इटहरी : स्थानीय तहको निर्वाचनको पराकम्पन सकिन नपाउँदै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले माहौल तताएको छ । निर्वाचनको मिति घोषणा सँगै शक्तिशाली नेताहरूलाई पराजित गर्नुपर्ने अभियान सुरु भएको छ । यसले पनि चुनावी माहौलमा रौनक थपेको छ । 
झापाको ५ त्यस मध्येको चर्चित निर्वाचन क्षेत्र हो । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रमा चुनावी सरगर्मी बढ्दै गएको छ । पछिल्लो समय ओली आफै उपस्थित भएर चुनावी माहौल बनाइरहेका छन् । 
२०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लगातार विजयी भएका ओली आफ्नो विजयलाई निरन्तरता दिने योजनामा छन् । उता २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा ओलीलाई पराजित गरेका विश्वदिप लिङ्देन पुनः इतिहास दोहोर्‍याउने चाहानामा छन् । २०७४ को निर्वाचन लगत्तै माओवादी केन्द्रबाट नेपाली काँग्रेस प्रवेश गरेका उनी झापाका चर्चित नेताको रूपमा उदाएका छन् । 
२०६४ को निर्वाचनमा लिङ्देनले ओलीलाई १ हजार १४० मतले पराजित गरेका थिए । लिङ्देनले १६ हजार ९९ मत ल्याउँदा ओलीले १४ हजार ९५९ मत पाएका थिए । अहिले पनि ओलीलाई पराजित गर्ने मनसायका साथ आफू अगाडी बढेको उनको तर्क छ । 
"पार्टीले टिकट दिएको खण्डमा ओली नामको अहङ्कारलाई म पराजित गर्छु । यहाँ ओलीले मात्र जित्छन् अरूले जित्दैनन् भन्ने भ्रम फैल्याउने काम भएको छ । पहिला राणा नभए देश चल्दैन भन्ने हल्ला थियो । पछि राजाको पक्षमा त्यस्तै भ्रम थियो । तर उनीहरू विना झनै राम्रो सँग देश चल्यो ।, उनले भने- संविधान अनुसार चल्न र आर्थिक विकाश गर्न पठाएका ओलीलाई पछि संविधान उल्लङ्घन गरेको विषयमा सत्ताबाट हटाउनु पर्‍यो, वहाँलाई अब पनि विजयी गराउनुपर्ने बाध्यता छैन । सङ्घीयता र लोकतन्त्र विरोधीलाई जिताउनु भनेको परिवर्तनको विरुद्धमा लाग्नु हो ।"
पहिलो संविधान सभामा विजयी हुनुलाई उनी राजनैतिक जीवनको कोश ढुङ्गाको रूपमा लिन्छन् । तत्कालीन नेकपा माओवादीबाट विजयी भएका उनी अहिले गठबन्धनको तर्फबाट उम्मेदवार हुने आकाङ्क्षा राख्छन् । 
ओली विरुद्ध चुनाव लड्न नेताहरू तयार नभइरहेको अवस्थामा उनले प्रतिस्पर्धा गर्ने आँट गरेका हुन् । ओली परिवर्तन विरोधी र स्वेच्छाचारी भएको हिसाबमा परिवर्तनको पक्षमा जनताले मत हाल्ने उनको विश्वास छ । 
biswadeep-2"म ओलीलाई पराजित गर्न सक्षम छु । नीति र विधि मान्नेहरू एक भएपछि हामी विजयी हुन्छौ । जनता त्यसको पक्षमा छन् ।, उनले भने, ओलीको अराजकताले देशलाई र झापाका नागरिकलाई न्याय गर्न सक्दैन ।"
काँग्रेस देशकै सबैभन्दा ठुलो लोकतान्त्रिक र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले गठबन्धनका उम्मेदवारले चुनाव जित्ने उनको तर्क छ । जनता कसैको पेवा नभएका कारण ओलीको लाल किल्ला भन्ने कुनै दम्भ नरहने उनले बताए । 
ओलीको गृहनगर दमक एमालेको लाल किल्लाको रूपमा चिनिन्छ । तर यस पटक राप्रपा सहितको गठबन्धनले मेयर उपमेयर सहित ३ वडामा गठबन्धन विजयी भयो । १० मध्ये ७ वडामा भने नेकपा एमाले विजयी भएको छ । 
दमक बाहेक कमल, गौरीगञ्ज र गौरादह गाउँपालिका ५ नम्बर क्षेत्रमा पर्छन् । कमल गाउँपालिकामा यसअघि गोला प्रथाबाट अध्यक्ष पाएको एमालेले यस पटक ७ मध्ये ४ वडा सहित उपाध्यक्षमा चित्त बुझायो । गठबन्धन ३ वडा सहित अध्यक्षमा विजयी भएको छ । गौरादहका ९ वडा मध्ये गठबन्धनले ३ वडा मात्र पाएको छ । एमालेले अध्यक्ष उपाध्यक्ष सहित बहुमत कार्यपालिकाको नेतृत्व गरिरहेको छ । गौरीगञ्जको अध्यक्ष सहित ४ वडामा काँग्रेस र उपाध्यक्ष सहित ३ वडामा एमाले विजयी भएको छ । यसरी हेर्दा अझै पनि एमालेको प्रभाव बलियो देखिन्छ । 
राप्रपा सहितको गठबन्धन भयो भने ओलीलाई समस्या पर्ने देखिन्छ । झापामा निर्णायक अवस्थामा रहेको राप्रपाको बलियो पकड देखाउने योजनामा छ । तर २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जस्तै एमाले र राप्रपा बिच तालमेल भए ओली सहज जितको अवस्थामा छन् ।