इटहरी : भदौ २२ गते नेकपा एमालेको विधान महाधिवेशनमा भाग लिन ललितपुरको गोदावारी पुगेका कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगर सवार गाडिले बालिकालाई ठक्कर दियो । जेब्रा क्रसमा पनि तीव्र गतिमा हुइँक्याइएको गाडीले बिहानै ललितपुरको हरिसिद्धिमा बालिकालाई ठक्कर दिएर भागेको हो ।
११ वर्षीय उषा सुनुवारलाई मन्त्रीले ठक्करपनि बेवास्ता गर्दै भागेपछि तीव्र आलोचना भयो । मानवीयता हराएको मन्त्री देखि गैरजिम्मेवार भएको सार्वजनिक टिप्पणी भयो । मन्त्रीले बालिकालाई सम्हालेर अस्पताल पुर्याएको भए हुन्थ्यो भन्ने अपेक्षा गरियो । तर मन्त्री मगर सवार गाडीको स्पिड बढेर सिधै गोदावरीस्थित विधान महाधिवेशन स्थल पुग्यो । यस्तो अमानवीय कार्य गर्ने मन्त्रीको बचाउमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नै उभिए ।
घटनाको सार्वजनिक वृत्तमा आलोचना भएपछि ‘एमाले विधान महाधिवेशन भाँड्ने तत्त्व सक्रिय भएको’ उनले आरोप लगाए । ओलीले गरेको टिप्पणीको सार्वजनिक वृत्तमा विरोध भयो । मन्त्रीलाई आत्मालोचना गराएर राजीनामा दिन लगाउनुपर्ने अवस्थामा प्रधानमन्त्रीले नै हिंसाको समर्थन गरेको भनेर आक्रोश बढ्यो ।
त्यही समयमा जेनजी आन्दोलनको तयारी भइरहेको थियो । नेपोबेबी अर्थात् नेताका छोराछोरीको भड्किलो जीवनशैलीको विरुद्ध सडकमा प्रदर्शनको तयारी अन्तिम चरणमै पुगेको थियो । भ्रष्टाचार विरुद्ध भनिएको प्रदर्शन ८ सेप्टेम्बर (भदौ २३) मा आयोजना हुने निश्चित भएको थियो । तीन जना शीर्ष नेताहरूको हालीमुहाली विरुद्धमा सुरु आक्रोशलाई प्रधानमन्त्रीको अभिव्यक्तिले थप उत्तेजित बनायो ।
फलस्वरूप भदौ २३ र २४ गते नेपालभर आन्दोलन चर्कियो । जेनजी पुस्ताले गर्ने भनेको शान्तिपूर्ण प्रदर्शन हिंसामा परिणत भयो । सिंहदरबार देखि संसद् भवन सर्वोच्च अदालत देखि राष्ट्रपति कार्यालय सम्म आगजनी भयो । प्रदेश सरकारका अधिकांश मन्त्रालय, स्थानीय तहका कार्यालयहरू जले । कर कार्यालय, यातायात कार्यालय, केन्द्रीय देखि स्थानीय तहका नेताहरूका घरहरू जलाइयो ।
आन्दोलनमा घुसपैठ भएको सार्वजनिक टिप्पणी भएपनि जनआक्रोशमा मलजल पुर्याउने घटना बन्यो मन्त्रीको गाडीले बालिकालाई दिएको ठक्कर । नेताहरू निर्मम बनेको र जनतालाई मतलब नगरेको भन्ने भाष्य स्थापित भइरहेको बेला कोशीका मन्त्रीको हर्कत यो समयको लागि धेरै महँगो पर्ने भएको छ ।
सार्वजनिक रूपमा आलोचना व्यापक बनिरहेपनि मन्त्री मगरले राजीनामा दिएका छैनन् । बालिकालाई ठक्कर दिएर बेवास्ता गरेपछि आन्दोलन भड्किएको भन्ने कुरा छ नि ? भन्ने प्रश्नमा उनले भने ‘सबै मिलिसक्यो मैले मिलाएरै आएको हुँ । त्यो घटनाले कसरी आन्दोलन भड्किन्छ ?’
बालिकाको उपचार गरेर पैसा दिएको उनले यसअघि नै प्रतिक्रिया दिएका छन् । राजीनामाको विषयमा अहिलेसम्म नसोचेको उनले बताए । राजीनामा दिनु नपर्नेमा उनी अझै दृढ छन् । कोशी प्रदेशका विभिन्न मन्त्रालय, मुख्यमन्त्री कार्यालय र प्रदेश सभामै आगजनी र तोडफोड भएपछि मन्त्रीपरिषद् बैठक देखि प्रदेश सभा बैठक सबै अन्योलमा परेको छ ।