इटहरी : ‘हरेक विपत्ति सँगै अवसर आउँछ’ भनेझैँ २०७२ सालको भूकम्प र नाकाबन्दी पछि इटहरीले नयाँ अवसर पायो । त्यसपछि नै इटहरीले क्याफेको स्वाद चाख्ने मौका पायो । त्यतीमात्र हैन पुर्वमा हस्पिटालीटी बिजनेशनको नेतृत्व गर्ने अवसर समेत मिल्यो ।

जसको सूत्रधार बने पृथ्वी पराजुली । इटहरीमा पहिलो पटक अपस्टेयर्स क्याफे सफलता पछि इटहरीमा कफी र क्याफेको ट्रेन्ड बढ्दै गएको छ  । सन् २००४ मा अष्ट्रेलीया पुगेका पराजुलीले हस्पीटालीटी म्यानेजमेन्ट सिकाउने र पढाउने काम गरे । सिक्ने भोक बढ्दै गएपछि बरिस्ता (कफी बनाउने) तिर उनको ध्यान गयो । बरिस्ताको सम्मान बढी हुने भएकोले त्यसमा पनि सिपालु भए उनी । १२ वर्षको अष्ट्रेलीया बसाइँपछि नेपालमा फर्किएका उनी पूर्वमै केही गर्ने सोचमा थिए । मासिक ५ लाख बढी कमाई हुँदाहुँदै नेपाल फर्किएका उनी केही समय काठमाण्डौ मै अल्मलीए । 

२०७२ को भूकम्प र नाकाबन्दीले उनलाई काठमाडौँ टिक्न दिएन । उनको सोच र संयोग ठ्याक्कै मिल्यो । इटहरीमै क्याफे खोल्ने योजना बनाएर फर्किएका उनलाई काठमाण्डौले अलमल्याउन पाएन । अनि सुरु भयो अपस्टेयर्स क्याफे । इटहरीले पहिलो पटक क्याफे सँगै परिचय गर्ने मौका पायो । अपस्टेयर्स सँगै खुलेको स्किल क्याम्पसले हस्पीटालीटी कल्चरको सुरुवात गर्‍यो  ।

इटहरीमा भर्खरै चहलपहल बाक्लिन थालेको थियो । आगन्तुक पर्यटकले इटहरीलाई गन्तव्य बनाउन थालिसकेका थिए । २०७२ पछि इटहरीमा होटेल तथा रेस्टुरेन्टमा लगानी बढ्दै गइरहेको थियो । हस्पीटालीटी बारे इटहरी अपरीपक्क नै थियो ।

केही समयमै धरान, विराटनगर देखी बिर्तामोड सम्मका ग्राहकले भरिभराउ भयो अपस्टेयर्स । सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया आएकोले खुसी देखिए सञ्चालक पराजुली । ४ वर्ष अगाडीका दिन सम्झिएर पुलकित हुँदै उनी भन्छन्, ‘ल्यापटप लिएर कफी खाँदै काम गर्नेहरूको भिड नै हुन्थ्यो । धेरै जसो क्याफे कस्तो हुँदो रैछ भनेर हेर्न पनि आउँथे । कतिपय कफी पारखीहरू कफी खानकै लागी इटहरी आउने गर्थे ।’

तिनै ग्राहकहरू अहिले क्याफे सञ्चालक भएको उनी सुनाउँछन् । क्याफे कसरी चलाउने भनेर सिक्न आउनेहरूले अहिले व्यवस्थित रूपमा क्याफे चलाएको उनले बताए । आफूहरूले इटहरीबाट हस्पीटालीटी सहितको बिजनेस कस्तो हुन्छ भन्ने देखाउन खोजेको उनको भनाई छ ।

अपस्टेयर्सको एक बर्षपछी सुरु भयो कफीलय । इटहरी आइतबारे लाइनमा रहेको कफीलयले पनि छोटो समयमै आफ्ना छुट्टै ग्राहक बनायो । विदेशबाट आएका र मध्यम वर्गका युवाहरूको रोजाइमा पर्‍यो कफीलय । कफी खान नजान्नेलाई छोटो समयमै कफीको पारखी बनायो ।

