धरान : प्रेस सेन्टर नेपाल सुनसरीले सङ्गठनको १९ औँ स्थापना दिवस धरानमा ६३ वर्ष अघि स्थापित पुरानो तर ओझेलमा परेको धरान-१६ स्थित भकारी स्कुल भनिने पञ्चायत आधारभूत विद्यालयका छात्र छात्राहरू सँग मनाएको छ । सञ्चार माध्यमको ध्यान नपुगेको विषयलाई उजागर गर्न सेन्टरले ओझेलमा परेका ठाउँहरूमा वार्षिकोत्सव मनाउँदै आएको जनाएको हो ।
भकारी स्कुलमा आइतबार आयोजित कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरेले भने ‘प्रेस सेन्टरले सङ्गठनको वार्षिकोत्सव सञ्चार माध्यमको ध्यान नपुगेको, ओझेलमा परेको महत्त्वपूर्ण स्थान समुदायका विषयहरूलाई उजागर गर्न स्थलगत रूपमा मनाउँदै आएको छ ।’ धरानको पुरानो भकारी स्कुल त्यस्तै ओझेलमा परेको विद्यालय भएको बताए।
वार्षिकोत्सवका अवसरमा विद्यालयका कक्षा १ देखी ३ का बालबालिकाहरूलाई सेन्टरले कापी र कलम वितरण गरेको हो । विद्यालयका सबै छात्र छात्रालाई खाजा खुवाएको थियो। कक्षा १ देखी ८ सम्मको पठनपाठन हुने विद्यालयमा कुल ५० विद्यार्थी छन् । उनीहरूलाई प्रमुख अतिथि अतिथिहरूले शैक्षिक सामाग्री वितरण गरेका थिए ।
उक्त अवसरमा नेकपा माओवादी केन्द्रका धरान नगर अध्यक्ष तथा धरान-१७ का वडाध्यक्ष मनोज भट्टराई, हर्ष सुब्बाले ओझेलमा परेको विद्यालयमा कार्यक्रम आयोजना गरेर सेन्टरले पत्रकारहरूलाई स्कुलको अवस्थाका बारेमा ध्यानाकर्षण गराएको बताए । प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले विद्यालय ओझेलमा परेको बारेमा बताएका थिए । कार्यक्रममा सेन्टरका केन्द्रीय सचिव राजन केडी प्रमुख अतिथि थिए । कार्यक्रमको सभापतित्व सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले गरेका थिए । उक्त विद्यालय धरानमा शैक्षिक जागरणको मध्यकाल तिर २०१४ सालमा स्थापना भएको हो ।
bhakari-school-bhakari