धरानः प्रधानमन्त्री बालेन शाहको नाममा सामाजिक सञ्जालमा आएको ‘राजालाई गद्धीमा राखेर मात्र संसदमा सम्बोधन गर्ने’ स्ट्याटसमा टिप्पणी गर्दै सांसद हर्क साम्पाङले बालेन शाहले राजा ल्याउने कुरा गर्दा हामीले पनि यलम्बर राजा ल्याउँछौँ भन्न मिल्ने बताएका छन् ।
धरानमा किरात राई यायोख्खाको साकेला शिलि समापनमा शनिवार साम्पाङले भने “बालेन शाह राजावादी हुँदा हुने, हामीले यलम्बर राजा ल्याउँछौँ भन्दा नहुने ?”
साम्पाङले प्रधानमन्त्रीले संसदमा आफ्नै नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहेको कार्यक्रम १५ मिनेट पनि नसुनी बाहिरिएकोमा आपत्ति जनाउँदै प्रश्न गरे, “के यो गणतन्त्र र व्यवस्थाकै अपमान गर्न खोजिएको हो ?”
प्रधानमन्त्रीको कार्यालय र संसद् भवन भौतिक रूपमा अत्यन्त नजिक रहे पनि प्रधानमन्त्री सदनमा आएर जवाफ दिन नचाहेको उनको भनाई थियो । उनले भने “गाडीमा ३० सेकेन्ड र हिँडेर २ मिनेटको दूरीमा रहेको सदनमा समेत प्रधानमन्त्री आउन चाहेनन् ।’
यदि प्रधानमन्त्री बालेन शाह राजतन्त्रको पक्षमा रहेको हो भने आफूहरू पनि यलम्बरका सन्तानका रूपमा आफ्नै राजा खडा गर्ने चेतावनी साम्पाङले दिए ।
उनले देशको विकास कालोपत्रे सडक, भवन वा रेलभन्दा पनि “विधि र पद्धति” ठुलो विषय भएको उल्लेख गर्दै त्यसको पालना गर्ने पहिलो दायित्व प्रधानमन्त्रीकै हुने बताए।
सदनमा आफ्ना माग र आवाज नसुनिएको गुनासो गर्दै साम्पाङले भोलि काठमाण्डौ जाने र पर्सि संसद् बैठकमा आफ्ना माग राखेर आन्दोलन समेत गर्ने घोषणा गरे ।
sakela