धरान : ४२ औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल कोशी प्रदेशका खेलाडीहरूलाई धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ। कोशी प्रदेश ब्याडमिन्टन सङ्घको आयोजनामा धरानस्थित अमर सेवा समाजमा सम्मान कार्यक्रम सम्पन्न भएको हो।
राष्ट्रिय प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक प्रतियोगितामा कोशी प्रदेशले अन्य ६ प्रदेश र नेपाल पुलिस क्लबलाई पछि पार्दै उत्कृष्ट तेस्रो स्थान हासिल गर्न सफल भएको हो। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब प्रथम तथा एपीएफ क्लब दोस्रो स्थानमा रहेका थिए।
सम्मान कार्यक्रममा कोशी प्रदेश ब्याडमिन्टन सङ्घका अध्यक्ष यज्ञश्वर श्रेष्ठले खेलाडीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासकै कारण कोशी प्रदेशले गौरवपूर्ण सफलता हासिल गरेको बताए। उनले आगामी दिनमा अझ उत्कृष्ट नतिजाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष प्रतीक श्रेष्ठ, उपाध्यक्षद्वय सुरेश नेम्वाङ र यङला लामा शेर्पा, अमर सेवा समाजका अध्यक्ष भूमि पेइम, धरान भेट्रान ब्याडमिन्टन क्लबका संयोजक तीर्थ मादेम्बा, धरान ब्याडमिन्टन ग्रुपका अध्यक्ष मणि चाम्लिङ, धरान ब्याडमिन्टन क्लबका सचिव रबिन साउदेन, पूर्वाञ्चल स्पोर्ट्स सप एन्ड मर्मत सेन्टरका सञ्चालक दिवस याख्खा तथा वरिष्ठ फोटो पत्रकार उपेन्द्र चाम्लिङलगायतको उपस्थिति रहेको थियो।
उपस्थित विशिष्ट व्यक्तिहरूले खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कोशी प्रदेशको उपलब्धिले समग्र प्रदेशकै गौरव बढाएको बताएका थिए।
सो अवसरमा व्यवसायी दिवस याख्खाले खेलाडीहरूलाई जनही एक/एक वटा ग्रिप र स्ट्रिङ प्रदान गरेका थिए भने तीर्थ मादेम्बा र सुरेश नेवाङले खेलाडीहरूको खानपिनको व्यवस्था गर्दै सम्मानसहित बिदाइ गरेका थिए।








































































