धरान : धरान उपमहानगरपालिको यसपालीका मेयर देखी वडाध्यक्षका चुनावी उम्मेदवारहरू प्रचारको मैदानमा उत्रिएका छन् । चुनावी चहलपहल बढेको बेला अहिले धारामा पानी नआएको गुनासो प्रायः सबै वडामा व्यापक छ। कतै साता दिन सम्म पानी नआउँदा हाहाकारै छ। घरदैलोमा उम्मेदवारहरूले सबै भन्दा पहिलो मतदाताबाट खानेपानी कै बारेमा सोध्ने प्रश्नहरूको सामना गर्नुपर्नेछ । खानेपानी बिना जीवनको कल्पना गर्न सकिन्न, अरू कुरा तपसिलका भएकोले यसपालि पनि धरानको चुनावी मुख्य मुद्दा खानेपानी नै हो।
रोचक कुरा, नगर प्रमुखका लागि उम्मेदवार बनेका गठबन्धनका प्रमुख पार्टी नेपाली काँग्रेसका किशोर राई, सङ्घीय लिम्बुवानका अमर इजम, जनता समाजवादी पार्टीका ताजुब लिम्बु, स्वतन्त्र प्रत्याशी हर्क साम्पाङ धरानको खानेपानी आन्दोलनमा सडकमा उत्रिएका नेताहरू हुन् । नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी उपमहानगरपालिकाको कार्यवाहक मेयर, उपमेयर भएर ५ वर्षे कार्यकाल पुरा गरी पुनः प्रत्याशी भएकी हुन् । अघिल्लो चुनावमा पनि खानेपानी नै मुख्य मुद्दा थियो ।
धरानमा सन् २०१२ मा एडिबीको ऋण र सहयोगमा १ अर्ब ७७ करोड रुपयाको धरान खानेपानी आयोजना सुरु भयो । सन् २०१९ मा सम्पन्न हुने र त्यसले २०३१ सम्म धरानवासीलाई पर्याप्त खानेपानी आपूर्ति गर्ने प्रत्याभूति गरेको थियो । आयोजनाको सबै रकम अर्थात् १ अर्ब ७४ करोड रुपैयाँ खर्च भैसकेको छ । तर ज्ञारेन्टी गरे अनुसारको खानेपानी अपजर्ती हुन नसकेको मात्र होइन हाहाकार मच्चिने अवस्थामा छ। यस कारण पनि खानेपानी यसपालिको चुनावमा मुख्य मुद्दा हो ।
खानेपानीको अभाव र विवाद चलिरहेकै अवस्थामा भएको मेयरको उपनिर्वाचनमा धरानवासीले नेपाली काँग्रेसका युवा नेता तिलक राईलाई बहुमत जिएर मेयरमा विजयी गराए । खानेपानीको मुद्दाबाट आएका राईले आधार कार्यकाल मेयरको कुर्सीमा बसेर बुझेको खानेपानी आयोजनाको वास्तविक तथ्य गएको आइतबार खुलासा गर्दै पत्रकार सम्मेलनमा भने "खानेपानी आयोजना अहिले पनि अधुरै छ, पुरा भएको छैन ।"
दातृसंस्था एडिबि र सरकारी नीतिका कारण धरानमा परामर्शदाता र ठेकेदारले काम गरिरहेकै अवस्थामा अधुरो अवस्थामै समाप्त गरिएको आयोजना आफ्नो कार्यकालमा उपमहानगरपालिकाले जिम्मा लिन बाध्य भएको राईको भनाई छ। आयोजनाको काममा खानेपानी संस्थानले सहयोग नगर्दा प्राविधिक कार्य अधुरो रहेको कुरा उठेपछि संस्थानलाई धरान खानेपानी बोर्डमा गाभियो। त्यस बेला सम्म आयोजनाको फायल नै बन्द भैसकेको थियो।
खानेपानी आन्दोलनमा खानेपानी भएको भ्रष्टाचार खुलासा गर्ने भाषण पनि गरेका मेयर राईले ठुलै खुलासा त गरेनन् तर आफू आउन अघि आयोजनाको डिजाइन भन्दा बाहिर गएर खनिएले दुई बेल (जमिनबाट पानी तान्ने इनार) को भुक्तानी कार्यकाल अन्तिम सम्म रोके। धरान खानेपानीको अधुरो आयोजना पुरा गर्न पछिल्लो समय २८ करोड रुपयाको पूरक आयोजना सरकारबाट स्वीकृत गराएको उनले जानकारी गराएका छन् । तर त्यसले मात्र बढ्दो सहरीकरण र धरानमा पछि गाभिएका क्षेत्रका खानेपानी आवश्यकता पुरा गर्न भने सक्तैन ।
सरकारको एकीकृत खानेपानी तथा ढल निकास आयोजनाले पछिल्लो समय देशभरका सहरी क्षेत्रहरूमा नगरपालिकाहरूको साझेदारीमा ढल निकाससँगै एकीकृत खानेपानी आयोजना सञ्चालन गर्ने नीति कार्यान्वयनमा ल्याएको छ। आयोजनाको प्राथमिकतामा परेका सहरहरूमा धरान पनि छ । धरानमा गाभिएको विष्णुपादुका र पाँचकन्या सम्म धरानको खानेपानीको पहुँच छैन। त्यहाँ सम्म पानीको पहुँचका लागि करिब ६ अर्बको योजना प्रस्तावित छ । विज्ञहरूले त्यस्तो आयोजनाका लागि सप्तकोसी नदीबाट पनि पानी ल्याउन सकिने प्रतिवेदन दिएका छन् । 
खानेपानीको मुद्दा उठाएर मात्र हुन्न । त्यसको समाधानका लागि कार्य योजना निर्णय तह सम्म पहुँच र कार्यान्वयन गराउने क्षमताको कुरा पनि आउँछ । धरानमा अहिले सम्मका चुनावहरूमा खानेपानीको समस्या समाधान गर्ने सवाललाई प्रमुखता दिँदै आएको थियो । तर परिणाम र परिमाण सबैको सामुन्ने छ । तसर्थ सबैले उठाउँदै आएको यो मुद्दामा अब उम्मेदवारहरूले प्रस्ट योजना, कार्यान्वयनको मार्गचित्र नगरवासीमा प्रस्तुत गर्न आवश्यक छ । मतदाताले पनि नकारात्मकता व्यक्त गर्न मात्र होइन । क्षमतावान्, प्रभावशाली नेतृत्व गर्न सक्न उम्मेदवारको पहिचान गर्न सक्नु पर्दछ । तब मात्र धरानमा खानेपानी समस्याको समाधानमा आशा गर्न सकिएला। 
हर्ष सुब्बा