भौतिक पूर्वाधारको विकाशमा कुनै बेला धरान जनसहभागिता जुट्ने देशकै नमुना सहर बनेको थियो । धरानकै उदाहरण अपनाएर धेरै ठाउँमा जनसहभागिताको माध्यमबाट आधारभूत भौतिक विकाशका कामहरू अहिले पनि भइरहेका छन् । त्यसको उद्गमस्थल मानिएको धरानमा अहिले आएर भने जनसहभागिताको संस्कृति हराउँदै गएको हो कि भन्ने आशङ्का बढेको छ ।
धरानको बिच बजारबाट जाने कोसी राजमार्गको सडक फराकिलो बनाउने विषयमा मङ्गलवार भएको छलफलमा प्रकट भएका प्रतिक्रियाले त्यस्तो आशङ्का बढाएको छ । धरानका अन्य सडक फराकिलो बनाउने कुरामा यसअघि पनि यस्ता विवादहरू नभएका भने होइनन् । तथापि त्यस्ता विवाद असहमति अन्ततः यहाँको जनसहभागिताको संस्कृति अनुसार सहमतीय निकासमा टुङ्गिने गरेको सर्वविदितै छ ।
धरान बजार विस्तार विकासको अवस्था अहिले जुन रूपमा छ, त्यसमा यहाँ बनेका भित्री सम्पर्क सडकहरूको योगदान महत्त्वपूर्ण छ । ती सडकहरू त्यतिकै बनेका भने होइनन् । जीवनभर गोर्खा सैनिक सेवा रही कमाएका पुँजीले धरानमा बस्नका लागि घर बनाएका गोर्खाभूपुहरुले सुरु गरेको जनसहभागिताको संस्कृतिलाई बिर्सनु हुन्न । उनीहरूले आफ्नो घर जग्गा काटेर त्यस माथि सडक बनाउन लाग्ने लागत रकम दामासाहीले जुटाएर उक्त सडकहरू निर्माण गरेका हुन ।
जनसहभागिताको त्यो भावना र संस्कृतिको विकाश नभएको भए अहिले एउटै अर्बौ रुपैयाँ लाग्ने धरानका सडकहरू बन्ने थिएनन् । धरानको सहरी मोडल पनि अहिलेको जस्तो हुने थिएन । कस्तो हुने थियो होला भन्ने कल्पना अहिले नगरौँ । जनसहभागिताको यस्तो संस्कृतिलाई प्रोत्साहित गर्न तत्कालीन धरान नगरपालिकाको नीति र नेतृत्वले यसमा निर्णायक भूमिका खेलेको हो । यसका सुरुआतकर्ता तत्कालीन मेयर मनोजकुमार मेयाङबो थिए भन्न कन्जुस्याइँ गर्नु हुन्न ।
बढ्दो सहरीकरण सँगै धरान उपमहानगरको विस्तारमा जनसहभागिताको संस्कृति जारी छ । अहिले पनि सडक, ढलहरू स्थानिय उपभोक्ताहरूको थोरै भए पनि जनसहभागितामा बन्दैछन् । सहरी क्षेत्रको मुख्य भागहरूमा जनसहभागिताबाट सडकहरू बनिसकेपछि बजारको मुख्य भागको सडक विस्तार गर्ने बेलामा भने ठुलै विवाद आएको छ । सडक कति चौडा गर्ने ? न्यूनतम क्षतिमा सडक विस्तार गर्न मिल्छ मिल्छ मिल्दैन जस्ता प्राविधिक सवालमा बहस छलफल हुनु अस्वाभाविक होइन ।
तर सडक विस्तार गर्न नै आवश्यक छैन भन्ने कुरा पनि छलफलमा उठाएको पाइयो । राजमार्ग सहर बिचबाट लैजान नमिल्ने तर्कको आधारमा बाइपास सडक बनाउनु पर्ने कुरा गरियो । त्यसले सहरी विकाशको दृष्टिले पनि साँघुरो भैसकेको मुख्य बजारको सडक विस्तार गर्नुपर्ने आवश्यकतालाई ओझेलमा पार्न सक्छ । न्यूनतम क्षतिमा विस्तार गर्न सकिने कुरालाई विषयान्तर गर्न सक्छ । जनसहभागीतको परम्परालाई बजार क्षेत्रले पनि निरन्तरता दिनुपर्छ भन्ने भावना निरुत्साहित बनाउन सक्छ ।
नजिकको इतिहासमा धरानको उदाहरणबाट नेतृत्व र नीतिले बनाएको संस्कृतिले बुद्धिमत्तापूर्वक निरन्तरता पाएमा कुनै पनि ठाउँको भौतिक विकाश समयको गति सँगै अघि बढ्न सक्छ भन्ने देखाउँछ । नेतृत्व र नीति विश्रृंखलित भएमा संस्कृति भत्किन पनि सक्छ । त्यसले विनिर्माण गर्दैन भन्न सकिन्न । तर, त्यसको मूल्य स्थानीयवासीले चुकाउनु पर्छ । धरान उपमहानगरपालिका सहरको भविष्य बनाउने जनप्रतिनिधिमूलक जिम्मेदार निकाय हो । उपमहानगरपालिकाको नेतृत्व र नीति जनसहभागिताको संस्कृति प्रति गम्भीर हुने बेला आएको छ ।