इटहरी : कुनै बेला नेपाली राजनीतिकै प्रभावशाली नेता हुन् विजय कुमार गच्छदार । सत्ता फेरबदलको सामर्थ्य राख्ने शक्तिशाली गच्छदारको राजनैतिक बहिर्गमन भने नमिठो बन्दै गएको छ । पछिल्लो समय राज्य सत्ता र पार्टीको सत्ताबाट बाहिर रहेका उनी थप शक्ति आर्जन गर्न नसक्ने अवस्थामा पुगेका छन् । 

२०२६ सालदेखि नेपाली काङ्ग्रेसबाट राजनीतिमा सक्रिय छन् गच्छदार । सुनसरी ३ बाट २०७४ को निर्वाचनमा एमालेकी उम्मेदवार भगवती चौधरीलाई पराजित गरे । २०४८ बाटै निरन्तर सत्तामा रहेका उनी अहिलेसम्म १२ पटक मन्त्री र चार पटक उपप्रधानमन्त्री भइसकेका छन् । 
२०६४ को संविधानसभा निर्वाचनमा आफूले सिफारिस गरेकाहरूले टिकट नपाएपछि उनी मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । पछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी गठन गरे । 
२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन भएपछि उनी पुन काङ्ग्रेसमै फर्किए । २०७४ असोज २९ मा फोरम लोकतान्त्रिक र काँग्रेस बिच एकता भएपछि उनी उपसभापति र संसद्को उपनेता भए । १३ औँ महाधिवेशन लगत्तै पुनः काँग्रेस प्रवेश गरेका उनलाई कार्यकर्ताले पत्याएनन् ।  
१४ औँ महाधिवेशनको नगर, क्षेत्र र जिल्लाको अधिवेशन देखी नै उनी निरीह देखिए । नगर अधिवेशनमा उनले समर्थन गरेको टेकचन्द्र विश्वास पराजित भए । क्षेत्रीय अधिवेशनमा आफ्नो पक्षको उम्मेदवारलाई सर्वसम्मत गराउन लागी परे । घरैमा कार्यकर्ता भेला पारेर झन्झट दिए । उनकै कारण क्षेत्रीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आयो । अन्ततः दुवै टिमको सहमतिमा निर्वाचन गराइए पनि उनको टिम कमजोर देखियो । कार्यकर्तासँग परामर्श गर्ने भन्दा निर्देशनको शैली अपनाउने उनको प्रवृत्तिले थप समस्या बढाउँदै लग्यो । 
पहिला उनकै पक्षका वेद नारायण गच्छदारले उनका साथ छाडे । दुहबी नगर सभापति तथा मेयर रहेका गच्छदारले दोस्रो कार्यकाल सभापति र मेयर पद दोहोर्‍याएका छन् । उनलाई सभापति र मेयरको टिकट रोक्नमै लागिपरेका थिए विजय कुमार गच्छदार । उनको निर्वाचन क्षेत्रमा पर्ने बर्जू र गढी गाउँपालिकाका उनी निकट उम्मेदवार पराजित भए । इटहरी उपमहानगरपालिकाको पनि आधा भाग उनकै निर्वाचन क्षेत्रमा पर्छ । इटहरीमा पनि उनले चाहे अनुसार टिकट वितरण हुन सकेन । आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो पक्षका नेताले टिकट नपाएको र पाएका उम्मेदवार पराजित भएपछि उनलाई चोट पुगेको छ । कार्यकर्तामा उनी प्रतिको भरोसा कम हुनु र राज्य र पार्टी सत्ताबाट बाहिरिनुको दुखद अवस्थामा छन् गच्छदार । 
उता २०७४ सालमा भोजपुरबाट निर्वाचन क्षेत्र परिवर्तन गरेर सुनसरी ४ मा आएका ज्ञानेन्द्र बहादुर कार्कीको प्रभाव बढ्दै गएको छ । केन्द्रीय स्तरमा प्रभावशाली कार्की स्थानीय स्तरमा पनि बलिया बन्दै गएका छन् । १४ औँ महाधिवेशनमा सुनसरी ४ मा आफ्नो टिमलाई स्थापित गराए । विजयी गराएका उनले स्थानीय निर्वाचनमा पनि सम्पूर्ण पालीका विजयी गराए । मुख्यतः वराहक्षेत्र नगरपालिका, कोसी, हरिनगर र भोक्राह नरसिंह गाउँपालिकामा काँग्रेस उम्मेदवार विजयी भए । ४ नम्बर क्षेत्र पर्ने मुख्य पालिकामा उनी निकट उम्मेदवार नै विजयी भएका हुन् । यसले उनको प्रभाव झनै बढाएको छ । 
स्थानीय स्तरमा योजना ल्याउने देखी कार्यकर्ता भेटघाटलाई प्राथमिकता दिएका उनी हरेक महिना जसो निर्वाचन क्षेत्रको भ्रमणमा आउँछन् । ५ वर्षको अवधिमै सुनसरीमा स्थानीय स्तरमै प्रभावशाली देखिएका कार्कीले लामो विरासत बोकेका गच्छदारलाई छाँयामा पारेका छन् । अहिले सुनसरीको शक्ति केन्द्रको रूपमा गच्छदार भन्दा कार्की बलिया छन् । 
सुनसरीमा ज्ञानेन्द्र बहादुर कार्कीको आगमन सँगै गच्छदारको भूमिका कमजोर बन्दै गएको छ । कार्कीको प्रभावको छायामा परेका छन् गच्छदार । 
अर्थमन्त्री हुँदा २०७४ सालमा निर्वाचन क्षेत्र परिवर्तन गरेका उनले गच्छदार सँगै चुनाव जिते । सुनसरी ४ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनी त्यसपछि उनले दुई वटा मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । 
शेरबहादुर देउवा नेतृत्वको सरकार बन्दा सुरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भएका उनी हाल सञ्चार सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारीमा छन् । 
ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसकेका उनी दुई पटक अर्थमन्त्री भए । २०३९ सालमा ‘नेपाल विद्यार्थी सङ्घ’ को केन्द्रीय अध्यक्ष भएका कार्की कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुँदा स्वकीय सचिवको भूमिकामा थिए । काँग्रेस विभाजनको समयमा प्रजातान्त्रिक काँग्रेसमा लागेका कार्की त्यस बेला देखी नै शेर बहादुर देउवाका विश्वास पात्र हुन् ।