इटहरी : सोमबारको प्रतिनिधिसभा बैठकमा इटहरीको जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषय उठान भएको छ ।
सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अशोक कुमार चौधरीले जनता माविको व्यवस्थापन समिति गठन दलीय भागबन्डामा भएको बताएका हुन् ।
चौथो कार्यकालको लागि काशीनाथ दंगाललाई अस्थायी अध्यक्ष चयन गरेपछि स्थानीय र अभिभावकले समेत विरोध जनाइरहेका छन् । नगर शिक्षा समितिको बैठकले एकबर्ष देखि रिक्त व्यवस्थापन समिति बैठकमा उनै दंगाललाई नियुक्त गर्ने निर्णयको विरोध भइरहेकोबेला रास्वपा सांसदले प्रश्न उठाएका हुन् । शून्य समयमा बोल्दै उनले भने, ‘यस्ता मनोनयनहरू तत्काल खारेज गरियोस् र आवश्यक कडा निर्देशन दिन शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउँदछु ।’
त्यस्तै इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले इटहरी अस्पतालको फार्मेसी सञ्चालकबाट पैसा लिएको विषयमा समेत उनले ध्यानाकर्षण गराएका छन् । जनआस्था साप्ताहिकका प्रकाशित समाचार प्रति इङ्गित गर्दै चौधरीले व्यवसायीबाट पैसा लिएको विषयमा छानबिन हुनुपर्ने माग गरे ।
जनआस्था साप्ताहिकले ‘मेडिकल व्यवसायीसँग मेयरको लेनदेन’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचारमा मेयर पौडेलले आफू निकटलाई नगर अस्पतालको फार्मेसीको ठेक्का उपलब्ध गराएको र बारम्बार पैसा लिएको उल्लेख गरिएको छ । सर्विका मेडिको प्रालिले मेयर पौडेलको सचिवालय र निकट व्यक्तिको खातामा पैसा पठाएको विवरण सहितको समाचार जनआस्थाले प्रकाशित गरेको थियो ।








































