त्यसपछि इटहरी कफी र क्याफेको 'हब' नै बन्यो । पछिल्लो २ वर्षमा मात्र ११ वटा नयाँ क्याफेहरू खुलेका छन् । क्याफे बिच प्रतिस्पर्धा भए पनि कफी कल्चर बढेकोले ग्राहकको सङ्ख्यामा कुनै कमी नभएको बताउँछन् मझेरी क्याफेका सञ्चालक अभास सिवाकोटी । क्याफेले कफी कल्चरमा मात्र हैन दक्ष जनशक्तिमा पनि बढवा दिइरहेका छन् । होटेल म्यानेजमेन्ट अध्ययन गरेका र नगरेका दुवैथरी युवाहरू दक्ष हुन थालेका छन् । जसलेगर्दा हस्पीटालीटी क्षेत्रमा नयाँ अभ्यास सुरु भएको सिवाकोटीको बुझाई छ ।

अपस्टेयर्स, कफीलय, मझेरी सँगै ग्राउन्डस् , पूर्वाञ्चल क्याफे, डी सनसाइन, बिजी, पंक एन्ड मंक, ७२ क्याफे, प्रिमीयर, फलैँचा, चकलेट, पाहुना क्याफे इटहरीमा चलेका क्याफेहरू हुन् । जसले गर्दा इटहरी क्याफेको हबको रूपमा विकास हुँदै गएको छ ।

Cafe-Trend-Itahari-2

के हो क्याफे ?

कफीमा पाइने क्याफीन बाट क्याफेको नामकरण भएको हो । अनौपचारिकताका बिच कफी खाने स्थानकै क्याफे हो । सोह्रौँ शताब्दीमा टर्कीबाट सुरु भएको कफी खाने परम्परा पछि युरोप र अमेरिकामा चर्चित भयो । बिस्तारै क्याफे बौद्धिक बहस गर्ने क्षेत्रको रूपमा परिचित हुन थाल्यो ।

रचनात्मक चित्रकला र कलात्मक अकृतीले भरिएका क्याफेहरू खुल्ने क्रम बढ्यो । जसले गर्दा रचनात्मक क्षमता भएका जमातको भिड क्याफेतर्फ मोडियो । क्याफीनले अल्छीपना र निन्द्रा हटाउने भएकोले कफी पारखीहरू बढ्दै गए । १७ औ शताब्दीमा युरोपका सहरहरूमा बुद्धिजीवी, कवि, कलाकार लगायत रचनात्मक क्षेत्रका व्यक्तिहरू भेला हुने ठाउँको रूपमा क्याफे देखियो । १९ औँ शताब्दीमा अमेरिकामा चर्चित भएको क्याफे कल्चर २१ औँ शताब्दीको सुरुवात सँगै नेपालमा बढ्दो क्रममा छ ।

काठमाडौँ र पोखरा केन्द्रित देखिएको क्याफे कल्चर पछिल्लो समय पूर्वी सहरहरूमा प्रचलित छ । पूर्वको केन्द्र मानिएको इटहरीले त्यसको नेतृत्व गरिरहेको छ । अपस्टेयर्स देखी सुरु भएको क्याफे अहिले इटहरीको प्रचलित व्यवसाय हो । पछिल्लो ३ वर्षमा मात्र  १३ वटा नयाँ क्याफे इटहरीमा सञ्चालित छन् ।

कुल ५ करोड लगानी भएका क्याफेहरूले १ सय २० बढी युवालाई रोजगारी दिइरहेका छन् । त्यससँगै दक्ष जनशक्तिले रोजगारी पाउने अवस्था सृजना भएको छ । सिप नभएका युवाहरूले पनि सिप सिक्ने र आत्मनिर्भर बन्ने माध्यम बनेको छ ।

यस कारण बन्द हुन्छन् क्याफे 

२०७४ को फाल्गुनमा खुलेको नाइटी एमएल क्याफे एकबर्ष पनि पुरा हुन नपाउँदै बन्द भयो ।  रमेश सायनले सञ्चालन गरेको क्याफेले इटहरीमा आफूलाई स्थापित गर्न सकेन । इटहरीमा क्याफेको कल्चर विकास नभइरकेकाले बन्द गर्नुपरेको उनले बताए । इटहरीको पश्चिम लाइनमै केही महिना चलेर बन्द भयो एचएफसी क्याफे । काठमाण्डौको फ्रेन्चाइजको रूपमा इटहरीमा खोलिएको क्याफे इटहरीमा चल्न सकेन । सामान्य क्याफे भन्दा महँगो मेनुको कारण आफूहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको सञ्चालकको दाबी छ ।

बिपी चौकमा रहेको यसटु क्याफेले सरदर ४ महिना व्यापार गर्‍यो । सञ्चालकको निजी घरमा खुलेको भए पनि ग्राहक पाउन नसक्दा क्याफे बन्द गर्नु पर्ने अवस्थामा पुग्यो ।  मुख्यतः कलेजका विद्यार्थीको लागी लक्षित गरेको यसटुले इटहरीलाई आफ्नो पहिचान दिन सकेन ।

