झापा : स्थानीय उत्पादनले माग धान्न नसके पछि गत आर्थिक वर्ष २०७७/२०७८ मा १० करोड १० लाख ४० हजार रुपैयाँ मूल्य बराबरको ४ हजार २ सय १९ मेट्रिक टन धान आयात गरिएको छ । नेपालको पूर्वी काँकडभिट्टाबाट मात्रै यति परिमाणको धान आयात भएको हो ।
धानको उत्पादनले कूल राष्ट्रिय उत्पादनमा करिब ६ प्रतिशत योगदान गर्ने भएकाले नेपालको अर्थतन्त्र धान उत्पादनमा आधारित छ भन्ने गरिन्छ । तर, यो नाकाबाट हरेक वर्ष धानको आयातमा बृद्धी भइरहेको क्वारेनटिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
नेपालको कूल खेतीयोग्य जमिन मध्ये ५० प्रतिशत जमिनमा धान खेती गर्ने गरिन्छ । नेपाल पहाडी देश भएको हुँदा नेपालको अधिकांश जमिन आकाशे सिँचाइमा निर्भर रहिआएको छ । सिँचाइको भरपर्दो व्यवस्था र पर्याप्त वर्षा नहुँदा हरेक वर्ष खेती हुने जिल्लामा अधिकांश स्थानको धान रोपाइँ प्रभावित हुँदै आएको छ ।
क्वारेनटिन कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा काँकडभिट्टा नाका भएर १५ करोड ३१ लाख ९२ हजार रुपैयाँ मूल्य बराबरको ५ हजार ८ सय ९२ मेट्रिक टन धान आयात भएको थियो ।
जुन परिमाण अघिल्लो वर्षको तुलनामा ५ करोड २१ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ६ सय ७३ मेट्रिक टनले बृद्धी हो ।
यसै गरी, आर्थिक वर्ष २०७५/२०७६ मा काँकडभिट्टा नाका भएर ७ करोड ६८ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको २ हजार ९ सय ५७ मेट्रिक टन धानको आयात भएको कार्यालय प्रमुख देविन्द्र साहूले जानकारी दिए ।
आर्थिक वर्ष २०७६/२०७७ को तुलनामा आर्थिक वर्ष २०७५/२०७६ मा ७ करोड ६३ लाख १० हजार रुपैयाँ मूल्य बराबरको २ हजार ९ सय ३५ मेट्रिक टनले धानको आयात कमी हो । धान उत्पादनमा उल्लेख्य सफलता हासिल गर्न नसक्दा बर्सेनि चामल आयातको दर बढिरहेको सरकारी अधिकारीहरूको भनाइ छ ।
मुलुकमा बर्सेनि चामलको खपत बढिरहे पनि सोही मात्रामा धानको उत्पादन हुन नसक्दा आयात बढेको कृषि प्राविधिक रामप्रसाद कुश्वाहको भनाइ छ ।
तर, कृषि ज्ञान केन्द्र झापाले झापामा हरेक वर्ष धानको उत्पादन बृद्धी भइरहेको दाबी गरिहेको छ । कार्यालय प्रमुख नीलकमल सिंहका अनुसार गत आर्थिक वर्ष २०७७/२०७८ मा झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
जसबाट प्रतिहेक्टर ४ दशमलव ९ मेट्रिक टन धान उत्पादन भएको थियो । झापामा खेती योग्य धान उत्पादनका लागि ८७ हजार ५ सय हेक्टर क्षेत्रफल भए पनि आर्थिक वर्ष आर्थिक वर्ष २०७६/२०७७ मा ९१ प्रतिशत जमिनमा मात्र धान खेती गरिएको कार्यालय प्रमुख सिंहको भनाइ छ । त्यस वर्ष प्रतिहेक्टर ४ दशमलव ७ प्रतिशत मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्याङ्क छ ।
मनसुनले राम्रो साथ दिएको हुँदा यो वर्ष धानको उत्पादन बढ्ने कार्यालयले जनाएको छ । धानको उत्पादन बढ्नुमा विभिन्न समयमा पर्याप्त वर्षा हुनु, रासायनिक मलको आपूर्ति बढ्नु, प्राकृतिक प्रकोप नहुनु, रोपाइँ क्षेत्रफल बढी हुनु, वर्णशंकर जातका धानको क्षेत्रफल बढ्नु र कृषि आधुनिक परियोजना ७ वटा र ३ सुपर जोनबाट बृहत् रूपमा कार्यक्रम सञ्चालन हुनु नै भएको कार्यालय प्रमुख सिंहको भनाइ छ ।
उत्पादनको क्षेत्र बढ्दै गएको कृषि मन्त्रालयले समेत जनाएको छ । उता धान उत्पादनको क्षेत्रफल बढे पनि पुरानै शैलीमा खेतीपाती भएकाले उत्पादन बढ्न नसकेको सरोकारवालाहरू तर्क छ ।
एकातिर धानको उत्पादन वृद्धि भएको पनि छ । तर, धान बालीको उत्पादकत्व वृद्धिको दर अझै कम रहको कारण चामल आयात पनि बढ्दै गएको कृषि प्राविधिकहरू बताउँछन् । उत्पादन बढे पनि मुलुकमा उत्पादित धानले माग धान्न सकिरहेको छैन ।
धानको उत्पादकत्वमा सुधार आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ । जमिनको उर्वराशक्ति अनुसार धान उत्पादन हुन नसकेका कारण उत्पादकत्व वृद्धि गर्न सक्नुपर्ने बताइएको छ ।
पालको मुख्य खाद्यान्न बालीको रूपमा रहेको धानको उत्पादनले अर्थतन्त्रलाई नै प्रभाव पार्ने देखिएको बेला धानको उत्पादनलाई ४० प्रतिशतसम्म पुर्याउन सके नेपालले चामल निर्यात पुनः गर्न सक्नेसमेत भनिएको छ ।