धरान : पछिल्लो समय विद्यालयहरू बिच बढेको गुणस्तर र भौतिक सुविधाका कारण पुराना आधारभूत विद्यालयहरू सङ्कटमा परेका छन् । उच्च माविमा स्तर वृद्धि गरी भौतिक सुविधा बढाउन नसक्दा बिचका विद्यालय सङ्कटमा पर्दै जाने उदाहरण बनेको छ भकारी स्कुल भनेर चिनिने धरान-१६ गणेशमान चौक स्थित पञ्चायत आधारभूत विद्यालय ।    
उक्त विद्यालय धरानमा शैक्षिक जागरणको मध्यकाल तिर २०१४ सालमा स्थापना भएको हो । कक्षा १ देखी ८ सम्मको पठन पाठन हुने भकारी स्कुल २०३० सालमा जिल्ला शिक्षा कार्यालयमा दर्ता भएको हो । त्यसबेला हालको धरान वडा १६, वडा ११ वडा १० का बालबालिकाहरूका लागि पायक पर्ने स्कुलका रूपमा विद्यालय चलेको थियो । 
शिक्षक दरबन्दी र भौतिक रूपमा सम्पन्न भए पनि पछिल्लो समय माध्यमिक विद्यालयहरूमा बाला विकास र आधारभूत कक्षा सञ्चालनको अनिवार्यता भएपछि आधारभूत तह सञ्चालन गरिरहेको भकारी स्कुल सङ्कटमा परेको हो । निजी विद्यालयलाई खुकुलो नीति, शैक्षिक सुविधाहरूको प्रतिस्पर्धाका बिच उचित व्यवस्थापन गर्न नसक्दा पनि यो पुरानो स्कुल ओझेलमा परेको छ । प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईका अनुसार अहिले विद्यालयमा कुल ५० जना छात्र छात्रा छन् । सरकारी स्कुलले पनि यातायातको सुविधा दिन थालेपछि अभिभभावकहरु टाढाका विद्यालयमा छोरा छोरी पठाउन थालेकाले स्कुलमा विद्यार्थी सङ्ख्या घट्दै गएको उनले बताए ।
आफू स्कुलमा आउनु अघिको व्यवस्थापनले विद्यालयको भौतिक सम्पत्तिको उचित व्यवस्थापन नगरेका हुनाले विभिन्न ठाउँमा स्कुलको नाममा भएको सम्पत्ति जग्गा जमिन भोग चलन गर्न नपाएको प्रधानाध्यापक भट्टराईले बताए । उनका अनुसार विद्यालयको नाममा हाल स्कुल रहेको सहित धरानको विभिन्न ठाउँमा ७ बिघा भन्दा बढी जग्गा रहेको छ। 
उक्त जग्गाहरू भोग चलन गराइदिन आवश्यक प्रक्रिया अघि बढाइदिनु विद्यालयले धरान उपमहानगरपालिकालाई निवेदन दिएको छ । निवेदनमा उल्लेखित जग्गाको विवरण अनुसार धरान-१६ गणेशमान चौकको नाममा रहेको घोपा-२ कित्ता नम्बर १, धरान सप्तरङ्गी पार्क पूर्व उत्तर पर्ने जग्गाको क्षेत्रफल ६ बिघा १९ कट्ठा, साढे १५ धुर रहेको छ ।
घोपा-३ क कित्ता नम्बर २४० धरान-१९ घोपा क्याम्पको दक्षिण पूर्व खहरे पुल दक्षिण पर्ने जग्गाको क्षेत्रफल १ कट्ठा, ९ धुर रहेको छ । यस्तै धरान-११ को सोलिङ पश्चिम आत्मज्ञानको जमिन पूर्व कित्ता नम्बर १०० को क्षेत्रफल १ कट्ठा अढाई धुर रहेको छ । उक्त जग्गा विद्यालयले भोग चलन गर्न नपाएकोले त्यसको संरक्षण, सदुपयोग, भोग चलनका लागि स्कुलले उपमहानगरपालिकालाई आग्रह गरेको प्रधानाध्यापक भट्टराईले बताए ।
विद्यालयमा अहिले राहत कोटा सहित १२ जना दरबन्दीको स्थायी शिक्षकहरू छन् । शिक्षकको भन्दा विद्यालयलाई विद्यार्थीको कमी भएको बताउँदै प्रधानाध्यापक भट्टराईले भने ‘स्कुलको सम्पत्ति राम्रो व्यवस्थापन र संरक्षण गर्न विद्यालयमा यो स्कुललाई गाभ्ने काम भए सम्पत्ति र जनशक्तिको सदुपयोग हुने थियो ।’ स्कुल भवन नजिकै कुनै सामुदायिक मावि नभएकोले स्कुल गाभ्ने प्रक्रिया अघि बढाउन नसकिएको उनको भनाई छ । 
कुनै विद्यालयले दरबन्दी नपाउँदा निजी श्रोतबाट विद्यार्थीको चाप थेग्न परिरहेको बेला पञ्चायत आधारभूत विद्यालयमा भने एक शिक्षक बराबर ४ विद्यार्थीको पठन पाठन भइरहेको अवस्था देखिन्छ । स्कुललाई कक्षा कोठाहरूका लागि भवनको पनि कुनै समस्या देखिन्न । तथापि टाई, सुट लगाउने सरकारी माविहरूको आकर्षणले उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो छ । प्रधानाध्यापक भट्टराईले भनेकै जस्तो जनशक्ति, विद्यालयको सम्पत्तिको सदुपयोगका लागि पनि भकारी स्कुललाई माविमा गाभ्नु नै उपयुक्त देखिन्छ ।