धरान : स्थानिय सरकार धरान उपमहानगरपालिकाले गएको मङ्गलवार एकाएक सार्वजनिक सुनवाइ जस्तै छलफलको विषय बनाएपछि धरान बिच बजारबाट जाने कोसी राजमार्ग सडक विस्तार अहिले सर्वत्र बहसको विषय बनेको छ । त्यही दिन देखी सामाजिक सञ्जालमा भाइरल भएको सडकको बहस अहिले धरानमा हुने कार्यक्रमहरूमा चर्चाको विषय बन्न थालेको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको शुक्रवार आयोजित ३९ औँ साधारण सभाको उद्घाटन समारोहमा पनि सहभागीहरूको बढी चासो कोसी राजमार्गमै देखियो । मेयर हर्क साम्पाङले सडककै विषय अहिले उपमहानगरपालिकाको लागि निर्णयमा पुग्न कठिन विषय भएको बताए । उपमहानगरको छलफलमा पूर्व मेयर मनोज मेयाङबोले धरानमा राजमार्ग नै छैन भनेर यो विषयलाई थप अन्योल बनाएको उनको भनाई थियो ।

उनले भने ‘दुई पटक नगरपालिकाको नेतृत्व गरेका नेताले धरानमा राजमार्ग नै छैन भन्नु भएर सडक विस्तार गर्ने कुरा अन्यौल बनाउनु भएको छ ।’ कुनै बेला पूर्वी पहाडी जिल्लाको प्रवेशद्वारा रहेको धरान बजार हुँदै जाने राजमार्गको योजना थिएन भन्न नसकिने कुरा उल्लेख गर्दै बजार बिचबाट राजमार्ग विस्तार गर्ने कुरा अहिले छलफलकै विषयको रूपमा रहेको बताए । 

उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठले राजमार्ग नभएको भए धरान हुँदै धनकुटा सडक कसरी बन्यो भनी प्रश्न गर्दै तिनकुने देखी जिरो प्वाइन्ट सम्म राजमार्ग नहुने त्यहाँबाट तला र माथि राजमार्ग हुने जस्ता तर्कमा अलमलिन नहुने बताउँदै भने ‘कोसी राजमार्गको सडक विस्तार धरान बजार बिचबाट लैजाने बाहेक अर्को कुनै विकल्प छैन ।’

श्रेष्ठका अनुसार धरान बजारको सडक समेत कोसी राजमार्गको १०० फिट मापदण्ड २०३४ सालमै राजपत्रमा प्रकाशित भएको हो । तर धरान नगरपालिकाले मूल सडकलाई ५० फिट कायम गर्दा राजपत्रमा प्रकाशित मापदण्ड नै नहेरेको उनको भनाई छ । सडकको काम सुरु गर्न ठुलो समस्या नहुने ठाउँहरूमा काम सुरु गर्न स्थानिय सरकारले चाँडो पहल गर्न जरुरी भएको उनको भनाई छ । 

सङ्घका सभापति विजय श्रेष्ठले औद्योगिक पूर्वाधारका लागि सडकको विकाश आवश्यक रहेको बताउँदै सडक मात्र नभएर धरानमा औद्योगिक क्षेत्रको विस्तार पनि जरुरी भैसकेको बताउँदै भने ‘धरान औद्योगिक क्षेत्रलाई रेडियो नेपालको खाली रहेको जग्गामा पनि विस्तार गर्ने पहल उद्योग वाणिज्य सङ्घले गरिरहेको छ ।’ 

उनका अनुसार धरान औद्योगिक क्षेत्रमा थपिने नयाँ उद्योगहरूका लागि जग्गाको अभाव भएकाले रेडियो नेपालको खाली जग्गामा विस्तार गर्न उद्योग वाणिज्य आपूर्ति मन्त्रालय र सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाइ पहल सुरु गरिएको छ । यसको लागि प्रदेश सरकार र स्थानिय सरकारले पनि पहल गर्नुपर्नेमा उनले जोड दिए ।

धरान स्थित कृषि उपज बजारमा २०० करोड रुपैयाँ सम्मको कारोबार हुने गरेकाले धरानलाई व्यापारिक केन्द्र बनाउन कृषि बजारको आधुनिकीकरण गर्न जरुरी भएको बताए । सुनसरी मोरङ औद्योगिक कोरिडोरले मुलुकको उद्योग र आर्थिक गतिविधिमा महत्त्वपूर्ण योगदान गर्दै आएकोले यस क्षेत्रलाई छुट्टै आर्थिक क्षेत्र घोषणा गरी सरकारले आवश्यक नीति लागु गर्नुपर्नेमा जोड दिए ।

साधारण सभाको उद्घाटन जिल्ला विकास समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्ष तथा सुनसरी जिल्ला विकास समन्वय समितिका अध्यक्ष राजन मेहताले गरेका थिए । उनले मुलुकमा कुनै पनि कुराको बहस बढी हुने तर विकास नहुने बताउँदै भने ‘पचास वर्ष अघिको समस्या जे थियो अहिले पनि हामीले त्यही समस्यासँग सामना गरिरहेको छ ।’

पचास वर्ष अघि धरानमा आफूले डेरामा बसेर पढ्दा खानेपानीको ठुलो समस्या थियो भन्दै उनले घरवेटीले पानी धेरै चलाउन नदिँदा इनरुवा लगेर कपडा धुनु लैजानु पर्ने गरेको सम्झना सुनाए । भने ‘धरानले अहिले पनि पानीको त्यही समस्या भोग्नु परिरहेको छ । हजुरबाले मल, बिउ विजन नपाएको गुनासो गर्थे, अहिले नातिले पनि त्यही गुनासो दोहोर्‍याउनु परेको छ । 

उनले भने ‘देशमा ठुला परिवर्तन गर्न हामी सबै जुट्यौ व्यवस्था बदलियो तर सत्तामा पुग्ने देशका नेताहरूले हाम्रो अवस्था बदल्न सकेन, उनीहरू लोभी भएकैले यस्तो अवस्था विद्यमान रहेको हो ।’ उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले महासङ्घमा ठुला व्यापारी, बैंकरहरुको प्रभुत्व रहेकाले साना व्यापारीको हितमा काम नभएको बताए।

सभामा इनरुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र साह, त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइली, नेकपा एमालेका धरान नगर अध्यक्ष हर्कजंग एभेङले शुभकामना मन्तव्य प्रकट गरेका थिए । महासचिव महेन्द्र प्रधानले आर्थिक सहित महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।