इटहरी : क्याफे कल्चरमा इटहरी परीपक्क भइसकेको छैन । २०७२ को भुकम्प र नाकाबन्दी पछि मात्र इटहरीले क्याफेको अनुभव पाएको हो । तथापि छोटो समयमै धेरै क्याफे खुल्ने सहरको रूपमा देखापर्यो इटहरी । व्यवसायीक रूपमा खोलिएको “अपस्टेयर्स” इटहरीको पहिलो क्याफे हो ।

हस्पीटालीटी क्षेत्रमा पछाडि परेको इटहरीमा क्याफे सँगै खुलेका होटेल म्यानेजमेन्टको सिपमूलक कोर्षले राम्रो प्रगति गरेको पाइन्छ। त्यसबाटै उत्पादित जनशक्तिले हाल इटहरीको हस्पीटालीटीमा टेवा पुर्‍याइरहेको छ । क्याफे कल्चर स्थापीत हुने प्रक्रियामा रहेको बेला चिया बिक्रीको लागी पनि क्याफे सुरु भएको छ । सुन्दा र देख्दा पनि स्मार्ट लाग्ने भएकोले युवा पुस्ताको पहिलो रोजाइमा क्याफे पर्ने गरेका छन् । सामाजिक सञ्जालमार्फत यसको प्रचारले क्याफे प्रति थप आकर्षण बढाएको छ । 

क्याफे अपस्टेयर्स

क्याफे अपस्टेयर्स इटहरीको पहिलो क्याफे हो । ४ वर्ष अघि सुरु भएको क्याफे अनौपचारिक भेटघाटको केन्द्र हो। हस्पिटालिटीमा सुरुदेखि नै ध्यान दिएको क्याफेले छोटो समयमा आफ्ना नियमित ग्राहक बनाइसकेको छ । अस्ट्रेलियामा लामो समय हस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी अध्ययन गरेर आएका पृथ्वी पराजुली लगायतका युवाहरूको नयाँ सुरुवात हो अपस्टेयर्स । सञ्चालक पराजुलीका अनुसार पहिलो पटक भ्रमण गरेका ग्राहकै कारण अहिले सम्म व्यापार बढिरहेको छ ।

अनौपचारिक तर कलात्मक आकृतिमा ध्यान दिइएको यस क्याफेको हस्पीटालीटी मुख्य आकर्षण हो । भारतीय परीकार पाइने मुम्बई मसलाले थप आकर्षण बढाएको छ । सेमी फर्मल डेकोरेसन रहेको यस क्याफेले ग्राहकको गुनासोको सम्बोधन सबैभन्दा छिटो गर्ने गरेको छ । गुगल रिम्भुमा पनि क्याफेको लोकेसन र सर्भिस राम्रो भएको देखिन्छ । धेरैले परीकार र डेकोरेसनको धेरैले खुलेर प्रशंसा गरेका छन् । 

कफीलय
क्याफेमा आफूलाई विशेष रूपमा चिनाउन सफल क्याफे हो कफीलय । इटहरीको आइतबारे लाइनमा रहेको छ यो क्याफे अनौपचारिक देखिन्छ । जसले गर्दा युवा पुस्ताको रोजाइमा परेको छ । पुस्तक पढ्दै कफी पिउने पारखीको  कफीलय उपयुक्त गन्तव्य बन्ने गरेको छ । ३५ लाख लगानीमा सुरु भएको क्याफेले मासिक ३ लाखको कारोबार गर्छ ।

बिशेषगरी हस्पीटालीटी र प्रडक्टमा ध्यान दिएर आफूहरू अगाडी बढेको सञ्चालक न्युहु कोयु बताउँछन् । पहिला कफी खान आनाकानी गर्नेहरू पछिल्लो समय कफी पारखीको रूपमा ग्राहक बनेको उनको भनाइ छ । गुगल रेभ्युमा पनि अनौपचारिक डेकोरेशनको खुबै प्रशंसा भएको छ । चाँडो र मिठो सेवा दिने कुरालाई धेरैले राम्रो मानेका छन् ।

७२ क्याफे 
इटहरी बाट धरान रोडमा पर्छ ७२ क्याफे । बहतर लिम्बुले सञ्चालक रहेको क्याफेको नाम पनि बहतरनै छ । कार वास सँगै क्याफेको बिजनेस गरेर लिम्बुले इटहरीमा नौलो सुरुवात गरेका छन् । कार वास र क्याफेलाई चेन बिजनेसको रूपमा उनले अगाडी बढाएका छन् । घाम पानी दुवै मौसममा बाहिरी वातावरण हेर्दै कफी खानेको लागी उपयुक्त गन्तव्य हो ७२ क्याफे । सेमीफर्मल देखिने क्याफे राजमार्ग सँगै जोडिएको छ । गुगल रेभ्युमा क्याफेको लोकेसन, डेकोरेशन र सर्भिस राम्रो रहेको देखिएको छ ।

