धरान : मेयर हर्क साम्पाङले उपमहानगरपालिकाको आगामी बजेट र नीति तथा कार्यक्रम बारे ध्यानाकर्षणपत्र बुझाउन जाँदा समय नदिएकोमा नेकपा एसले आपत्ति जनाएको छ । उक्त पार्टीले पत्रकार सम्मेलन गरेरै आपत्ति जनाएको हो ।
पार्टीका धरान नगर अध्यक्ष रेवतीरमण राई सहितको टोली आज सोमवार दिउँसो ध्यानाकर्षणपत्र बुझाउन उपमहानगरपालिका पुगेको थियो । राईले पत्रकारहरूलाई भने ‘नगर प्रमुखसँग ध्यानाकर्षणपत्र बुझाउने समय मिलाए पनि नगर प्रमुखले समय नदिएकोमा पाटीको आपत्ति छ ।’
नेकपा एस धरान नगर समितिले उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा छुट्न नहुने विकास निर्माणका एजेण्डा, जनसरोकारका विषयहरू समावेश गरी पुराना प्रशासनिक कार्यालय स्थापित गर्न पहलकदमीका कुरा ध्यानाकर्षणपत्रमा उल्लेख गरेको छ ।
अध्यक्ष राईका अनुसार मेयरका स्वकीय सचिवले टाईम दिएको समयमा टोली मेयरको कार्यकक्षमा  पुगेको थियो । तर मेयरले समय नदिई ध्यानाकर्षणपत्र बुझ्नै नचाहेको उले बताए । उनले भने ‘मेयर हर्क साम्पाङ भागेपछि हामीले उपमेयर आईन्द्र विक्रम बेघा र प्रशासकीय अधिकृत मातृका भट्टराईलाई ध्यानाकर्षणपत्र बुझायौँ ।’
पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य जीवन राईले धरानबाट पलायन भएका सरकारी कार्यालयहरू फिर्ता ल्याउनका लागि नेकपा एसले पहल गर्ने बताए । उनले भने ‘धरानले गुमाएको शाख फर्काउन नेकपा एसले पहल गर्ने छ ।’
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)द्वारा सरकारी सेवा प्रवेशको लागि लोकसेवा आयोग र सेवा आयोग तयारी कक्षाको व्यवस्था गरियोस् भनी २५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ । धरानमा लागु औषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण गर्ने विशेष अभियान सञ्चालन गर्न आग्रह गर्दै क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको ग्यारेन्टीको माग गरिएको छ ।
नगर अध्यक्ष रेवतीरमण राई र सचिव खेमप्रसाद दाहालको हस्ताक्षरमा जारी विज्ञप्तिमा सवारी साधन पार्किङ स्थलको उचित व्यवस्थापन गरिनुपर्ने, धरान-६ पानवारिमा निर्माणाधीन औद्योगिक ग्रामलाई यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनुपर्ने,फोहोर व्यवस्थापनको लागि दीर्घकालीन आधुनिक डम्पिङ साइडको व्यवस्था गरिनुपर्ने माग गरेको छ ।
ब्रिटिस र भारतीय सेनाको अन्तिम छनौट स्थल धरानमा पुनर्स्थापना गर्नको लागि विशेष पहल गरिनुपर्ने र  धरानका सबै स्थानमा सिसी क्यामेरा जडान गरी शान्ति सुरक्षाको व्यवस्था गर्न माग समेत गरिएको छ । धरानलाई सूचना प्रविधि आइटीको केन्द्र बनाई सूचना प्रविधिको बजारीकरण गर्न माग गरिएको छ ।
लामो समयदेखि निर्माण हुन नसकिरहेको धरान-१४ स्थित बहुजातीय सङ्ग्रहालयलाई यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनुपर्ने, धरान सभागृहलाई व्यवस्थित गरी प्रदर्शनी स्थलको रूपमा विकास गरिनुपर्ने, युवा, महिला, दलित, अल्पसङ्ख्यकलाई सीप सिकाई स्वरोजगार बनाइनुपर्ने,आधुनिक सुविधा सम्पन्न बुद्धाश्रम निर्माण गरिनुपर्ने माग राखिएको छ ।
धराने कालो बङ्गुर, लोकल रक्सी प्रशोधन गरी धरानको ब्रान्डको रूपमा विकास गरिनुपर्ने, जोखिमपूर्ण क्षेत्रमा काम गर्ने सबै मजदुरहरूले अनिवार्य सुरक्षा सामग्री प्रयोग गर्ने व्यवस्था गर्दै मजदुर राहत कोषको स्थापना गरी जीवन बिमाको व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।
धरानका भूमिहीन, दलित, अव्यवस्थित तथा सुकुम्वासी बसोबासलाई स्थायी व्यवस्थित गरी आधारभूत सुविधा उपलब्ध गरिनु पर्ने, धरानमा सञ्चालित बस, ट्याक्सी, ट्याम्पो, इ-रिक्साको वैज्ञानिक भाडा दर निर्धारण गरिनुपर्ने र नगर बस सञ्चालन गर्नुपर्नेमा जोडदार माग गरिएको छ ।