धरान : उनले एक भेटमा भनेका थिए ‘नेपाली समाजमा धेरै कथाहरू छन्, त्यसैलाई टिपेर फिल्म बनाए नेपाली सिनेमाले हिन्दीको नक्कलै गर्नु पर्दैन ।’ तर नेपाली चलचित्र उद्योगले अहिले सम्म त्यो ज्ञान र अनुभवको अनुसरण गरेको पाइन्न ।

‘परालको आगो’ चालीसको दशकमा चर्चित नेपाली फिल्मका लेखक/निर्देशक अब रहेनन् । ७६ वर्षीय सुब्बाको बिहीबार भारतको सिलगुडी स्थित प्यारामाउन्ट अस्पतालमा असामयिक निधन भएको छ । उनको अन्तिम संस्कार आज शुक्रवार दार्जिलिङमा हुँदैछ ।

दार्जिलिङका सुब्बा सन् १९७० को दशकमा नाटक गर्दा गर्दै फिल्मी दुनियाँको नजिक पुगेका थिए । तथापि उनी स्टरडमको चकाचौधमा दौडिएनन् । उनले परालको आगो दार्जिलिङमै बनाएका थिए । कथाकार गुरुप्रसाद मैनालीको कथामा बनेको ‘परालेको आगो’ नेपाली चलचित्रको इतिहासमा एउटा माइल खुट्टीको रूपमा स्थापित छ ।

पछिल्लो समय नेपाल आउने जाने गरेका प्रताप सुब्बाले थुप्रै डकुमेन्ट्री, नेपाली टेलिफिल्म, चलचित्र लेखन र निर्देशन गरे । उनले बनाएका टेलिफिल्महरु नेपाल टेलिभिजनमा प्रशारण हुन्थ्यो । ‘मसाल’ ‘बाँच्न चाहाने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ उनको निर्देशनमा बनेको उल्लेखनीय नेपाली चलचित्र हुन् ।

नेपालमा रहँदा उनले भिडियो फिल्महरूको पनि निर्देशन गरे । ‘बन्द पर्दाभित्र’ ‘दिदी’ ‘चट्याङ’ ‘भीष्म प्रतिज्ञा’ उनको उल्लेखनीय भिडियो फिल्महरू हुन् । पछिल्लो समय दार्जिलिङ फर्केपछि प्रताप सुब्बा निर्देशन छोडेर फिल्म प्रशिक्षणमा लागेका थिए । उनले डायमन्ड इन्स्टिच्युट, सिने युनिभर्स इन्स्टिच्युट सञ्चालन गर्दै आएका थिए ।

प्रकाश कोविदको उपन्यासमा प्रताप सुब्बाले बनाएको ‘देउता’ उनको अन्तिम टेलिसिरिल मानिन्छ । कोरोना कालको बेला युट्युबमा सार्वजनिक थियो । उनी सिनेमा, टेलिफिल्म बनाउन माया पिरतीकै भए पनि मौलिक नेपाली कथाको खोजी गर्दथे । नेपाली समाज, संस्कृति र परम्पराहरू उनको रोजाइमा हुन्थ्यो ।

फिल्म बनाउनकै लागि फिल्म बनाउने काममा उनको रुचि थिएन । उनले हिन्दी चलचित्रमा अभिनय गरे पनि नेपाली फिल्म निर्देशन गर्ने कुरामा नेपाली मौलिकता बाहेकका कथासँग सम्झौता गरेनन् । उनको लागि दार्जिलिङ र नेपाल भौगोलिक रूपमा भिन्न मुलुक भए पनि सामाजिक अर्थमा एकै परिवार थियो ।