Cafe-Trend-Itahari-2

ग्राउन्डस
इटहरी चोकबाट पूर्व लाइन, सेन्ट्रल प्लाजामा पर्छ ग्राउन्डस् क्याफे । कफी अपस्टेयर्सकै फ्रेन्चाइज मानिएको ग्राउन्डसले  आफ्नो छुट्टै ब्रान्ड स्थापित गरिसकेको छ । २०७५ असोजबाट सुरु भएको उक्त क्याफेले अहिले सम्म डेकोरेशन परिवर्तन गर्न सकेको छैन । ३०लाख लगानीमा सुरु भएको उक्त क्याफेले हाल दैनिक २० देखि २५ हजार सम्मको कारोबार गर्छ ।

सञ्चालक पृथ्वी पराजुलीका अनुसार ५ जना बढीले नियमित रोजगारी पाइरहेका छन् । बजारको केन्द्रमै पर्ने भएकोले सामान्य देखी विशिष्ट ग्राहकहरूको गन्तब्य हो ग्राउण्डस् । पार्किङको राम्रो व्यवस्था भएकाले पनि ग्राउण्डस् धेरै भिडभाड हुने क्याफेमा पर्छ । गुगल रेम्भुले कफीको बिन्स धेरै राम्रो र स्वादिलो भएको पाइन्छ । इटहरीको लागी उपयुक्त लोकेसन भएको भन्दै धेरैले थ्री स्टार दिएका छन् । 

डी सनसाइन
लकडाउन पछी नै सुरु भएको क्याफे हो “डी सनसाईन” । ३० लाख बढी लगानीमा सुरु भएको क्याफे पनि आइतबारे लाइनमै अवस्थित छ । कफी तथा स्न्याक्समा ध्यान दिइएको क्याफे पुण रुपमा अनौपचारिक छ । ९ जनाको लगानीमा सुरु क्याफेमा हाल ६ जनाले रोजगारी पाइरहेका छन् । कहिलेकाहीँ परीकारमा बाहेक ग्राहकको कुनै गुनासो नआएको सञ्चालकको दाबी छ । रात्रिकालीन बजारको क्षेत्र भएकोले भविष्यमा ठुलो सम्भावना बोकेको क्याफेमा पर्छ डी सनसाईन । डी सनसाईनलाई धेरैले ४ स्टार दिएका छन् । यसको पनि लोकेसन र सर्भीस नै ग्राहकको रोजाइमा परेको छ। 

मझेरी
इटहरी चोकदेखि २ किमी उत्तर धरान लाइनमा रहेको छ मझेरी । आँपगाछी चोकमा २ वर्ष अघि सुरु भएको मझेरी क्याफेले आफ्नो ब्राण्ड बनाइसकेको छ । सुरुमा रेस्टुरेन्ट मात्र खोलिएको भए पनि पछि क्याफेको रूपमा विकास गरिएको हो । क्याफे सँगैको रेस्टुरेन्ट यसको मुख्य आकर्षण हो । ३ जनयुवाले सञ्चालन गरेको उक्त क्याफे यात्रुहरूको रोजाइमा पर्छ । हस्पीटालीटी सहित गुणस्तर यसको मुख्य विशेषता हो । गुगल रेभ्यु मार्फत धेरैले स्वादिष्ट भोजन र चाँडो सेवा दिने क्याफे भएको उल्लेख गरेका छन् ।

Cafe-Trend-itahari-3

मंक एण्ड पंक (च्याफे)
सङ्गीत चौकमा अवस्थित क्याफे हो मंक एण्ड पंक । लकडाउन पछि सुरु भएको क्याफेले छोटो समयमै राम्रो कारोबार सुरु गरेको छ । खुल्ला वातावरणमा घुलमिल हुन चाहनेको लागी उपयुक्त गन्तव्य बन्दै छ मंक एण्ड पंक । ३५ लाख भन्दा बढी लगानी भएको सञ्चालक खगेन्द्र मगरको दाबी छ ।

मुख्यतः युवा पुस्तालाई केन्द्रित गरिएको क्याफेमा स्मोक विथ कफीलाई प्राथमिकता दिइएको छ । स्मोकीङ गर्दै कफि पिउने पारखीको रोजाइमा पर्न सफल भएको मंक एण्ड पंक । कफी सँगै चिया पनि पाइने भएकोले यस क्याफेलाई च्याफेको नामले समेत चिनिन्छ । 

