इटहरी : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) धरानका चर्चित अभियन्ता हुन् । खानेपानी, भ्रष्टाचार, चुरे दोहनको मुद्दा उठाउँदै आएका उनी अनपेक्षित रूपमा मेयर निर्वाचित भए। चुनावको दौरानमा आफू उम्मेदवार भएको तर विजयी हुनेमा पूर्ण रूपमा ढुक्क नभएको बताउने उनको काँधमा मेयरको जिम्मेवारी परेको छ।

स्वतन्त्र मतलाई आफूतिर आकर्षित गरिरहेका उनलाई नेकपा (एमाले) र नेपाली काँग्रेसका असन्तुष्ट मतदाताले सहयोग पुर्‍याए । लामो समय देखी खानेपानीको समस्या भोग्दै आएका धराने जनताले साम्पाङको मुद्दालाई पत्याए ।

धरानको विकाशमा भ्रष्टाचार नगर्ने र धरानको पुरानो शाख जोगाउने उनले प्रतिबद्धता जनाएका छन् । मेयरले पाउने सेवा सुविधा लिने तर भ्रष्टाचार नगर्ने उनले प्रस्ट पारेका छन्। आफू निरन्तर धराने जनताको पक्षमा लागेका कारण यो परिणाम आएको उनले बताए । धराने जनताले अब काकाकुल भएर बस्नुपर्ने दिनको अन्त्यको लागि युद्दस्तरमा काममा खटिने उनको भनाई छ।

२०४८ साल देखी कम्युनिस्टको गढ रहेको धरानमा यस पटकको चुनाव पार्टी भन्दा मुद्दा प्रधान बन्यो । नेकपा एमालेबाट २०४८ सालमा ध्यान बहादुर राई र २०५४ सालमा मनोज मेन्याङ्बो मेयर बने। २० वर्षपछि २०७४ मा नेकपा एमालेबाट तारा सुब्बा मेयरमा निर्वाचित भए। सुब्बाको २०७५ साउन १ गते निधन भयो । सुब्बाको निधन पछि २०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भए । राईको विजयलाई काँग्रेसले ऐतिहासिक रूपमा लिएको थियो । उपनिर्वाचनको परिणाम र गठबन्धनको आडमा चुनाव जित्ने विश्वासमा थियो काँग्रेस।

कुल १ लाख ३ सय २४ मतदाता रहेको धरानमा ६३०९८ जनाले मतदान गरे। त्यसमध्ये साम्पाङले २०८२१ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोर राईले १६०५९ मतमा चित्त बुझाउनुपर्‍यो । नेकपा एमालेकी उमेरदार मञ्जु भण्डारीको मेयर बन्ने सपना पनि अधुरो रह्यो । निवर्तमान उपमेयर उनले कार्यवाहक मेयर भएर समेत काम गरेको अनुभव थियो। तर मतदाताले उनलाई तेस्रो स्थानमा पुर्‍याए । उनले १२८२५ मत पाइन् ।
पार्टीका भोटर्स भन्दा पनि नयाँ भोटर्सको मत बढी खसेको कारण साम्पाङ विजयी भएको नेपाली काँग्रेसका नगर सभापति श्याम पोखरेलको आङ्कलन छ। उपनिर्वाचनमा काँग्रेसको विजयको आडमा पुनः विजयी हुने विश्वासमा आफूहरू रहे पनि त्यसो हुन नसकेको उनले प्रस्ट पारे ।
उता सुनसरी क्षेत्र नम्बर १ का काँग्रेस सभापति सुजेन्द्र तामाङ साम्पाङको विजय स्वाभाविक भएको बताउँछन् । विगतमा जनप्रतिनिधिले चित्तबुझ्दो काम नगरेपछि अहिले विकल्पको रूपमा साम्पाङको उदय भएको उनले प्रस्ट पारे । आफूहरू गठबन्धनको बलमा जित्ने ढुक्क भएको बेला धराने जनताले दलको विकल्प खोजेको उनको भनाई छ। धरानको प्रमुख समस्याको रूपमा रहेको खानेपानीको स्थायी समाधान गर्ने भन्दै लामो समय देखी आवाज उठाएका साम्पाङलाई जनताले विश्वास गरेको तामाङको बुझाई छ। 
नेकपा माओवादी केन्द्रका धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) ले साम्पाङको विजयलाई अस्वभावीक मानेका छन् । अधिकतम ७ हजार मतको आङ्कलन गरेको बताउने उनी एक्कासि माहौल परिवर्तन भएकोमा आश्वर्यचकीत भएको बताउँछन् । काठमाण्डौमा स्वतन्त्र उम्मेदवार बालेन शाहको प्रभाव धरानमा पनि परेको उनले बताए । राजनैतिक दलले उम्मेदवार चयन गर्दा ख्याल नदिएको र लोकतान्त्रिक बाम गठबन्धन भित्र पनि असन्तुष्टि देखिएका कारण यो अवस्था आएको उनको भनाई छ।
नेकपा एमालेको प्रदेश १ कमिटी सचिवालय सदस्य रमेश बस्नेत धरानको विषयमा संवेदनशील हुनुपर्ने बताउँछन् । आफू धरानवासी समेत भएको बताउँदै उनले विगतमा भएका कमीकमजोरीको निर्मम समीक्षा जरुरी रहेको सुनाए । 
स्थानीय तहमा राजनैतिक दलहरूले देखाएको भूमिका कमजोर बन्दै गएपछि जनताले विकल्प खोजेको उनको बुझाई छ। तारा सुब्बा निधनको क्षति नेकपा एमाले पार्टीले लामो समय बेहोर्नुपर्ने अवस्था सृजना भएको बस्नेतको तर्क छ। 
“धरान उपमहानगरपालिकाको आन्तरिक आम्दानी कम छ। यसले धराने जनताको अपेक्षा अनुसारको काम गर्न सक्दैन । खर्चको व्यवस्थापन र जनताको अपेक्षा बुझ्न नसक्दा बारम्बार नेतृत्वमा विकल्पको खोजी हुने गरेको छ ।,” उनले भने, “त्यो सँगै हामीले उम्मेदवार छनौटमा पनि जनताको भावना बुझ्न सकेनौ । पार्टीले उम्मेदवार बनाएपछि भोट हाल्छन् भन्ने मानसिकताले काम गर्‍यो । पार्टी भित्र परिचालन हुन सकेन । तर पनि धरानमा एमाले कमजोर भएको छैन । वडाध्यक्षको परिणाम हेर्दा २० मध्ये १० वडा हामीले जितेका छौ । यसले नेकपा एमाले बलियो देखाउँछ।”
सन् २०१२ मा एसियाली विकाश बैङ्कको ऋण तथा अनुदान सहयोगमा खानेपानी परियोजना सुरु भयो । परियोजना सम्पन्न भएपछि २०७७ फाल्गुन १९ गते खानेपानी संस्थानलाई खानेपानी बोर्डमा गाभियो । बोर्डका अध्यक्ष धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राई भए । संस्थान बोर्डमा गाभिएपछि एक पटक पनि बैठक बस्न सकेन । खानेपानी समस्या झेलिरहेको धरानमा साम्पाङले यही मुद्दा उठाइरहेका थिए । धारामा पानी नआउँदा ट्याङ्करबाट पानी किनेर पिउन बाध्य धरानेले साम्पाङलाई साथ दिएका छन् ।