• सहदेव काफ्ले 
क्याम्पस भनेको फगत भवन मात्र होइन । पुस्तकालय वा विश्वविद्यालयले डिजाइन गरेको कोर्ष मात्र पनि होइन । उत्कृष्ट क्याम्पस हुनलाई उत्कृष्ट शैक्षिक वातावरण चाहिन्छ । उत्कृष्ट शैक्षिक माहौलले उपलब्ध हरेक श्रोतहरूलाई एक सूत्रमा जोड्छ । त्यससँगै मेहनती विद्यार्थीको उत्कृष्ट नतिजाको रूपमा प्रतिफल देखा पर्न थाल्दछ । उत्कृष्ट शैक्षिक माहौल बिना सर्वोत्कृष्ट नतिजा प्राप्त हुँदैन । आजको समयमा जनता क्याम्पसलाई उत्कृष्ट बनाउन समग्र रूपमा हेर्न जरुरी छ । 
जनता क्याम्पसमा आवश्यक पर्ने श्रोत छन् । जुन इटहरीमा अन्य निजी कलेजले धेरै मेहनत गरेर पनि पाउन सकेका छैनन् । त्यसैको फलस्वरूप जनता क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) मान्यता प्राप्त भएको छ । खेल मैदान छ । उत्कृष्ट अनुभवी शिक्षकहरू हुनहुन्छ । सुधार गर्नु पर्ने नै अवस्थामा भएपनी लाइबेरी र ल्याब छ । 
अब हामीले बनाउनु पर्ने भनेको अध्ययन गर्ने वातावरण हो । माहौल हो । म त्यसका लागि प्रतिबद्ध छु । म र मेरो नेतृत्वको टिमले जनता क्याम्पसमा एउटा फरक खाले सृजनात्मक शैक्षिक बतावरणको निर्माण गर्नेछ । जनताको क्याम्पसमा अब वास्तविक रूपमा पढ्ने वातावरण बन्नेछ ।
हामीले भन्यौ कि उत्कृष्ट शैक्षिक संस्था बन्न सर्वप्रथम अध्ययन गर्ने वातावरण चाहिन्छ । तर कसरी बन्छ त शैक्षिक वातावरण ? के नगर्ने र के गने ? यस्ता प्रश्नले म आफैलाई झस्काउँछ । 
उत्कृष्ट अध्ययनको वातावरण बन्न सबैभन्दा पहिले नियमित कक्षा सञ्चालन हुनु अपरिहार्य छ । विगतमा हामीले नजानेर केही गल्ती गर्‍यौँ होला । तर हामी सच्चिएको पनि लामो समय भइसक्यो । अब रचनात्मक प्रतिस्पर्धाको समय हो । अहिले पनि केही साथीहरू अनेकौँ कारण देखाइ क्याम्पसमा ताला लगाएर पठनपाठन ठप्प पार्दै हुनुहुन्छ । विद्यार्थीको आधारभूत अधिकार खोस्न लाग्नु भएको छ । आन्दोलन र विरोधका पुराना शैलीलाई परिवर्तन गर्नुपर्थ्यो । मुद्दा जायज भए पनि शैली सही भएन । 
अबको समय ताला लगाउने होइन, ताला खोल्ने हो । विचार, चेतना, सृजनशीलता र ज्ञानको ताला । विज्ञान र अन्वेषणको ताला खोल्ने बेला हो यो । 
विद्यार्थीको पढ्न पाउने आधारभूत हकको हनन हुन नदिनेमा म विश्वास दिलाउन चाहन्छु । नियमित कक्षा सञ्चालन जस्तो अधारभुत अधिकारबाट कोही पनि कहिले पनि वञ्चित हुन पर्दैन । क्याम्पसको गेटमा आएर झुन्डिएको ताला हेरेर कोही पनि विद्यार्थी फर्किनु पर्दैन । 
उत्कृष्ट शैक्षिक वातावरणका लागि अर्को अत्यावश्यक पक्ष उत्कृष्ट पुस्तकालय हो । उत्कृष्ट पुस्तकालय कुनै पनि क्याम्पसको बिउ हो । जति गुणस्तरीय बीउ उत्तिनै गुणस्तरीय फल । उच्च  शिक्षा अध्ययनका क्रममा धेरै पुस्तकहरू आवश्यक पर्दछन् । एउटै लेखक र प्रकाशकको पुस्तकले मात्र हुँदैन । सन्दर्भ सामग्रीको लागि अनेकौँ लेखकको पुस्तक छिचोल्नुपर्ने हुन सक्छ । सम्पूर्ण पुस्तक विद्यार्थी आफैले किन्न सक्ने अवस्था पनि हुँदैन । हाम्रो जनता क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले त्यो धान्न सक्दैनन् । त्यसका लागि क्याम्पसले आफ्नो दायित्व लिनु पर्दछ । 
त्यसैसरि हरेक विद्यार्थीलाई एक सेट पुस्तक उपलब्ध हुनु पर्दछ । एक विद्यार्थीले आफ्नो इच्छा, आवश्यकता र आफ्नो समय तालिका अनुरूप कुनैपनी विषयका पुस्तक अध्ययन गर्न पाउनु पर्दछ । यो त्यति धेरै जटिल कुरा हुँदै होइन । बस् नेतृत्व र इच्छाशक्तिको कमी मात्र हो । त्यही नेतृत्वको अभावको कारण विद्यार्थीले अनेकौँ अवसर गुमाउनु परेको छ । कुनै पनि विद्यार्थीले लाइब्रेरीमा पुस्तक नभएको कारण कमजोर अङ्क आएको गुनासो अब गर्नुपर्ने छैन ।