क्याफे डी स्टेडियम 
छोटो समयमा चिया पारखीको रोजाइमा पर्न सफल भएको छ क्याफे डी स्टेडियम । वैदेशिक रोजगारी बाट खारिएर इटहरी आएका सन्तोष राईले चियामा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । इटहरी रङ्गशाला सँगै डेढ वर्ष अगाडी खुलेको क्याफेले युवा पुस्तालाई आकर्षित गरेको छ ।

“परिश्रम गर्ने भनेकै देशमा हो, विदेश त हेर्न घुम्न मात्र जाने हो ।” र “केही मिठो बात गर, वाइफाई त घरमै छ ” भन्ने वाक्यम्सले धेरैको ध्यान खिचेको छ । माटोको कपमा चिया खाने र शान्त वातावरणमा भेटघाट गर्न चाहनेको लागी उपयुक्त गन्तव्य हो क्याफे डी स्टेडियम ।

पूर्वाञ्चल क्याफे 
लकडाउनकै दौरानमा सुरु भएको क्याफे आइतबारे लाइनमा अवस्थित छ । सञ्चालक दामोदर बिडारीका अनुसार समयको माग अनुसार क्याफे खोलिएको हो । युवा पुस्ताहरू कफी तर्फ आकर्षित भएको बुझेर क्याफे खोलिएको उनको भनाई छ । कफी पारखी बढेको कारण क्याफेको भविष्य राम्रो भएको उनको बुझाई छ । पूर्वाञ्चल आइसक्रिम पार्लर सँगै खुलेको क्याफे इटहरीको लोकप्रिय मध्ये एक हो । क्याफेमा विभिन्न खालका पार्टी मनाउनेको लागी भिडभाड हुने गरेको छ । बाहिर भ्रमणमा जाँदा देखेको कन्सेप्टलाई आफूले अपनाएको बिडारीले सुनाए । 

फलैँचा
इटहरीमै पहिलो पटक माटोको कपमा चिया दिने क्याफे हो फलैँचा । पुस्तक प्रेमीको लागि पुस्तक पढ्दै चिया पिउने पारखीको लागी उपयुक्त स्थान हो फलैँचा । युवा व्यवसायी दिव्यराज गुरुङले क्याफे सञ्चालनमा ल्याएका हुन् । फलैँचा पछिल्लो समय राजनैतिक जमघटको केन्द्रको रूपमा विकास हुँदै गएको छ । शान्त वातावरणमा चिया भेटघाटको लागी राम्रो केन्द्र हो फलैँचा ।

Cafe-falaicha

प्रिमीयर क्याफे 
प्रिमीयर होटेल स्कुल सँगै सञ्चालनमा रहेको प्रिमीयर क्याफे विराटनगर लाइनमा अवस्थित छ । होटेल म्यानेजमेन्टका विद्यार्थीको प्रयोगात्मक प्रयोजनको लागी खुलेको भए पनि पछिल्लो समय राम्रो बिजनेस गर्ने क्याफेमा पर्छ प्रिमीयर । सेमी फर्मल यो क्याफेले अरू भन्दा कम मूल्यको मेनु बनाएको प्रिमीयरले इटहरीमै सस्तो क्याफे प्रमाणित गर्न खोजी रहेको छ ।

आफ्नै विद्यार्थीले बनाएका उत्पादन बिक्री गर्ने मुख्य उद्देश्य रहेको क्याफेले चाडै आफ्ना निजी ग्राहक बनाएको बताउँछन् सञ्चालक सुनिल भुसाल। पछिल्लो समय इटहरीमा क्याफेको सङ्ख्या बढिरहेको तर कारोबारमा भने खासै सुधार नआएको उनको भनाई छ । लामो समय धैर्य गर्ने युवाहरूको लागी लाभदायक मानिने यो व्यवसाय ढिलो प्रतिफल दिने मध्येमा पर्ने उनको बुझाई छ ।  

बिजी क्याफे 
बिजी क्याफे टेलिकम लाइनमा छ। आफ्नो लिङ्क र विद्यार्थी लाई केन्द्रित गरेर खोलिएको क्याफेले बढी औपचारिकता देखाउन खोजेको छ । नामका क्याफे भने पनि बढी रेस्टुरेन्टको शैली अपनाइएको छ । पारिवारिक वातावरण दिन खोज्दा बढी औपचारिक भएको सञ्चालक भोलाकाजी बस्नेतको भनाई छ । ३० लाख बढी लगानी भएको क्याफेमा ५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने मासिक ५ लाख सम्म कारोबार हुने गर्छ।