आज आइतबार श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि अर्थात् भगवान् बराहको उत्पत्ति भएको दिन वराह भगवान् विराजमान हुनुभएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशेष पूजा अर्चना गरी मनाइदैछ। मन्दिरमा गीता पाठ, बराह चरित्र पाठ, बराह भगवानको अर्चना गरेर विशेष पूजा गरेर भगवान् बराहको जन्म उत्सव मनाइने गरिन्छ । प्रेमको प्रतीक समेत मानिने भगवान् बराहको जन्म जयन्तीको दिन भगवान् बराहको नाममा व्रत बस्ने, अर्चना गर्ने प्रचलन गरेको छ ।
प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको बराह भगवान् विष्णुका १० अवतार मध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् बराहले जंङ्गलि जनावरको रूप बँदेलको भेषमा रक्षा गरी संसारभरका प्राणीहरूको रक्षा गरी संसारलाई स्थायित्व दिएको शास्त्रमा उल्लेख रहेको छ । सोही किंवदन्तीलाई आधार मानेर भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामको रूपमा व्याख्या गर्ने गरिएको छ ।
भगवान् विष्णु १० अवतारमा भगवान् विष्णुको पहिलो अवतार मत्स्य अर्थात् माछा दोस्रो अवतार कूर्म अर्थात् कछुवा, तेस्रो अवतार भगवान् वराह, चौथो अवतार नृसिंह, पाँचौँ अवतार बमन, छैटौँ अवतार परशुराम, सातौँ अवतार भगवान् राम, आठौँ अवतार कृष्ण, नवौँ अवतार भगवान् बुद्ध र दशौँ अवतार कत्की रहेको वराहक्षेत्रका पण्डित योगेश वराहक्षेत्रले बताए ।
नेपालका ऐतिहासिक महत्त्व बोकेको क्षेत्र मध्ये वराहक्षेत्र धाम पनि एक हो। जहाँ १५ सय वर्ष अगाडिमा दैविक मूर्तिहरू रहेका छन्। सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकामा रहेको सो क्षेत्र नेपाल र नेपालीहरूको सम्पत्तिको रूपमा रहेको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए । नेपालका सुन्दर धार्मिक र पर्यटक स्थल मध्ये वराहक्षेत्र पनि एक उत्कृष्ट क्षेत्रको रूपमा पर्छ वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थस्थल हो । ब्रह्मपुराण वराह पुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो चारधाम मध्येको एक देवस्थल हो ।
वराहक्षेत्र संरक्षणका सचिव घिमिरेका अनुसार वराहक्षेत्रमा वराहको मूर्ति सहित लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन् । त्यहाँ आजभन्दा करिब १५ सय वर्ष अगाडि देखिका मूर्तिहरू रहेका छन् ।
धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढाटाढा सम्म फैलिएको छ । पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । वराहक्षेत्रलाई छेउको कोसी नदी जलक्रीडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्त्वपूर्ण छ ।