समयानुकूल जीवन र जगत् बुझ्नका लागि पाठ्यक्रम बाहेकका साहित्यको अध्ययन जरुरी छ । तसर्थ हरेक पुस्तकालयमा विभिन्न साहित्यिक पुस्तकको जोहो मेरै नेतृत्वमा हुन्छ।
प्रविधिलाई साथी बनाउँछौ
अहिलेको समयमा प्रविधिको बारेमा चर्चा गरिराख्नु पर्दैन । यो किन अत्यावश्यक छ भन्ने कुरा लगभग सबै तह तप्का र वर्गका मानिसलाई थाह छ। प्रविधिको कारणले संसार मुठ्ठीमा छ । संसार भरिका सूचना मुट्ठीमा छन् । कुनै बेला दाइ दिदीहरूले भनेको सम्झन्छु । एसएलसीको नतिजा हेर्न समेत हप्तौँ गोरखापत्र पर्खिनु पर्थ्यो । अहिले त्यो अवस्था छैन । नतिजा प्रकाशित भएको केही मिनेट मै ताप्लेजुङ देखि डडेलधुराका जनताले समेत सहज तरिकाले नतिजा हेर्न मिल्छ । प्रविधि यो युगको शक्ति हो भन्ने कुरामा दुई मत छैन ।
प्रविधिको प्रयोगमा अब जनता क्याम्पस अगाडि बढ्नु पर्दछ । विद्यार्थीको हाजिरी सिस्टम, अत्याधुनिक कम्प्युटर ल्याब, इ-लाइब्रेरी र फ्री वाईफाई सम्मका मुद्दामा जनता क्याम्पस अगि हुनेछ । हिजो पनि हामीले यी मुद्दाहरू नउठाएका हैनौ । तर नेतृत्व हाम्रो नभएको कारण पुरा गर्न सकेनौ । 
हिंसा रहित क्याम्पस
अन्य केही कुरा छन् । नभनिएका,नसुनिएका । हरेक क्याम्पसमा हुने तर सधैँ गुपचुप हुने । त्यो हो महिला हिंसा । हामी उत्कृष्ट शैक्षिक वातावरणको कुरा गर्दैछौ । कलेजको आधी भन्दा बढी हिस्साले आफूलाई सुरक्षित महसुस नै गर्दैन भने के हामीले भनेको शैक्षिक माहौल बन्न सम्भव छ ? अवश्य नै छैन । शैक्षिक संस्था मात्र होइन देशका सम्पूर्ण क्षेत्रमा महिलाले सुरक्षित महसुस गर्नु पर्छ । हिजो हामीले नै निःशुल्क सेनेटरी प्याडको माग राख्यौ । जुन अहिले पुरा पनि भयो । अब त्यसलाई डिस्पोज गर्ने मेसिने चाडै जडान गराउन हामी लागिरहेका छौ । 
हाम्रो जनता क्याम्पसमा धेरै दिदी बहिनीहरू आफ्नो थलो छोडेर पढ्न कै लागि इटहरी आएर बस्नु भएको छ । अब उहाँ हरूको सुरक्षा मात्र हैन नेतृत्वको पक्षमा हामी छौ । दिदिबैनीको नेतृत्वले अब क्याम्पस सुरक्षित बन्नुपर्छ । वर्तमान क्याम्पस प्रमुखको कुशल नेतृत्व त्यसको बलियो उदाहरण हो । 
विशेष कार्यक्रम 
विद्यार्थी भर्ना वा परीक्षा फारम भर्दा लाइन बस्ने झन्झटबाट मुक्ति दिलाउन प्रविधिको प्रभावकारी प्रयोग मेरो प्राथमिकताको विषय हो । अहिलेको प्रविधिको जमानामा सुस्त शैलीले हामीलाई दुःख मात्र दिएको छ । अब सहजतामा शैक्षिक वातावरण बन्दै जानेछ । 
दुर्गम पहाडी जिल्ला बाट आएका गरिब विद्यार्थीको पिडा मैले महसुस गरेको छु । एक सयले एक साता बाच्नुपर्ने कोठा भाडा तिर्न नसकेर भाग्नुपर्ने पिडा मेले झलझली देखेको छु । अब त्यो समस्या धेरै हदमा समाधान हुनेवाला छ । ‘पढ्दै-कमाउँदै’ कार्यक्रम अन्तरगत गरिब विद्यार्थीको पहिचान गरी रुचि अनुसारको निःशुल्क सीपको व्यवस्था गरिने र सोही अनुसार रोजगारीको लागि पहल गर्ने मेरो टिमको प्रतिबद्धता छ । म यसमा दृढ संकल्पीत भएर लाग्छु । 
मध्यम वर्गका विद्यार्थीको लागि ‘उद्यमी सँग विद्यार्थी’ कार्यक्रम सञ्चालन गर्ने मेरो टिमको योजना छ । विद्यार्थीमा उद्यमशीलताको विकाश गरी विदेश घुम्न मात्र जाने वातावरणको सृजना गराउने सङ्कल्पको साथ म अगाडी बढेको छु । त्यससँगै वरिष्ठ साहित्यकार, कलाकार, अर्थशास्त्री, र विज्ञलाई गेष्ट लेक्चरको रूपमा उपस्थिति गराउने मेरो सङ्कल्प छ ।