धरान : अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेपछि मुलुकमा सर्वसाधारणले नागरिक शासनको अनुभूति गर्न थालेका छन् ।

कर्फ्यु खुकुलो बने सँगै शनिवार देखी धरानमा जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ। तथापि सुरक्षा संवेदनशीलताको दृष्टिले अनावश्यक भिडभाड र प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको सुनसरी जिल्ला प्रहरी कार्यालयका एसपी सुमन तिम्सिनाले बताएका छन् ।

जनजीवन सामान्य तिर फर्किए पनि शनिवार लामो र छोटो दुरीको यातायात सेवा पूर्ण रूपमा सुचारु भएनन्। राष्ट्रिय यातायात व्यवसायी महासङ्घ कोसी प्रदेश संयोजक सरोज श्रेष्ठका अनुसार आज शनिवार केही यातायात खुले पनि व्यवसायीहरूमा विद्यमान त्रासका कारण यातायात पूर्ण रूपमा खुल्न सकेन । उनले भने ‘तर भोली आइतबार देखि सम्पूर्ण लामो तथा छोटो दुरीका यातायात पूर्ण रूपमा सञ्चालन हुनेछ ।’

एसपी तिम्सिनाका अनुसार भदौ २४ गते राति १० बजेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लगिएको छ । जनताको सुरक्षाको निम्ति सबै क्षेत्र प्रहरी खटिने बताउँदै उनले भने ‘आज शनिवार देखि लामो तथा छोटो दुरीको यातायात समेत खुल्ला गरिएको छ ।’

शनिवार बिहानैदेखि प्रहरीहरू फिल्डमा खटिएको बताए । आइतबार बिहान देखि सुनसरीमा ट्राफिकहरू पनि सडकमा देखिने छन् । उनका अनुसार कोसी प्रदेशभरका ट्राफिक प्रहरी र प्रहरीहरूको अवस्था अस्तव्यस्त रहेकाले ट्राफिक प्रहरी पनि २ देखि ३ दिन भित्र सबै सडकमा आउने छन् ।

एसपी तिम्सिनाले भने ‘सुरक्षाकर्मीहरूको युनिफर्म म्यानेजमेन्ट नभएकाले पनि सुरक्षामा खटिनु गाह्रो भएको छ, युनिफर्म म्यानेजमेन्ट हुने बित्तिकै तुरुन्त सुरक्षाकर्मीहरू फिल्डमा खटिन्छन् ।’

उनका अनुसार जनताको सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी गरिएको निषेधाज्ञा आदेशलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकाले खुकुलो बनाइएको हो ।

एसपी तिम्सिनाले व्यावसायीहरुले पसल, व्यवसाय, दैनिक कामकाज सञ्चालन गर्न पाउने बताए । कर्फ्यु खुकुलो भएसँगै सदरमुकाम इनरुवा लगायतका बजारमा जनजीवन सामान्य बन्दै गएको उनले जानकारी दिए ।

तथापि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अनावश्यक भिडभाड र प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको हो । प्याब्सन तथा एनप्याब्सनले जनाए अनुसार भोलि देखि पुर्णरुपमा संस्थागत र सामुदायिक स्कुल समेत खुल्ने भएका छन् ।