इटहरी : इटहरी उपमहानगरको एक बर्षमा धुलो र दुई बर्षमा हिलो मुक्त इटहरी बनाउने नारा अहिले सम्म कार्यान्वयनको चरण आउन सकेको छैन ।

आर्थिक वर्ष २०७६/०७७ को बजेट नीति तथा कार्यक्रम पछि पत्रकार सम्मेलन गर्दै इटहरी उपमहानगरपालिकाका मेयर द्धवारीकलाल चौधरीले धुलो र हिलो मुक्त इटहरी बनाउने बाचा गरेका थिए । तर त्यसको केही दिनपछि इटहरी चोक आपसमा बिछ्याइएका टालीहरु भत्काएर झनै धुलो बढाउने काम भयो ।

सोही कार्यक्रमको निरन्तरता स्वरूप आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा पनि धुलो र हिलो मुक्त इटहरी घोषणा गर्दा हुने स्थिति कायम भएको उल्लेख गरिएको छ । इटहरीको मुख्य चोक नै धुलो र धुवाले आक्रान्त छ ।

चोक आसपास ढल निकासको राम्रो व्यवस्था नहुँदा बर्खा याममा बजार क्षेत्र नै डुबानमा पर्ने गरेको छ। २० वाडमा समेटिएको इटहरीका ग्रामीण क्षेत्रमा अझै पनि पक्की सडक पुग्न सकेका छैनन्। तर उपमहानगरपालिकालाई हिलो र धुलो मुक्त घोषणाकै लागी हतारो परेको देखिन्छ ।

वातावरण जोगाउने र वृक्षारोपणलाई तीव्रता दिने भन्दै २०७७/०७८ को बजेटमा एक घर तिन बिरुवा अनिवार्य गराउने कार्यक्रम सार्वजनिक भयो। स्वच्छ वातावरण सहितको हरित इटहरीको नीतिलाई कार्यान्वयन गर्न ल्याइएको सो कार्यक्रम पनि बिचमै रोकीएको छ ।

प्रत्येक नयाँ घर निमार्ण गर्दा तीन वटा बिरुवा अनिवार्य रोप्ने र सडक निमार्ण गर्दा दुवै किनारामा बिरुवा रोपी स्थानीय उपभोक्ता समितिलाई संरक्षणको जिम्मेवारी दिने कार्यक्रम आएको हो । तर यही बिचमा सडक बिस्तारको क्रममा सयौँ रुखहरू उखेलिएका छन् । सो ठाउँमा हालसम्म एउटा पनि बिरुवा रोपिएको छैन ।

२०५६ सालमा तत्कालीन इटहरी नगरपालिकाका मेयर सर्वध्वज सावाँले ल्याएको एक घर तिन बिरुवा अभियानलाई पुनः निरन्तरता दिन खोजे पनि असफल देखिएको छ। त्यस बेला सडक क्षेत्र आसपास रोपिएका रुखहरू अझै पनि कायमै छन्। निक्कै प्रभावकारी देखिएको सो कार्यक्रम पछिल्लो समय भने निश्प्रभावी बनेको हो । हरित नगर अभियान अन्तरगत २ हजार कागतीका बिरुवा बाडी एको उपमहानगरको दाबी छ ।

इटहरीको मुख्य चोकबाट आसपास पूर्व पश्चिम राजमार्गको टेङ्ग्रा खोलादेखि पश्चिम खेती खोलासम्म सडक पेटीमा टाली बिछ्याउने भने पनि बिछ्याइएका टालीहरु भत्काइएको छ । जसले गर्दा झनै धुलोको समस्या बढ्दै गएको छ। १६६ किमी सडक कालोपत्रे भएको भनिए पनि त्यस बिचमा कति बिरुवा रोपिए भन्ने उपमहानगरसँग कुनै तथ्याङ्क छैन ।

वातावरणमैत्री सहर निमार्ण गर्ने उपमहानगरको योजना फोहोर मैला व्यवस्थापनमा देखिएको उदासिनतालेनै प्रस्ट पारेको छ। स्थानीय तहको निर्वाचन अगाडी प्लास्टिक मुक्त इटहरीमा अहिले जथाभाबी प्लास्टिकको प्रयोग हुन थालेको छ। त्यसैले इटहरी उपमहानगरपालिकाको ‘धुलो हिलो मुक्त इटहरी’ र ‘एक घर तिन बिरुवा अभियान’ नारामै सीमित रह्यो।