इटहरी : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण नेपालको सीमा कटाउन नसकेर रोकिएको गाँजा फेला परेको छ । सुनसरीको इटहरी स्थित बालग्राममा रोकिराखेको ट्रक खानतलास गर्दा १५८ बोरा गाँजा फेला परेको हो ।
सशस्त्र प्रहरी बलको टोलिले रात्रिकालीन अनुगमन गर्ने क्रममा आशङ्का लागेर ट्रक भित्रको सामान हेरेको थियो । शनिवार राती सशस्त्र प्रहरीले लगभग पाँच हजार केजी गाँजा नियन्त्रणमा लिएर आइतबार ट्रक सहित जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको छ ।
बराह बाहिनी पकलीका प्रवक्ता एसएसपी सुधीरजङ्ग थापाका अनुसार चाडपर्वको माैकामा तस्करी बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ । आन्दोलनपछि सीमा क्षेत्रमा अत्यन्तै कडाइ गरिएको र जसको कारण अवैधानिक माल बस्तुको आवतजावत रोकिएको उनको भनाइ छ ।
प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा खटिएको २१ जनाको टोलीले उक्त गाँजा नियन्त्रणमा लिएको थियो । ना ४ ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गरी जम्मा १५८ बोरा गाँजा बरामद गरिएको हो ।
दिउँसो देखि रोकी राखिएको ट्रक भएकाले चालक र गाँजा मालिक पत्ता लाग्न सकेको छैन । प्रहरीले भने आजैदेखि अनुसन्धान अगाडि बढाएर चाडै तस्कर पक्राउ गर्ने जानकारी दिएको छ ।