गएको मङ्सिर-४ मा भएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन सकिएको छ । प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको दुवैतर्फको मत परिणाम पनि आई सकेको अवस्था छ । तर, यस पटकको निर्वाचन परिणामले नेपालका ‘मै हुँ, धुवाँदार हुँ !’ भन्ने विश्लेषक, विचारक, राजनेता आदिलाई पनि माथ खुवाएको छ ।
रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर १, २ र ३ मा जित निकाल्यो भने कैलालीकै क्षेत्र नम्बर ४ मा राम्रै मत ल्याएर तेस्रो स्थान प्राप्त गर्‍यो । साथै बर्दिया क्षेत्र नम्बर २ मा पनि नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रेशम चौधरीका बुबा लालवीर चौधरीले स्वतन्त्र उम्मेदवार भएर जित निकालेकाले । त्यस्तै कञ्चनपुर क्षेत्र नम्बर १, बर्दिया क्षेत्र नम्बर १ र बाँके क्षेत्र नम्बर १ मा पनि राम्रै मत ल्याएर तेस्रो स्थान प्राप्त गर्‍यो, नागरिक उन्मुक्ति पार्टीले । यसरी राज्य पक्षका मान्छेहरूले नसोचेको मत परिणाम आयो ।सुविधा सम्पन्न सहर-बजारमा बसेर ‘चियाको कपमा तुफान !’ ल्याउनेहरूले सोचे विपरीत उनीहरूको ‘चिया गफ !’ विपरीत नयाँ नेपालमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको छ । जस्तै सिके राउत अध्यक्ष रहेको जनमत पार्टी, रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, पुरानै राजनीतिक दल भए तापनि सिट सङ्ख्या बढाउन नसकेको राप्रपा आदि पनि निर्णायक तहमा पुगेका छन् । तर, सिट सङ्ख्या अनुसार सशक्त हुन सक्नु, नसक्नु यी राजनैतिक दलका प्रमुखहरूका हातको कुरो भयो । 
यसरी राज्य पक्षको मिडिया र बुद्धिजीवी भनिनेहरूको एक पाखे भनाइअनुसार भन्ने हो भने, जातिवादी, क्षेत्रीयतावादी, विखण्डनवादी रेसिस्ट पार्टीहरू उदय हुनु वा भनौँ धेरथोर सिट जित्नुको अर्थ के हो ? यसले नेपालको राजनीतिक समस्या भनेको आर्य खस वा भनौँ खस आर्य समूहका मान्छेहरूले भने जस्तो वर्गीय मात्रै होइन है भन्ने नै देखाएको हो कि ? 
जातजाति, भाषाभाषी, हिन्दु बाहेकका धार्मिक समूहप्रति अनुदार वादी रुझान राख्ने, अल्पसङ्ख्यक, तेस्रो लिङ्गी, मजदुर, किसान आदिप्रति अनुदार वादी रुझान राख्ने कामरेडहरु, आम निर्वाचनले मुलुकका राजनीतिमा धेरै कुरोको सङ्केत गरेको छ ।  
किनभने, ‘हिजोसम्म वर्ग नै सबै कुरो हो, जातजाति, भाषाभाषी, धार्मिक समूह, अल्पसङ्ख्यक आदि केही पनि होइन !’ भन्ने राजनीतिक दल र तिनका नेताहरूले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा कम मत ल्याएका छन् । कमैले मात्रै जितेर आएका छन् । जस्तो केन्द्रको समानुपातिक मत निर्वाचन चिन्ह गिलास, हँसिया-तारा र गैँती आदिमा भन्दा कुखुरोको भालेमा किन धेरै खस्यो ? त्यस्तै निर्वाचन चिन्ह तीर, पाँच कुने तारा, करुवा आदिमा भन्दा घर, खुकुरी सहितको दाप, घरमा किन धेरै मत खस्यो ? नेपालको राजनीतिमा अनुदार वादी रुझान राख्ने महानुभावहरूले वेला छँदै छलफल र बहसको विषय बनाउने हो कि ? 
