इटहरी : इटहरी गोल्डकपको माहौल तातिएको छ । आगन्तुक खेलाडी र दर्शकले इटहरीको स्टेडियमलाई रोचक बनाएका छन् । व्यस्त समयमा फुर्सद निकालेर फुटबल हर्न जानेहरू त्यत्तिकै छन् । तर क्याफे डी स्टेडियमका मालिकलाई भने बेफुर्सद बनाएको छ । स्टेडियम छिर्ने बाटोमै रहेको चिया पसलका सञ्चालक सन्तोष राईलाई  भ्याईनभ्याई छ । हाँसेरै स्वागत र बिदा गर्ने उनले ग्राहकलाई साथी बनाएका छन् । साथीहरू सन्तोषको खुसीका श्रोत हुन् ।
शुस्मा गोदाबारी कलेज सँगै रहेको उनको पसल बिहानै देखी भिड हुन्छ । दिउँसो खेलका दर्शक र उनका नियमित ग्राहकले उनलाई व्यस्त बनाउँछन् । हरियो पसलका हँसिला पसले सन्तोषले ४ वर्ष देखी यही व्यस्तता भोगिरहेका छन् ।
टुटे फुटेका कवाडी सामानमा हरियालीको त्राण भर्ने काम गरेका छन् उनले । हरियो बिरुवाका बिचमा बसेर माटोको कपमा चिया पिउने आनन्दको अनुभूति दिलाएका छन् । पुराना हेलमेट, थोत्रे साइकल र चुहिने बाल्टीलाई गमला बनाएर सजाएका छन् ।
काम नलाग्ने भनेर फ्याकेको टायरलाई अत्यावश्यक बनाउने उनको काइदा झनै गजबको छ । बिग्रिएको टेलिभिजनलाई टेबल बनाएका छन् । लोडसेडिङमा क्यान्डेलको सहायताले झनै मौलिकता दिन्छन् उनी । भित्तामा लेखिएका कलात्मक र प्रेरणादायी भनाइले ग्राहकाको ध्यान तानिहाल्छ ।
इटहरी-४ का सन्तोष राईले चिया बेच्न थालेको ४ वर्ष पुरा भयो । सानैदेखि होटेल सम्बन्धी रुचिभएको बताएका उनले १२ वर्ष अगाडी नै फस्टफुड पसल सञ्चालन गरेका थिए । इटहरी नगरपालिका अगाडी सुरु गरेको पसल भाडा तिर्न नसकेर बन्द भएको सुनाउँछन् उनी ।
त्यसपछि विदेश जानुपर्ने मोह र बाध्यता एकै पटक परे सन्तोष । होटेलमै काम गर्ने भनेर तालीम लिन काठमाडौँ गए । ६ महिनाको तालीम पश्चात् युएईको दुबई जाने टुङ्गो लाग्यो । दुबई पुगे । होटेलमै भनेर गएका उनले सामान ओसारपसारको काम पाए । फर्किनु भन्दा काम गर्नु नै उपयुक्त ठानेर काममा लागे ।
२९ महिना सम्म दिनको १२ घण्टा काम गरेको अनुभव सुनाउँछन् सन्तोष । मासिक नेपाली रुपैयाँ ३१ हजारको हाराहारीमा कमाइ हुने उनले बताए । ‘ऋण तिर्नुपर्ने र कमाउनुपर्ने बाध्यताले उनलाई गाँजेको थियो । साथीभाइ रमाइलो गरौँ भन्थे । घुम्न जाऔँ । बियर खानुपर्छ भनेर उक्साउँथे । तर मलाई त्यता मन गएन । जसरी पनि ऋण तिर्नुपर्ने र कमाउनै पर्छ भन्ने थियो ।,’ उनले भने, ‘सँगैका साथीहरू अस्ट्रेलिया, अमेरिका गएका थिए । मलाई लाज लाग्यो । एउटा फोटो पनि फेसबुकमा हालिन ।’
विदेशको कमाइले नेपाल नै केही गरौँ भन्ने सोचमा लागे सन्तोष । थोरै लगानीमा क्याफे खोल्ने योजनामा लागे उनी । मेसिन राखेर कफी बेच्ने इच्छा पैसाको कारण अधुरो भयो । थोरै बजेटमा नयाँ खालको क्याफे खोल्ने आइडिया सोच्न थाले । युट्युबमा पनि त्यही कुरा खोज्न थाले । त्यसपछि चिया पसल नै खोल्ने निर्णयमा पुगेको बताउँछन् उनी । अहिले क्याफे डी स्टेडियममा २ जनालाई रोजगारी दिएका छन् ।
सुरुमा दुई लाख लगानी गरेर त्यसैको कमाइले व्यवसाय बढाउँदै छन् । दैनिक २५ सय बचत गर्ने उनले ७ हजारको औसत विक्री हुने सुनाए । उनले भने, ‘विना तनाव घर छेवैमा बसेर आफूलाई पुग्दो कमाउन सकिने रैछ । विदेश जाने चक्करमा दुख पाइयो । तर धेरै कुरा सिकेर आइयो ।’
Cafe-D-studiam1