धरान : पछिल्लो समय आधारभूत तहदेखिका परीक्षा नतिजामा निजी स्कुलहरूको पनि कमजोर अवस्था देखिएपछि संस्थागत विद्यालयहरूको आफ्ना शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि गर्नु पर्ने कुरामा ध्यानाकर्षण भएको पाइएको छ ।
धरानका सियोन, केके, आईडियल र कार्मेल स्कुलले संयुक्त रूपमा विद्यार्थी केन्द्रित शिक्षण प्रणाली विकास गर्ने ‘टिचर एम्पावरिङ प्रोग्राम’ विषयक कार्यशाला आयोजना गरेर त्यसको पुष्टि गरेको छ ।
उक्त निजी स्कुलहरूका ८० भन्दा बढी शिक्षक सहभागी ३ दिने कार्यशाला आज शनिवार देखी सुरु भएको हो । कार्यशाला काठमाण्डौँस्थित ‘स्कुल ट्रान्सफर्मेसन फर प्रोग्रेसिभ एजुकेसन’ संस्थाको सहरीकरणमा सञ्चालन भैरहको छ ।
कार्यशालामा प्रशिक्षक विकेश महर्जन र डा. टिकाराम पोख्रेलले सहजीकरण गरिरहेका छन् । कार्यशालामा आधुनिक शिक्षण–सिकाइ प्रविधि, प्रभावकारी कक्षा व्यवस्थापन, विद्यार्थी केन्द्रित शिक्षण विधि तथा विद्यालयको समग्र संस्थागत सुधारका विषयमा प्रशिक्षण दिइने छ ।
प्रशिक्षक महर्जनले भने ‘कार्यशालामा विशेष गरी ‘प्रोजेक्ट बेस लर्निङ’अर्थात् प्रोजेक्टमा आधारित सिकाइ प्रणालीलाई प्राथमिकता दिइएको छ ।’ शिक्षण सिकाई विधिअन्तर्गत रही विद्यार्थीहरूले स्थानीय समाजका समस्या तथा चुनौती पहिचान गरी समाधान खोज्ने खालका प्रोजेक्ट तयार गरिने उनले बताए ।
ती प्रोजेक्ट शिक्षककै उपस्थितिमा कक्षाकोठाभित्र निश्चित समयावधि कुनै ८ दिन त कुनै १० दिनभित्र पूरा गराइने छ ।
शिक्षकहरूलाई विद्यार्थीको सृजनशीलता, विश्लेषण क्षमता र व्यावहारिक ज्ञान विकास गर्ने खालका प्रोजेक्ट डिजाइनले घोकन्ते शिक्षाबाट विद्यार्थीलाई बाहिर ल्याई ‘गरेर सिक्ने’ संस्कृतिको विकास गर्ने बताइएको छ ।
विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयलाई एकीकृत रूपमा व्यावहारिक जीवनसँग जोडेर अध्यापन गर्ने आधुनिक शिक्षण अवधारणालाई पनि कार्यशालामा समेटिएको छ । विशेष गरी गणित शिक्षकहरूका लागि ‘इन्नोभेटिभ म्याथम्याटिक्स’ सम्बन्धी विशेष तालिम सञ्चालन गरिने जनाइएको छ ।
विद्यालयका प्रधानाध्यापकहरू बिच अन्तरक्रियात्मक सेसनबाट स्कुलको प्रोग्रेसिभ तथा संस्थागत विकासका लागि साझा ‘स्ट्यान्डर्ड फ्रेमवर्क’ निर्माण गर्ने योजना पनि अघि सारिएको छ ।