क्याफेको लागी पहिलो सर्त भनेकै हस्पीटालीटी हो । बन्द भएका क्याफेमा औपचारिकता बढी र हस्पीटालीटी कम देखियो । डेकोरेसन र परीकार पनि अर्को आकर्षणको केन्द्र हो । हस्पीटालीटी, परीकार, लोकेसन, मूल्य लगायत विषयले क्याफेको भविष्य निर्धारण गर्ने बताउँछन् सोसल क्याफेका सञ्चालक रञ्जन ओझा ।

Cafe-Trend-itahari-3

इटहरीका क्याफेको समस्या ‘पार्किङ र प्रशासन’

इटहरीमा खुलेका अधिकांश क्याफेको समान समस्या छ । इटहरीकै मुख्य समस्या मानिएको पार्किङको अभावले क्याफेमा पनि नराम्ररी प्रभावित पारेको छ । इटहरी मुख्य चौकमा रहेको अपस्टेयर्स देखी आइतबारे रहेको कफिलयले सम्म यो समस्या भोगिरहेका छन् ।

क्याफेमा जाने समूह बढे पनि पार्किङ अभावको कारण धेरै ग्राहक बाहिरबाटै फर्किने गरेको अनुभव सुनाउँछन् अपस्टेयर्सका सञ्चालक पृथ्वी पराजुली । इटहरी चौक आसपास पार्किङको सुविधा नहुँदा व्यापारमा बाधा पुगेको उनको बुझाई छ । उनको जस्तै समस्या सुनाउँछन् पूर्वाञ्चल क्याफेका सञ्चालक दामोदर बिडारी । ‘सडकमा पार्किङ गर्नुपर्ने अवस्था छ । अव्यवस्थित पार्किङले क्याफे मात्र हैन अन्य व्यवसायमा पनि समस्या निम्त्याएको छ । स्थानीय सरकारले पार्किङ व्यवस्थापनमा ध्यान दिए धेरै राम्रो हुने थियो ।,’ उनले भने, एक लाइन पार्किङ गरेर भए पनि व्यवस्थापन गर्न सकिन्छ । त्यसको लागी स्थानीय सरकारको ध्यान पुग्नुपर्‍यो ।’

पुर्वलाइनमा ६ तल्लाको स्मार्ट पार्किङ बनाउने बताएको उपमहानगरले अहिलेसम्म काम सुरु गर्न सकेको छैन । स्मार्ट पाकीङ बनेपनि पुर्वलाईन भन्दा बाहिरका क्याफेमा त्यसले कुनै फाइदा नपुग्ने बिडारीको भनाई छ ।

पार्किङ सँगै अर्को समस्या हो प्रशासन । साझको समयमा बढी चल्ने क्याफे बेलैमा बन्द गर्नु पर्ने बाध्यता छ । सुरक्षा चुनौती बढ्ने भन्दै साझको ९ बजे नै क्याफे बन्द गर्नुपर्ने बाध्यता भएको सुनाउँछन् मझेरी क्याफेका सञ्चालक अभास सिवाकोटी । साँझमै बन्द गर्नुपर्ने बाध्यताको कारण धेरै समस्या छ ।, उनले भने, अबेर सम्म पनि ग्राहक आउने जाने क्रम हुन्छ । तर प्रहरी प्रशासनले बेलैमा बन्द गर्न लगाउँछ । कतिपय अवस्थामा खाँदै गरेका ग्राहकलाई उठाउनुपर्छ ।’

व्यापारिक नगरीको रूपमा चिनिएको इटहरीले साझपर्न नपाई बन्द हुने अवस्थामा पुगेको छ । सुरक्षा चुनौतीको बहानामा रातीसम्म व्यापार हुन सकेको. छैन । 
उता इटहरी उपमहानगरपालिकाले रात्रिकालीन बजारको लागी भने लाखौँ खर्च गरिसकेको छ । रात्रिकालीन बजारको सम्भाव्यता अध्ययनको लागी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू भारत भ्रमण समेत गइसकेका छन् । तर आइतबारे लाइनमा सुरु गर्ने भनिएको बजार अहिले अलपत्र अवस्थामा छ । केही थान फलैँचा बनाउने बाहेक बाकी काम हुन सकेको छैन ।

आर्थिक वर्ष २०७५/७६ मा रात्रिकालीन बजारको लागी ४० लाख बजेट विनियोजन गरेको उपमहानगरले बजेट खर्च गर्न सकेन ।