री इँटा उद्योग सामुन्ने बस्ने कला काफ्लेले कलबाट पानी आउनै छाडेको उनि बताउँछिन् ।
ट्युबलेमा मात्र हैन लबीपुर र एकम्बा नहर आसपासका इँटा उद्योगले गर्दा खेतीपाती गर्नेले सिँचाइका लागि पानी पाउन छाडेका छन् ।
इँटा पोल्ने मेसिन चौबिसै घण्टा जसो उच्च तापमानमा रहने भएकाले जमिनको आद्रता (चिस्यान) सुकेको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, कृषि इन्जिनियरिङ विभागका उपप्राध्यापक सागर काफ्ले बताउँछन्। इँटा उद्योगमा कोइला पोल्दा ११ सय डिग्रीसम्मको तापक्रम चाहिन्छ।
नियम कार्यान्वयनमा ‘अलमल’,इटहरीले भने कानुन बनायो
उपमहानगरपालिका क्षेत्राधिकारभित्रको स्थानमा वातावरणीय ह्रासका कारण मानव, वन्यजन्तु, बोटबिरुवा र भौतिक वस्तुहरूमा पर्ने प्रतिकूल प्रभाव ‘यथासम्भव न्यूनीकरण गर्न सफा र स्वस्थ वातावरणको प्रवर्द्धन गर्ने’ नियमावलीको नियम ३ को उपनियममै व्यवस्था छ।
तर, यो कागजी नियमावलीबाहेक व्यवहारमा कहीँ कतै नियम पालना वा नियमन हुन नसकेको स्थानीय वातावरणकर्मी सन्दीप पौडेल बताउँछन्।
प्रदूषण नमुनाहरूको विश्लेषण गर्न प्रयोगशाला स्थापना गर्ने स्थानीय सरकारको नियमावलीको नियम ३ को उपनियम ‘ञ’ पनि कार्यान्वयनमा आउन सकेको छैन। सरकारी तवरबाट कुनै इँटा उद्योगको प्रदूषण मापनसमेत गरिएको छैन ।
इटहरीले भने प्रदूषणको अवस्था हेरेर अस्थायी तथा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र प्रदान गर्ने नियम इटहरीले बनाएको बताए ।
इँटा उद्योगले दैनिक निकाल्ने प्रदूषण र त्यसको असर मानव बस्तीमा सोझै वा प्रत्यक्ष नपार्न कम्तीमा यस्ता उद्योग र मानव बस्तीबिच २ किलोमिटरको अन्तर हुनुपर्ने नियम प्रदूषण रोकथाम तथा नियन्त्रण नियमावली २०७५ ले व्यवस्था गरेको छ।