धरान : जेन-जी प्रदर्शनकारीको नाममा भदौ २४ गते धरान-८ स्थित होटेल कञ्जचनजंघामा अराजक समूहले तोडफोड र आगजनी गर्नेहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न होटेल व्यवसायी समितिले धरानले माग गरेको छ ।

समितिका सचिव रवीन्द्र अधिकारीले सोमबार विज्ञप्ति मार्फत आगजनी, तोडफोड र अराजक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको माग गरेका हुन ।

आन्दोलनको मौकाछोपी व्यक्तिगत प्रतिशोध साँध्न गरिएको तोडफोड, आगजनी र लुटपाट जस्तो अक्षम्य र दण्डनीय कार्यको समितिले घोर भर्त्सना गरेको छ ।

होटेल कञ्चनजङ्घा धरान उपमहानगरपालिकाका पूर्व प्रमुख मनोजकुमार मेयाङबोको हो । उनी होटेल व्यवसायी समितिका अध्यक्ष पनि हुन । मेयाङबो पछिल्लो समय कुनै राजनीतिक दलमा आबद्ध नरही स्वतन्त्र नागरिकको रूपमा समाजसेवा, व्यवसाय प्रवर्द्धन, धरानको विकासमा सक्रिय छन् ।

धरानको विकास कार्यका सवालमा तिखो टिप्पणी गर्दै आएका मेयाङबोको होटेलमा राजनीतिक प्रतिशोध साँध्नका लागि आक्रमण गराइएको मानिएको छ । 

धरानको आर्थिक गतिविधिमा महत्त्वपूर्ण भूमिका रहेको पर्यटन क्षेत्रमा भएको यस्तो विध्वंसात्मक गतिविधिले व्यवसायी तथा लगानीकर्ताको मनोबल मात्र गिराउनका साथै नगरको आर्थिक, सामाजिक क्षेत्रमा गम्भीर असर पुगेको विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक प्रतिशोधकै रूपमा पूर्व उपप्रमुख मञ्जु भण्डारी, पूर्व सांसद जयकुमार राई, कार्यपालिका सदस्य , काँग्रेस नेता उमेश थापा, सुजेन्द्र गोले तामाङको घरमा पनि तोडफोड, आगजनी गरिएको थियो । पूर्व नगर प्रमुख तिलक राई, माओवादी नेता धरान-१७ अध्यक्ष मनोज भट्टराईको घरमा आक्रमण गर्न गएकाहरूलाई स्थानीयले प्रतिकार गरी लखेटेका थिए ।