इटहरी : सुनसरीको इनरुवामा नेपाली काँग्रेसको विरोध सभा चलिरहेको थियो । ११ बजेलाई निर्धारण गरिएको कार्यक्रम करिब २ घण्टा ढिला गरी सुरु भयो । कार्यक्रम स्थलमा खचाखच थियो । जुलुस सँगै कार्यकर्ताको सङ्ख्या थपिने क्रम जारी थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की आउन ढिला भएपछि कार्यक्रमका वक्ताको सङ्ख्या बढ्न थाल्यो । भातृसंस्थाका पदाधिकारी देखी पार्टीका नेता तथा जनप्रतिनिधिको भाषणले कार्यक्रम लम्बियो ।

Congress-birodd

विरोध सभा भनीए पनि भाषण सभा जस्तो देखियो कार्यक्रम । २० जना भन्दा बढीले एउटै मञ्चबाट एकै शैलीको भाषण गरिरहे । हालको सरकारलाई गोमन र काँग्रेसलाई गनग्वाली सर्प देखी सरकारलाई पुतली र काँग्रेस बत्ती भएको बुझाउने काम भाषणमै भए ।

१० जना सम्मको भाषणमा ताली बजाइरहेका कार्यकर्ता एकाएक गर्दै बाहिरिन थाले । चिसो मौसम देखी भाषण बढी भएको भन्दै उनीहरू बाटो लागी रहेका थिए । त्यसै मध्येका एक हुन शिवनारायण मेहता । २०६२/६३ को आन्दोलनमा छोरो गुमाएको बताउने उनले भाषण सुन्दा सुन्दा दिक्क लागेर हिँडेको बताए । केही सीमित नेताहरूले भाषण गर्दा जोस जाँगर हुने तर धेरै हुँदा वाक्क भएर घरतिर हिँडेको उनको भनाइ थियो ।

भोक्राह नरसिंह गाउँपालिकाका रमेश कुमार मेहता पनि कार्यक्रम समापन नभई घर गए । समयमै रात पर्ने र भाषण बढी भएको तर्क गर्दै उनी बाटो लागे ।

हरीनगर गाँउपालीका बाट आएकी सुमित्रा मेहता पनि समयमै बाटो लागिन् । जिल्ला समन्वय समितिकी सदस्य समेत रहेकी उनले प्रमुख अतिथिले बोल्ने बेला रात पर्ने भएकोले बाटो लागेको बताइन् । सुरुमा काँग्रेस भए पनि पछि एमाले भएको र एमालेले जनताको समस्या नबुझेर पुनः काँग्रेसमा लागेकी हुन उनी । अब काँग्रेसले गम्भीर समीक्षा गर्ने बेला भएको उनी बताउँछिन् । बिपी कोइरालाले मेहनत गरेर बनाएको पार्टी हुर्काउने जिम्मेवारी पाएकोमा आफू खुसी भएको उनको तर्क छ ।

मखनी देवी सरदार पनि हरीनगर गाउँपालिका बाट कार्यक्रममा आएकी हुन् । कार्यक्रमको अन्त्य हुनै लाग्दा उनी बाटो लागिन् । घरमा छोराछोरी रुने भएकोले बेलैमा घर जानुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।
पछि प्रमुख अतिथि कार्की बोल्ने बेला थोरै कार्यकर्ताहरू मात्र देखिन्थे । दुइ तिहाई जनमानस घटेपछि मात्र कार्कीले बोल्ने पालो । त्यस बेला झमक्क रात पर्न लागिसकेको थियो ।

राजनैतिक दलको कार्यक्रममा यस्ता घटना स्वभावीकै हुन् । नेताहरूको भाषण मोहले कार्यकर्ता तथा दर्शक दिक्क भइसकेका हुन्छन् । भाषणमा नयाँपन नहुँदा र धेरै भाषण बाजीले कार्यक्रममा रौनक घटाउने गरेको छ । एउटै बिषयमा लामो समय बोल्ने देखी जनताको चासो बाहिरको कुरा बढी गर्नुले भाषणको आकर्षण कम भएको हो ।

नेताको, गुटको र समावेशिताको व्यवस्थापन गर्दा भाषण र आसन ग्रहणले गर्दा कार्यक्रम लम्बिने गरेको छ ।
जसले गर्दा कार्यक्रमको प्रमुख अतिथि सबैभन्दा धेरै मर्कामा पर्ने गरेका छन् ।

प्रमुख अतिथिले बोल्ने बेला कुर्सी मात्र हुने र कार्यकर्ताहरू आआफ्नो बाटो लाग्ने तरखरमा हुने भएकोले भाषणप्रति कसैको ध्यान हुँदैन । पुरानै ढर्रामा गरिने औपचारिक कार्यक्रमको शैली परिवर्तन नहुन्जेल जनता तथा कार्यकर्ताको अघोषित तिरस्कारको सिकार हुनुको विकल्प छैन ।