इटहरी : नेकपा एमालेका कुशल संगठक मानिएका रामप्रसाद चौलागाईले पार्टी परित्यागको घोषणा गरेका छन् । घुमाउरो शैलीमा एमालेको यात्रा स्थगित गरेको बताउँदै उनले पार्टी त्यागेको बताएका हुन् । 
शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले २०८३ जेठ १ गतेबाट एमाले पार्टीको यात्रा बिसाएको उल्लेख गरेका छन् । विगतमा सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै चौलागाईले सामाजिक हितमा सक्रिय हुने जानकारी गराए । कपुरी न्युजसँग कुरा गर्दै उनले कुनै पनि पार्टीमा जाने योजना तत्काल नभएको स्पष्ट पारे । 
एमाले भित्र बारम्बार दबाबमा रहँदै आएका चौलागाई यसअघि इटहरी उपमहानगरपालिकाको मेयरमा प्रत्याशी थिए । एमालेले टिकट नदिएपछि उनले आक्रोश व्यक्त गर्दै नेतृत्व प्रति असन्तुष्टि जनाए । आगामी २०८४ को निर्वाचनमा पनि मेयरकै आकाङ्क्षी रहेका उनी स्वतन्त्र उम्मेदवार वा अन्य कुनैपार्टिबाट उम्मेदवार बन्ने भन्नेमा आन्तरिक सल्लाह गरिरहेका छन् ।  
उनले लेखेका छन्, २०३५÷३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहको अभियानबाट प्रारम्भ गरेको मेरो नेकपा एमाले सम्बद्ध राजनीतिक जीवनका आरोह अवरोहमा मलाई साथ, सहयोग र समर्थन गर्नुहुने सबै आदरणीय महानुभाव तथा प्रिय सहयोद्धा र सहकर्मी मित्रहरू प्रति हार्दिक आभार प्रकट गर्दै जेठ १ गतेबाट बिसाएको अनुरोध गर्दै सामाजिक हित र प्रगतिकोलागि आवश्यक भूमिका र सक्रियतामा रहने समेत अनुरोध छ ।’