धरान : उमेरले डाँडा काटेर के भो त ? समाजका लागि बाँचुन्जेल केही गरौँ भन्ने भावना राखे जुनै उमेरमा पनि मानिस स्वस्फुर्त सकृय रहन सक्छन् भन्ने कुराको उदाहरण बनेकी छन् धरानकी सरला दिदी ।

पछिल्लो समय ८५ वर्षको उमेरमा सेतै फुलेको कपालसंग हिजोआज पनि ज्येष्ठ नागरिकहरूका समस्यामा खरो आवाज उठाउन सकृय छिन, समाजसेवी सरला कायस्थ ।

३३ वर्षको उमेरमा धरानमा ५२ वर्ष अघि गठन भएको रेडक्रस सोसाइटी सुनसरीको अध्यक्ष भएकी उनको योगदानको कदर स्वरूप रेडक्रस भवन परिसरमा प्रतिमा स्थापना गरिएको छ ।

विश्व रेडक्रसका संस्थापक हेनरी ड्युनाको शालिक सँगै स्थापित सरला कायस्थको प्रतिमा समाजसेवी महिलाको जीवनकालमा निर्माण गरिएको पहिलो प्रतिमा हो ।

राजतन्त्रका बेला राजा-रानी बाहेक जीवत तथा महिलाको सार्वजनिक ठाउँमा प्रतिमा राखिएको उदाहरण पाइन्न ।

प्रतिमा गएको बैशाख २५ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले अनावरण गरेका हुन । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युना र सुनसरी रेडक्रसकी संस्थापक सरला कायस्थको प्रतिमा सँगै छ ।

मानवीयतामा समस्या आइपरे सँगै संसारमा रेडक्रस विस्तार भएको इतिहास छ । पाँच दशक अघि त्यस्तै अवस्थामा सुनसरी रेडक्रस आइपुगेको थियो ।

सरला कायस्थ २०२८ मा स्थापना भएको नेपाल रेडक्रस सुनसरीको पहिलो अध्यक्ष थिइन् । उनी अध्यक्ष पदमा पटक -पटक दोहोरिदै २६ वर्षसम्म रहिन । २०३४ पछि केन्द्रीय रेडक्रसमा दुई पटक गरी ८ वर्ष बिताइन् ।

कायस्थले रेडक्रसलाई दिर्घकालिन संस्थापन गर्न धरानमा रेडक्रस भवन निर्माण गरिन् । धरानमा राजधानी बाहिर पहिलो पटक एम्बुलेन्स सुरु गरिन् ।

त्यस बेला एम्बुलेन्स सञ्चालन गर्ने पहिलो जिल्ला सुनसरी बन्यो । रेडक्रसलाई नै आफ्नो घर परिवार ठानेर नलागे सम्म यी सबै काम सम्भव थिएन् । उनी अहिले पनि भन्छिन् ‘रेडक्रस मेरो ठूलो परिवार हो ।’

रेडक्रस मात्र नभएर सरला कायस्थको धरानका मानविय कल्याणका प्रायः सबै संस्थामा योगदान छ । २०३४ सालमा दृष्टिविहीनहरूको ज्ञानचक्षु विद्यालय स्थापनाकालमा उनीनै सदस्य सचिव थिइन् ।

जीवनको उत्तरार्धमा पनि ज्येष्ठ नागरिकहरूको अधिकारका लागि समुदायले उनैलाई अघि सारेका छन् । सरला कायस्था धरान ज्येष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष छिन् ।

रेडक्रस सुनसरीको सल्लाहकार, नेपाल कुष्ठरोग निवारण सङ्घ केन्द्रीय सदस्य सहित दर्जनौ संस्थामा अहिले पनि आबद्ध कायस्थको सामाजिक पहिचान रेडक्रसबाटै बन्यो ।

त्यसैले उनले सबै तिरबाट ‘रेडक्रस दिदी’ उपमा पाइन् । सरला कायस्थ नेपालमा रेडक्रसलाई उदाहरणीय बनाउन सुनसरी जिल्लाबाट जसरी लागि परिन् त्यो उदाहरणीय छ । उदाहरणीय हुनुको अर्थ स्मरणीय बन्न पनि हो । रेडक्रस परिसरमा स्थापित उनको प्रतिमाले त्यही कुराको सङ्केत दिएको छ ।

jibankaal