धरान : मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिकाका वडाध्यक्षहरूलाई ‘असक्षम’ घोषित गरी राजीनामाको माग गरे लगत्तै वडाध्यक्षहरूले आजै पत्रकार सम्मेलन गरी उनलाई राजीनामा गरी फेरी चुनाव लडेर देखाउन चुनौती दिएका छन् ।

धरान-१५ स्थित होटेल सेछमा आयोजित पत्रकार सम्मेलनमा धरान वडा ६ बाट स्वतन्त्र वडाध्यक्षमा निर्वाचित भूपेन्द्र भट्टराई पनि उपस्थित थिए । उनले मेयर साम्पाङलाई नगर प्रमुख पदबाट राजीनामा दिएर वडा ६ मा वडाध्यक्ष जितेर देखाउन चुनौती दिए ।

उनले मेयर साम्पाङले आफूलाई खोला बेचुवा भनेर चिनाउन खोजेको आरोप लगाउँदै प्रश्न गरे ‘आफनै स्रोत साधन प्रयोग गरौँ खोलाको उचित सदुपयोग गरौँ खोला ठेक्का होइन स्रोत परिचालन गरी बाटोघाटो र विकास कार्य गरौँ भन्दा खोला बेच्न खोजेको हुन्छ ? के खोला मेयरको ठेक्का हो ?’

उनले वडाको उन्नति र विकासका लागि आफू हरपल प्रयत्न गर्दै मेयरसँग झुकेको झुकेको तर त्यसको गलत अर्थ लगाएको बताए । उनले भने ‘मेरो पुर्खौली सम्पत्ति नै टन्न छ, खोला बेचेर खानु पर्ने समस्या छैन, बरु आफ्नो तलब समाज सेवामा खर्च गरेको छु ।’

वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराईले उपमहानगरपालिकाको विवाद मेयर हर्क साम्पाङ सँग वडाध्यक्षहरूको व्यक्तिगत लडाई नभै विधि, प्रक्रिया, पद्धति, विभेद र न्यायको लडाई भएको बताए । वडाध्यक्षहरूलाई राजीनामामा माग्ने मेयरले आफै राजीनामा दिएर चुनावमा भिड्न उनले चुनौती दिए ।

उनले धरानलाई समृद्ध बनाउन कार्यपालिकालाई एकताबद्ध बनाएर अघि बढाउने दायित्व र भूमिका नेतृत्वमा बसेको मेयरको भएको बताए । मिलेर मिलाएर जाऊ भन्दै अगाडि बढेको तर अबको लडाई न्याय र समानताको लागि लड्नै पर्ने अवस्थामा पुगेको बताउँदै उनले भने ‘लडाई अब वारपारको बनेको छ ।’

मेयर साम्पाङले बोलाएको बैठकमा धरानको विकासको एजेन्डा नभएको र वडाध्यक्षहरू बैठकमा नजाँदा धरानको विकास प्रभावित नभएको बताए । खानेपानीको बारे धेरै कुरा भए पनि मेयर धरान खानेपानी बोर्ड अध्यक्ष नभएको उनले दाबी गरे ।

उनले भने ‘फेसबुकमा लाईक र कमेन्टले धरान चल्दैन ।’ धरान बनाउन स्थानीय शासन सञ्चालन ऐन नियमको अनुसार अघि बढ्नुपर्ने उनले बताए । उनले वडाध्यक्षहरूको ५ वटा माग पूरा नभए कानुनी प्रक्रियामा जाने स्पष्ट गरे ।

वडा १८ अध्यक्ष प्रवीण राईले कार्यपालिका बैठक सहजीकरणको लागि आफ्नै पहलमा मेयर साम्पाङ सँग वडा १५ अध्यक्ष र नेपाली काँग्रेस सभापति बसेर कफी गफमा कार्यपालिका बैठक बस्नु २ दिन समझदारी बनेको बताए । उनले भने ‘समीक्षा सरलीकरण गर्ने र वडामा भएको समस्या ल्याई समाधान गरौँ भनेर छुटेका थियौँ ।’

तर पहल त्यसका बारेमा मेयर साम्पाङ बाट कुनै पहल नभएको बताए । वडा अध्यक्षहरूलाई गुइँठे भनेर सामाजिक सञ्जालमा धावा बोल्ने अधिकार मेयर साम्पाङलाई नभएको बताउँदै उनले भने ‘क्रियाको प्रतिक्रिया हुन्छ, मेयर धकुले उपनामले चिनिएका छन् ।’

नगर प्रमुख भएर कार्यपालिका सदस्यलाई सम्हाल्ने दायित्व उनको हो । आफूले मेयरलाई राम्ररी चिनेको भन्दै वडाध्यक्ष प्रवीणले आफू दोस्रो कार्यकालमा पनि ३६१ मत बढी ल्याएर अध्यक्ष बनेको बताए ।