• रश्मि प्रधान 

धरान : स्थानिय सरकारले स्पष्ट धारणा बनाउन नसक्दा कोसी राजर्मागको धरान बजार खण्ड विस्तार गर्ने काम कुरो अन्योलमा पुगेको छ । धरान उपमहानगरपालिकाले बोलाएको सडक विस्तार सम्बन्धी छलफलमा कार्यपालिकाले यसबारेमा गरेको कुनै निर्णय तथा धारणा प्रस्तुत भएन । मेयर हर्क साम्पाङले भने "म एक्लै वा कार्यपालिकाले निर्णय गरेर यो कुरामा अघि बढेर हुन्छ जस्तो लाग्दैन ।" त्यसैले सरोकारवालाहरूलाई छलफलका लागि बोलाएको उनले बताए ।

सैयौंका सङ्ख्यामा सहभागी सरोकारवालाहरूले भने सडक विस्तारले धरानको विकासमा सहयोग पुर्याउने धारणा राख्ने अगुवाहरूको चर्को विरोध गरे । उनीहरूलाई बोल्नै नदिने गरी विरोध मात्र भएन हात हालाहालको स्थिति उत्पन्न होला जस्तो भयो । उनीहरूले बजारको बिचबाट सडक लैजान नहुने बाइपास सडक निर्माण गरिनु पर्ने माग गरे । सडक विस्तारको विरोधमा भएको होहल्लाले छलफल औपचारिक रूपमा अघि बढ्न नसक्दा सरोकारवालाहरूको भेला कुनै निष्कर्ष बिना टुङ्गिएको छ ।

सडक विस्तारको विपक्षमा रहेकाहरूले २०१२ साल देखि बसोबास गरेकाहरूले ५० फिटको मापदण्ड अनुसार घर नक्सा पास गरेको, उपमहानगरपालिकाले राजस्व सङ्कलन गर्दै आएको उल्लेख गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । सडक विस्तारबाट सम्भावित पीडितहरू डा.सन्दीप श्रेष्ठ, राज विमल श्रेष्ठ, सरिन तामाङ, प्रभु श्रेष्ठ, सयोग श्रेष्ठ वडा १२ का सदस्य ब्रम्हज्ञ भट्टराईले सडक बजार बिचबाट होइन बाइपास गरेर लैजानुपर्ने माग गर्दै मेयर राईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।  

केही दिनअघि असार मसान्त सम्ममा सडक विस्तारको योजनाको काम सुरु नभए फर्किने भएकाले सत्ता साझेदार नेकपा एमाले, जनता समाजवादी, माओवादी सहित ४ राजनीतिक दलका स्थानिय नेतृत्व बिच यसबारे अनौपचारिक छलफल भएको थियो । सडक विस्तारको सहजीकरण स्थानिय सरकारले गर्ने भएकोले उपमहानगरपालिकालाई सुझाव दिन छलफल भएको नेपाली काँग्रेस नगर सभापति श्याम पोखरेलले बताए । आजको छलफल भने कार्यपालिकाको धारणा बिना बोलाइएको बुझिएको उनको भनाई छ ।

जनप्रतिनिधिको रवैया जनतालाई भिडाउने देखियो : मनोज मेन्याङबो

छलफलमा पूर्व मेयर मनोज मेन्याङबोले समस्याको समाधान गर्न उपमहानगरपालिकाका जनप्रतिनिधिले उचित पहल नगरेको आरोप लगाए । जनप्रतिनिधिको जनतालाई भिडाउने रवैया देखिएको बताउँदै सडक विस्तार गरिनु हुन्न भन्ने र सडक योजना अनुसार विस्तार गरिनु पर्छ भन्ने  दुवै रायसँग आफू असहमत भएको बताउँदै भने ‘अहिलेको दुई लेनको बाटोले धरानको विकास र उन्नति हुँदैन ।’

उनले पुर्खाले आर्जेको सम्पत्ति हो कसैको अधिकार छैन भनी सहमति गराएर उपमहानगरपालिका अघि बढ्न जरुरी भएको जानुपर्ने बताउँदै भने ‘ फुस्रे र जिरोपोईन्ट सम्म मात्र जाने बाटो ४ लेनको ५० फिटलाई तत्काल बढाएर ७२ फिटे बाटो लिएर जानुपर्छ ।’ होइन भने धरान आफै बाइपास हुने उनले बताए । मेन्याङबोले उपमहानगरपालिको धेरै पीडितलाई क्षतिपूर्तिको व्यवस्थाका लागि पहल गर्नुपर्नेमा जोड दिदैं राजनैतिक दल चुप लागेर नबसी नगरको विकासमा लाग्न जरुरी भएको बताए । 

जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बुले उपमहानगरपालिकाले धरानको विकासमा योगदान दिने राष्ट्रिय योजनाहरूको स्वामित्व लिएर नगरवासी बिच सहमति जुटाउनु पर्नेमा जोड दिँदै भने ‘यहाँ त उपमहानगरपालिले योजनाको स्वामित्व लिइरहेको देखिएन, उपमहानगरपालिकाको आधिकारिक धारणा के हो ? अहिले सम्म केही थाहा पाउन सकिएन ।’

यो स्थितिले धरानबाट धनकुटालाई ५ किलोमिटर नजिक ल्याउने लेउती सुरुङ मार्गको योजना कार्यान्वयन गर्ने विषय चिन्ताको विषय बन्ला भन्ने आशङ्का बढेको उनले बताए । उनले सरोकारवालाहरूको कुरामा छलफल गरी सुनवाइ नभई सडक नबन्ने स्पष्ट गर्दै सहमति गराउने जिम्मेवारी स्थानिय सरकार उपमहानगरपालिकाको भएको बताउँदै भने ‘सडक बन्नु पर्छ तर न्यूनतम क्षतिमा बन्नु पर्छ ।’

छलफलमा धरान बजारको विकासको लागि अहिलेको सडकलाई नै विस्तार गरेर लैजानु पर्ने र कति विस्तार गर्ने भन्ने कुरा छलफलले टुङ्ग्याउनु पर्ने धारणा धरान-८ का हेमनाथ घिमिरेले राखेका थिए । उनी बोल्दा बोल्दै माइक नै खोस्ने गरी सहभागीहरूले घेरेपछि नगर प्रहरीले सुरक्षा दिनु परेको थियो । धरान-१५ का पर्यटन व्यवसायी राम राईले बाटो ६ लेनको नै बनाउनु पर्ने भन्दै धरानको विकास गर्दा विनाश नहुने र पर्यटनको विकासमा सहजता प्रदान गर्ने बताए । 

छलफलमा सरोकारवालाहरू राज विमल श्रेष्ठ, संयोग श्रेष्ठ, लोकेन्द्र आचार्यले दुनियाँको कुनै पनि देशमा बजारको बिचबाट हाइवे नगएको उल्लेख गर्दे बिच बजारबाट हाइवे गएन भने बजार सुक्छ, विकास हुँदैन भन्नु हास्यास्पद भएको बताए । छलफल समापन गर्दै मेयर साम्पाङले कार्यपालिका बैठकबाट धारणा बनाएर आधिकारिक धारणा राख्ने अहिले नै यही हुन्छ यही गर्ने भनेर भन्न नसकिने बताए ।

कोसी राजमार्गको धरान बजार खण्ड तीनकुने देखि जिरोपोईन्ट सम्म बाटो विस्तारका लागि सडक डिभिजन कार्यालयले सहजीकरण गर्न उपमहानगरपालिकालाई २ पटक पत्राचार गरिसकेको छ । यो ताकेता मेयर हर्क साम्पाङ निर्वाचित भएपछिको हो । यसअघि मेयर तिलक राईको कार्यकालमा पनि सडक डिभिजनले ताकेता गरेको थियो । उनले बजार क्षेत्रमा सडकको मापदण्ड घटाएर निर्माण सुरु गर्न तत्कालीन प्रधानमन्त्री, विभागीय मन्त्रीहरू सम्म सर्वदलीय प्रतिनिधि मण्डल गएर पहल समेत गरेका थिए ।

सडक विभागको मापदण्ड अनुसार प्रस्तावित कोसी राजमार्गको लागि उपमहानगरपालिकाले १०० फिट खाली गरिदिन पत्राचार गर्दै आएको छ । उक्त मापदण्डमा संशोधन गरेर सडक ५० फिटको हुने गरी दुवै तर्फ पेटी, ढल निकासको व्यवस्था सहित ७० फिटको भए सम्भव हुनसक्ने प्रस्ताव गरिँदै आएको छ । हाल धरानको मुख्य बजारको सडक २६ फिट ढला, फुटपाथ सहित ५० फिटको छ ।