धरान : उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र राजनीतिक दलहरूबाट निर्वाचित वडा अध्यक्षहरू बिच कार्यपालिका बैठक स्थगनको विवाद चुलिएको छ । मेयर साम्पाङले पत्रकार सम्मेलनमा लिखित वक्तव्य नै जारी गरेर वडा अध्यक्षहरूलाई ‘असक्षम’ भन्दै राजीनामा समेत मागेका छन् । लगत्तै वडा अध्यक्षहरूले पनि मेयर साम्पाङलाई राजीनामा दिएर फेरी चुनाव जित्न चुनौती दिएका छन् ।
मेयर बनाम वडाध्यक्षहरूको विवाद राजीनामा माग्ने अवस्था सम्म आइपुग्नु भनेको प्रतिष्ठाको विषय बन्ने सङ्केत हो । यस अघि पनि वडाध्यक्षहरूले बहिष्कार गर्दा कार्यपालिका बैठक स्थगित भएको थियो । त्यस बेलाको विवाद कसरी मिल्यो त्यो थाहा भएन । तर त्यही बाटो अपनाएको भए यसपालि पनि विवादले सहज निकास पाउँथ्यो । त्यो बाटोमा मेयर साम्पाङ जान नचाहेको हो कि वडाध्यक्षहरू धरानवासीका लागि चासोको विषय बनेको छ ।
यसपालिको विवादको चुरो भने प्रतिष्ठाको विषय बनाउने खालको देखिन्न । कार्यपालिका बैठकमा धरानवासी माथि भयावह सङ्कट आउन लागेको कुनै एजेण्डामा मतैक्य हुन नसक्दा विवाद उत्पन्न भएको बुझिन्न । मेयर साम्पाङको नीति, कार्यशैलीका बारेमा धेरै कुरा होलान् । तर विवाद भने मेयरको सचिवालयबाट गरिने पत्राचारको भाषामा देखिएको त्रुटि र त्यसलाई सच्याउने कुरा मुख्य विवादको जरो बनेको देखिएको छ।
त्यति त्रुटि सच्याउने कुरामा मेयर साम्पाङले ‘नगर प्रमुख ज्युको आदेश अनुसार’ शब्द छुटेको भनी क्षमा याचना गरेका भए, वडाध्यक्षहरू सहमतिमा आउने थिए । विवाद अहिलेको अवस्था सम्म तन्किने थिएन । वडाध्यक्षहरूले मेयरको नीतिमा लिखित फरक एजेन्डा राख्दै ठुलो प्रश्न उठाएर बैठक अवरुद्ध गरेका थिएनन् । धरानको विकास, निर्माण, इज्जत, प्रतिष्ठाका बारेमा उनीहरूले गम्भीर प्रश्न पनि उठाएका थिएनन् । 
बैठकमा तत्काल उठेको प्रश्नको तत्काल समाधान गर्न मेयर साम्पाङ चुकेका छन् । चुकेको कुरालाई ढाकछोप गर्न उनले स्थानिय तह सञ्चालन ऐनले दिएको दिएको अधिकारका कुरा गरेर विवादलाई कानुनी बनाउन समेत खोजेको बुझिन्छ । कानुनको अन्तिम व्याख्या न्यायिक निकायले गर्ने विषय हो । राजनीति र विकास, निर्माणका सवालमा व्यवहारिक पक्ष निर्णायक रहन्छ भन्ने कुरा उनकै कार्यशैलीले देखाउँदै आएको छ । 
 डाध्यक्षहरूले पनि मेयरसँग भएका सैद्धान्तिक असहमतिलाई ‘तत्काल समाधान हुनसक्ने’ विषयको रूपमा अघि सारेर निहुँ खोजेको जस्तो मात्र गरेको देखिएको छ । राजनीतिक दलहरूबाट प्रतिनिधित्व गरी कार्यपालिकामा निर्णायक भूमिका निर्वाह गर्न निर्वाचित वडाध्यक्षहरूले यथार्थ एजेन्डा राखेको देखिन्न । यसबाट धरानवासीलाई यो विवाद धरानेको हितका लागि नभएर मेयर र वडाध्यक्ष बिचको विवाद जस्तो मात्र लाग्नु अस्वाभाविक हुन्न । 
समग्रमा यस्तो स्थिति सिर्जना हुनमा राजनीतिक सुझबुझको अभाव मुख्य कारण बनेको छ भन्दा अतिशयोक्ति नहोला ।
स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेर आएकाले मेयर हर्क साम्पाङले पार्टीप्रति पूर्वाग्रह राख्नु अस्वाभाविक होइन । तर कार्यपालिकामा दुई तिहाइ बढी वडाध्यक्ष, सदस्यहरू निर्णायक मतका साथ छन् भन्ने कुरा मेयर साम्पाङले बिर्सनु हुन्न । संसदीय अभ्यासमा विपक्षीको विश्वास, सहमति साथ लिएर काम गरिनु पर्छ भन्ने मान्यता छ । त्यो राजनीतिक सुझबुझको अभाव मेयर साम्पाङमा देखिएको छ ।
राजनीतिक दलहरूका वडाध्यक्षहरूले पार्टी सँगै वडाका सबै खाने जनताको प्रतिनिधित्व गरेका हुन्छन् । फरक धारबाट आएका मेयरसँग सहमतीय कार्य गर्दा पार्टीको हितका लागि आफैले विवेक प्रयोग गर्नुपर्ने राजनीतिक सुझबुझको आवश्यकता बढेको छ । उपमहानगरपालिकामा विधि, प्रक्रिया, पद्धति कायम गर्न त्यो जरुरी भैसकेको छ । पार्टीकै कार्यकर्ताको रूपमा कार्यपालिका बैठक, सार्वजनिक कार्यक्रम र दैनिक कार्यहरूमा वडाध्यक्षहरू प्रस्तुत भइरहने हो भने सानातिना विवाद पनि प्रतिष्ठाको विषय बन्छ । जसले धरान र धरानवासीको हित गर्दैन ।