इटहरी : कोशी प्रदेशको सरकार फेदबलको जोड घटाउ सुरु भएको छ । माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेसँगै नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको हो । 
एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की प्रदेशको चौथो मुख्यमन्त्री हुन् । पहिलो मुख्यमन्त्रीको रूपमा एमालेकै शेरधन राई मुख्यमन्त्री भए । उनी पछि तत्कालीन नेकपा विभाजन भएर एमालेकै भीम प्रसाद आचार्यले प्रदेश सरकारको नेतृत्व गरे । आचार्य पछि एमाले विभाजन पछि बनेको नेकपा एसका राजेन्द्र राई मुख्यमन्त्री भए । हाल राई पनि प्रदेशसभा सदस्य छन् । पुनः पाँचौँ मुख्यमन्त्री को बन्ला भन्ने चासो चुलिएको छ । 
कोशी प्रदेशको दोस्रो ठुलो दल नेपाली काँग्रेसले सरकारमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ । गठबन्धनका दलहरूले समर्थन गर्नुपर्ने काँग्रेसको दाबी छ । अघिल्लो कार्यकालमा दोस्रो ठुलो दल भएर पनि सरकारको नेतृत्व गर्ने अवसर नपाएको काँग्रेसले यस पटक आफ्नो नेतृत्व हुनुपर्ने अडान लिएको छ । 
काँग्रेसले नै सरकारको नेतृत्व गर्ने विश्वास व्यक्त गर्छन् प्रदेशसभाका प्रमुख सचेतक भूपेन्द्र राई । नयाँ सरकार गठनको विषयमा आजै देखी परामर्श थालिने उनले बताए । गठबन्धनको ठुलो दलको हिसाबमा पनि काँग्रेसले नै सरकारको नेतृत्व गर्ने उनको दाबी छ । 
माओवादीले पनि आफ्नो नेतृत्वमा सरकार गठन हुने बताएको छ । लामो समयदेखि सरकारको समर्थन फिर्ता लिन नमानेका दलका नेता इन्द्र आङबो मुख्यमन्त्री पाउने लोभमा परेको बुझिएको छ । प्रदेश काँग्रेसले केन्द्रमा र प्रदेशमा छुट्टाछुट्टै गठबन्धन नगर्न केन्द्रीय नेतृत्वलाई दबाब दिँदै आएको थियो । सोही अनुसार माओवादी समर्थन फिर्ता लिन बाध्य भयो । 
तथापि माओवादीले सरकारको नेतृत्व पाउने गरी गठबन्धन भित्र तयारी सुरु गरेको छ । अकस्मात् सरकारबाट बाहिरिनुले पनि माओवादी नेतृत्वकै सरकार गठन हुने शङ्का उब्जिएको छ । त्यही शङ्कामा थप मलजल पुर्‍याएका छन् नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई । नेकपा एसले यसअघि नै नेतृत्व गरिसकेकाले अब माओवादीको पालो रहेको उनले बताए । केन्द्रमा जसको नेतृत्व छ प्रदेशमा पनि उसैले नेतृत्व गर्नुपर्ने उनको तर्क छ । माओवादीका संसदीय दलका नेता इन्द्र आङबोलाई सघाउन तयार रहेको धारणा राखे । 
बहुमत पुर्‍याउनकै लागि राप्रपालाई भए पनि सरकारको नेतृत्व दिनेगरि चर्चा बाहिर आएका छन् । उता राप्रपाले अहिल्यै नयाँ सरकारको बारेमा केही धारणा बनाएको छैन । राप्रपा संसदीय दलका नेता उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले अहिलेकै सरकारमा बहुमत पुर्याउने गरी प्रयास हुने बताए । 
आफू मुख्यमन्त्री बन्न लाग्ने भन्दा पनि यो सरकारलाई कसरी ५ वर्ष सम्म टिकाउन सकिन्छ र जनताको हितमा काम गर्न सकिन्छ भन्ने पक्षमा रहेको उनको भनाई छ । संसद् अनिश्चितकालको लागि स्थगित भएको बताउँदै उनले उपलब्ध समयमा सरकारलाई बहुमत पुर्‍याउनको लागि प्रयास हुने धारणा राखे । 
कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, काँग्रेस २९, माओवादी १३ (सभामुख सहित), राप्रपा ६, नेकपा एस ४ र जसपाका १ सांसद छन् । बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा सँग जसपा मिल्दा मात्र बहुमत पुग्छ । काँग्रेस, माओवादी र नेकपा एसमा पनि जसपा नमिलेसम्म बहुमत पुग्न गाह्रो छ । सभामुखले मतदान भएर बराबरी मत भएको अवस्थामा मात्र निर्णायक मत हाल्न पाउने व्यवस्था छ । 
प्रदेश सभाको सबैभन्दा ठुलो दल एमालेको एकल बहुमत नभएपछि एमालेको नेतृत्वमा माओवादी, जसपा र राप्रपाको गठबन्धनबाट सरकार गठन भएको थियो । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की पुस १४ गते प्रदेशसभाका ९३ मध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री भए । संविधानको धारा १६८ को उपधार २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । 
माओवादी र जसपाले कार्की नेतृत्वको सरकार बाट बाहिरिने निर्णय गरे सँगै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको छ । जेठ १७ गते जसपाले समर्थन फिर्ता लिएको मितिदेखि ३० दिन अर्थात् असार १५ सम्ममा विश्वासको मत लिनुपर्ने बाध्यतामा छन् मुख्यमन्त्री कार्की ।