इटहरी : दैनिक हजारौँ नागरिकको आवतजावत हुने इटहरीमा सार्वजनिक खानेपानीको अभाव छ। प्रदेश १ को केन्द्रमा रहेको व्यापारिक सहर इटहरीमा सार्वजनिक धारा नहुँदा यात्रु तथा मजदुरलाई समस्या पर्दै आएको छ । 

विगत ५ वर्षदेखि इटहरीमा सिटी सफारी चलाउँदै आएको अबिरलाल चौधरी दैनिक खानेपानी किन्नुपर्ने बाध्यतामा छन् । कहिलेकाहीँ यात्रुले अकस्मात् पानी माग्दा अप्ठ्यारो लाग्ने भएपछि एक बोतल पानी किनेर सफारीमा राख्ने गरेको उनले सुनाए । 

उनी सँगै अटो चलाउने सचिन लिम्बु पनि पानी किनेरै खानुपर्ने बाध्यता रहेको सुनाउँछन् । बेलाबेला घरैबाट पानी बोकेर आउने उनी प्रायजसो बजारमा किनेको पानीले तिर्खा मेटाउँछन् । चौधरी र लिम्बु मात्र हैन अन्य क्षेत्रका मजदुर, किनमेलमा आउने ग्राहक देखी ट्राफिक प्रहरीले समेत खानेपानीको अभाव झेलिरहेका छन् । इटहरी चोक आसपास ड्युटी गर्ने ट्राफिक प्रहरीले खानेपानीको लागि दैनिक जसो होटेल छिर्नुपर्ने बाध्यता छ ।

केही वर्ष अगाडीसम्म इटहरीका मुख्य चोकहरूमा खानेपानीको धाराहरू प्रशस्त रहे पनि अहिले त्यो व्यवस्था नहुनु दु:खद रहेको नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी बताउँछन् । बढ्दो सहरीकरण सँगै इटहरी आउने आगन्तुकको संख्यापनि बढ्दै गएकाले खानेपानी र शौचालय जस्तो आधारभूत कुरामा ध्यान दिनुपर्ने उनको तर्क छ । 

“एउटा सहरलाई जीवन्त राख्न खानेपानी, शौचालय, पुस्तकालय र त्यहाँका नागरिकको व्यवहार महत्त्वपूर्ण कुरा हुन् । सुन्दा सामान्य लाग्ने तर विशिष्ट अर्थ बोक्ने यस्ता विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्छ । अब खानेपानी संस्थालाई स्थानीय सरकार मातहत ल्याएर जनताको हितमा उपयोग गर्नुपर्छ । त्यसलाई व्यापारिक संस्था बन्न दिनु हुँदैन ।,” उनले भने, "सबैले पानी किनेर खाने अवस्था हुँदैन । पैसा नभएका नागरिकले पनि पानी खान पाउने व्यवस्था गर्न जरुरी छ ।"

पटक पटक उत्कृष्ट खानेपानीको उपाधि पाउँदै आएको इटहरी साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाले सार्वजनिक धाराको विषयमा कुनै चासो दिएको छैन । २२ हजार घरधुरी उपभोक्ता रहेको संस्थाले दुई वर्ष अगाडी नै १३ करोड ऋण तिरिसकेको बताउँछन् संस्थाका अध्यक्ष रामप्रसाद चौलागाई । 

हालसम्म सार्वजनिक धारा राख्ने कुनै योजना नभएको बताउँदै उनले काठमाण्डौमा असफल भएको कार्यक्रम लागु नगर्ने उनले बताए । उपमहानगरपालिका परिसरमा भएकै धाराको व्यवस्थापन नभएको कारण थप धारा राख्ने कुनै योजना नभएको उनको भनाई छ । 

dharan-public-water-topउता खानेपानीको अभाव झेलिरहेको धरानमा भने सार्वजनिक धाराले धेरै राहत प्रदान गरेको छ। ९ वर्ष देखी सार्वजनिक यातायातमा काम गरिरहेका एक युवा सार्वजनिक धाराले धेरै टेवा पुर्‍याएको बताउँछन् । उनी जस्तै सयौँ मजदुर, यात्रु तथा प्रहरीले समेत भानु चोकमा रहेको सार्वजनिक धाराको पानी पिउँछन् । नजिकै रहेको सार्वजनिक शौचालयले पनि मजदुर र यात्रुको लागि ठुलो राहत पुर्‍याएको छ । पानीको अभाव देखिएको धरानमा शौचालय देखी खानेपानी सम्म भरपुर पानीको उपयोग गर्न पाइने व्यवस्था मिलाइएको छ । जसले गर्दा धेरै नागरिकलाई सहज भएको छ ।