चतरा  : वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० का लागि ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मङ्गलवार कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।

दशौँ नगर सभामा उप-प्रमुख नन्दकुमारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको पहिलो बुँदामै 'समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार' भन्ने नारा तय गरिएको छ । कृषि र पर्यटन मार्फत रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य प्रस्ट भएको छ । वातावरणमैत्री नगर निर्माण गर्न १ घर २ रुख अभियानलाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हरेक महिना अनुभव साटासाट गर्न जनतासँग मेयर कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ। रोजगारी प्रवर्द्धन गर्न ‘बेरोजगार युवाका लागि मेयर रोजगार कार्यक्रम’ तय गरिएको छ । महिला सशक्तीकरणको लागि भन्दै 'उपमेयर सिप विकास तथा महिला सशक्तीकरण कार्यक्रम' सार्वजनिक गरिएको हो ।

पर्यटन विकाशको लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । कोसी नदिमा जल बिहार, जल यातायात र कोसी किनारमा सूर्यास्तको मनोरम दृश्यावलोकनको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ । कोसी किनारमा होटेल रेस्टुरेन्ट लगायत घोडाघोडी, फिसिङ, स्याण्डबाथ र स्याण्ड भलिबलको प्रवर्द्धनमा जोड दिइने भएको छ ।

वराहक्षेत्रको दुर्गम मानिएको सुर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकाश गरी ठाकुरबारिबाट श्रीलङ्का टप्पु जोड्ने झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ‘एक वडा एक गौरवका योजना’ र ‘एक वडा एक खेलमैदान’ र हरेक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ ।

कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्ने देखी अव्यवस्थित बसोबास समाधान लगाएका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सभामा नगर प्रमुख कार्कीले प्रस्तुत गरेको नीति कार्यक्रममाथि असार ११ गतेदेखि छलफल गरिने छ ।

यस्तो छ बजेट
आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले आन्तरिक आय ९ करोड ५० लाख अनुमान गरेको छ । नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोतमा  सङ्घीय सरकारबाट आउने सशर्त अनुदानलाई राखिएको छ । ४१ करोड २७ लाख सशर्त अनुदान र २१ करोड ४८ लाख वित्तीय समानिकरण अनुदानको आधारमा बजेट तर्जुमा गरिएको छ ।
सङ्घबाट हुने राजस्व वाडफाँडमा १५ करोड ९४ लाख २३ हजार आम्दानी हुने अनुमान गरिएको छ । यस्तै प्रदेशबाट , वित्तीय र सशर्त गरी १ करोड ८१ लाख ४३ हजार अनुमान गरिएको छ ।
कुल बजेट मध्ये चालु खर्चमा ५० करोड ४५ लाख छ भने पुँजीगत तर्फमा ४३ करोड ५७ हजार बजेट विनियोजन गरेको छ ।  पूर्वाधार विकाशमा १० करोड ८५ लाख ७२ हजार ९ सय ३० रुपैयाँ विनियोजन गरेको नगरपालिकाले आर्थिक विकाश तर्फ ५ करोड ४२ लाख ८५ हजार छुट्याएको छ । सामाजिक विकास ६ करोड ७८ लाख ५७ हजार, विपद् वन तथा वातावरणमा १ करोड ९० लाख र सुशासन तथा क्षमता विकास २ करोड १४ लाख २८ हजार विनियोजन भएको छ ।