हुन पनि नामै तोकेर भन्नु पर्दा नेकपा (माले) नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा आदि र, ठुला र नेपालका मूलधारका भनिने नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेबाट फुटेको नयाँ दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) जसले समानुपातिकमा ‘२० लाख मत ल्याउँछ !’ भनिएको थियो । तर दुई लाख ९८ हजार चानचुन मात्रै ल्याएर राष्ट्रिय पार्टी पनि बन्न सकेन । 
यी दलहरूले ल्याएको मत परिणामले के सङ्केत गर्छ ? बरु भर्खरै गठन भएका नयाँ दलहरूले प्रत्यक्ष र समानुपातिक दुबैतर्फ राम्रै मत ल्याए । कतिपय पुराना तर, जातीयता र साम्प्रदायिक नारा लगाउने-उठाउने भनी मूलधारका मिडिया र राजनीतिक दलहरूले आरोप लगाउने गरिएको मङ्गोल नेसनल अर्गनाईजेन, राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय पार्टी आदिले पो अनपेक्षित रूपमा धेरै मत ल्याए, विगतका निर्वाचनहरूमा भन्दा ।
यस पटकको मत परिणाम हेर्दा केन्द्रको समानुपातिक मत भने एमालेले बढी ल्याएको छ । सङ्घीय संसद्को समानुपातिकमा एमाले एक्लैले अन्य राजनीतिक दलहरू भन्दा लगभग डेढ लाख बढी मत ल्यायो । समानुपातिकको सदर मत एक करोड पाँच लाखमा एमालेले २८ लाख १४ हजार कटाएको छ भने नेकाले २६ लाख ८८ हजार कटाएको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ६४ हजार कटाएको छ । उता केही महिनाअघि मात्रै गठन भएको रास्वापाले पनि ११ लाख २४ हजार समानुपातिक मत कटाएको छ । 
राजावादी र हिन्दु धर्मको पक्षधर भनिएको राप्रपाले पाँच लाख ८६ हजार मत कटाएको छ । त्यस्तै सुरुमा मधेस केन्द्रित भएर खुलेको तर, अनेकौँ टुटफुटबाट गुज्रँदै आएको र हाल जनता समाजवादी पार्टीले चार लाख २० हजार मत कटाएको छ । अर्को मधेस केन्द्रित दल भनिएको लोकतान्त्रिक समाजवादी पार्टी भने यस पटक राष्ट्रिय दल नै बन्न सकेन । बरु काठमाण्डौमा बसेर ‘चिया गफ हाँक्नेहरूले खासै नपत्याएको सिके राउतको जनमत पार्टीले पो तीन लाख ९४ हजार समानुपातिक मत ल्याएर राष्ट्रिय पार्टी बन्यो । साथै सो पार्टीका अध्यक्ष सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराएर केन्द्रीय संसद्मा निर्वाचित भए । 
उता नेकपा (एस) ले चाहिँ प्रत्यक्षमा १० सिट जिते तापनि समानुपातिक मत भने दुई ९८ हजार चानचुन मत मात्रै ल्याउन सक्यो । जे होस्, यो पटकको संसद्मा चुनिएर आएका अधिकांश परम्परावादी राजनीतिक दलहरूले सत्ताको छिनाझमटीमा आफ्ना सांसदहरूलाई ह्विप लगाउने नै छन् । त्यसमाथि अधिकांश सांसदहरू ५० वर्षभन्दा माथि उमेरका रहेका छन् । 
अर्को विषय भनेको चाहिँ प्रत्यक्षमा सम्भव नभए तापनि समानुपातिकको बन्द सूचीको नाम सूची बनाउँदा अर्को संसद्को निर्वाचनदेखि समानुपातिक समावेशिताको कुरोलाई व्यवहारमै उतार्दै वि.सं. २०७८ को जनगणनाको तथ्याङ्क आउने सबै जातजाति, भाषाभाषी, धार्मिक समूह, आदिवासी जनजातिको सूचीमा नपरेको कुलुङ जातिका साथै सूचीमा रहेका तर कम जनसङ्ख्या भएका कुसुन्डा, राउटे, राजी, हायु आदि पनि चुनिएर आउने वा समानुपातिकमा जिताउने व्यवस्था गर्नैपर्ने देखिन्छ ।