धरान : पाँच सूत्रीय मागका बारेमा समन्वयात्मक छलफल नगरेको भनी कार्यपालिका बैठकमा अनुपस्थित रहँदै आएका वडाध्यक्षहरूलाई 'असक्षम' घोषणा गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘तुरुन्तै राजीनामा’ दिएर ‘बाटो प्रशस्त बनाउन माग गरेका छन् ।

कार्यपालिकामा उत्पन्न विवादलाई राजनीतिक रूपमा समाधान गर्ने बाटो अपनाउनुको सट्टा मेयर साम्पाङले ‘नगर प्रमुखको कानुनी अधिकार’ अधिकार उल्लेख गर्दै सहजै वडा अध्यक्षहरुसंग राजीनामा माग गरेका हुन् ।

मेयर र वडाध्यक्षहरूको बिचको विवादले कार्यपालिका बैठक बस्न नसकेपछि आज बिहीबार कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै राजीनामा माग गरेका हुन् । गत: चैत १ गते स्थगित भएको बैठक महिना दिन पछि दुई पटक बोलाउँदा पनि वडाध्यक्षहरू अनुपस्थित भएकाले बस्न सकेको छैन ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा कार्यपालिकामा रहने सबैका लागि बैठक बस्नै पर्ने बाध्यता सबैको कर्तव्य उलङ्घन गर्ने कसैको अधिकार नभएको उल्लेख गर्दै भनिएको छ ‘त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाउन’ मेयर साम्पाङले अनुरोध गरेका छन् ।

मेयरका स्वकीय सचिव सुदर्शन लिम्बुले वडाअध्यक्षहरुलाई पठाएको निर्देशनात्मक पत्रको विषयमा विवाद भएपछि बैठक स्थगित भएको थियो । पत्रकार सम्मेलनमा मेयर साम्पाङले केही महिना देखि बिना कुनै खास कारण पटक-पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकार माथि खेलबाड गरेको बताए ।

वडाहरूमा के कस्ता योजना तथा कार्यक्रमहरू सम्पन्न भए भन्ने जानकारी मागेको कुरा संविधानको धारा २७ अनुसार सूचना पाउने नागरिकको मौलिक हक भएको बताउँदै उनले बडाहरूमा के कस्ता के कति काम भएका छ तुरुन्तै सार्वजनिक गर्न विज्ञप्ति मार्फत निर्देशन समेत दिएका छन् ।

विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ (कार्य विभाजन र कार्य सम्पादन)को उपधारा ४ क (नगर प्रमुखको काम कर्तव्य र अधिकारको ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गरिएको उल्लेख छ ।

कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषा शैली प्रयोग गर्ने भाँडभैलो मच्चाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नु पर्ने कुनै कारण नरहेको पत्रकार सम्मेलनमा उनले बताए ।

उपमहानगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको र सोही धाराको उपधारा २ मा दिएको बैठक अध्यक्षको आसनको सम्मान र आदर गर्नु कार्यपालिका सदस्यको कर्तव्य रहने भनिएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यपालिकाको अध्यक्षता गरिरहेको नगरप्रमुखको सामुन्ने अवज्ञा गर्दै भाँडभैलो गर्नु विधिको उल्लङ्घन गर्नु उचित नभएको, एजेण्डा र बोल्ने कुराको निर्णय बैठकको अध्यक्षले गर्नेछ भनी कार्यविधिको सोही दफाको उपदफा ३ र ४ मा दिइएको अधिकार प्रयोग गरिएको विज्ञप्तिमा छ ।

विज्ञप्तिमा कुनै पार्टी, जाति, धर्म, वर्ग, क्षेत्र भन्दा माथि उठेर काम गर्छु भनी खाएको शपथ बिर्सेर पार्टीको व्हीपलाई जनताको हित भन्दा ठुलो मान्ने र जनताको विकासका कामहरू गर्न गराउन निर्णय गर्नु पर्ने महत्त्वपूर्ण बैठकलाई बहिष्कार गर्नेहरू प्रति खेद प्रकट गरिएको छ ।

स्थानीय सञ्चालन ऐन २०७४ को धारा १६ उपधारा ४ को ९ वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको काम, कर्तव्य र अधिकारको १ अनुसारको कर्तव्य पूरा नगरेको देखिएकोले तुरुन्तै सच्चिएर बैठकमा उपस्थित हुन वडाध्यक्षहरूलाई उनले आव्हान गरेका छन् ।

Rajinama-mageko-Letter